प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री कार्की

मोरङ – प्राविधिक शिक्षकहरुको गुणस्तर र क्षमता अभिवृद्धिका लागि विराटनगरमा एकदिने भेला आयोजना गरिएको छ।

प्राविधिक प्रशिक्षक प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् १ नम्बर प्रदेश कार्यालयले मंगलबार आयोजना गरेको संयुक्त कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्राविधिक शिक्षा क्षेत्रको विकास र विस्तार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्राविधिक शिक्षामा गरिएको प्रतिफल र उपलब्धी हासिल गर्न सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति र उत्पादन प्रतिफललाई स्तरीय बनाउन अन्य सरकारसँग समन्वय गर्दै प्रदेश अघि बढ्न तयार रहेको बताए।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेश सरकारले सीटीइभीटी, टीआइटीलगायत सबै क्षेत्रलाई समन्वय गर्दै काम गर्न सकिने बताए। मन्त्री राजभण्डारीले आउँदो बजेटमा सरकारका तर्फबाट प्राविधिक शिक्षकको स्तर उकास्नका लागि आवश्यक बजेट विनियोजनमा जोड दिए।

हाल तीन तहको सरकार आफ्नै अधिकारबारे अनभिज्ञ रहेको बताएका मन्त्री राजभण्डारीले केन्द्र सरकार सुतेर बस्ने, स्थानीय तह आफै ठूलो भन्ने र प्रदेश सरकार अधिकारविहीन अवस्थामा रहेको गुनासो गरे।

उनले भने, ‘तीन तहको सरकार मात्र मिलेर प्राविधिक शिक्षा र शिक्षकलाई उकास्न सहज देखिँदैन। यसमा निजी क्षेत्रलाई समेत समावेश गर्न आवश्यक रहेको छ। कम्तिमा निजी क्षेत्रले आवश्यक श्रमिक राख्न तयार हुनुपर्ने, न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सके प्रदेश सरकार लगानी गर्न सकिने छ।’

उनले विद्यालयलाई आवश्यक खर्च, शिक्षक, भवन दिन मिल्ने तर अनुगमन गर्न नहुने अवस्थाले समस्या भएको बताए। शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताएका मन्त्री राजभण्डारीले यसका लागि व्यापकरूपमा अनुगमनको पाटोलाई अगाडि बढाउनुपर्ने उल्लेख गरे।

यद्यपि, प्राविधिक शिक्षाको लगानीमा राज्य निकै अगाडि बढे पनि सोचेजस्तो प्रतिफल पाउन नसकेको उनको भनाइ छ। उनले भुइँमान्छेलाई तालिम दिएर योग्य बनाउनका लागि प्राविधिक शिक्षा फलदायी हुनेमा विश्वस्त रहेको बताए।

कार्यक्रममा प्रदेश १ का सरकारी, आंगिक साझेदारी शिक्षालय, सरकारी विद्यालयमा प्राविधिक शिक्षा लागू गरेका टेक्स विद्यालय र निजीस्तरबाट सञ्चालित ३२ शिक्षालयका प्राचार्यहरूको सहभागीता रहेको थियो।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्