द अनब्रेकेबलः अगस्त्यमा थप दुई कलाकार अनुबन्धित

काठमाडाैँ- दुई च्याप्टरमा निर्माण हुन लागेको चलचित्र ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन्।
चलचित्रकाे मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो।
अघिल्लो महिना चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए। सौगात, नाजिर र मलिका पहिलो पटक एकअर्कासँग काम गर्न लागेका हुन्।
तर मलिका चलचित्रमा कसको जोडी बनेर देखिनेछिन् त्यो भने खुलाइएको छैन। चलचित्रमा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन्।
सौरभ चौधरीको निर्देशनमा बन्ने चलचित्रको कथा उनी स्वयंको हो। उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन्।
फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रकाे नेपालमा काठमाडौँ र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जानकारी प्राप्त छ।
चलचित्रका लागि अन्य कलाकारहरू पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए।
चलचित्रमा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ। चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ।
आगामी वैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको चलचित्रकाे शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो।