बालिकाको बलात्कारपछि हत्या गर्नेलाई जन्मकैद

जलेश्वर – महोत्तरी जिल्ला अदालतले एक बालिकाका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा स्थानीय अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदन जयसवालका अनुसार अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा निज साहलाई आजीवन कारावासको सजाय सुनाएको हो।

साथै पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको हो।

विसं २०७७ मङ्सिर ७ गते अरुणले छिमेकी सादिम आलमकी ६ वर्षीया छोरीलाई अपहरण गरी बेपत्ता बनाएको र पछि जबर्जस्ती करणी गरी घटना बाहिरिने डरले घाँटी थिचेर हत्या गरी बोरामा राखेर फालिदिएको अवस्थामा उनको शव मङ्सिर ८ गते सोमबार राति सोही बस्तीमा फेला परेको थियो।

पीडित परिवारलाई न्याय दिलाउन घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले प्रशासनविरुद्ध आन्दोलन चर्काएपछि सो आन्दोलनको क्रममा बर्दिबास–१ बस्ने सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

सोही घटनाको महोत्तरी जिल्ला अदालतमा सोमबार भएको अन्तिम सुनुवाइमा दोषी साहलाई अदालतले अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको हो।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्