प्रदेश १ः सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्रीलाई हस्तान्तरण

मोरङ – गठबन्धन सरकार सञ्चालनका लागि चार राजनीतिक दलले आवश्यक न्यूनतम साझा कार्यक्रम प्रदेश १ सरकारलाई हस्तान्तरण गरेका छन्।

मंगलबार न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलका संयोजक नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मत कार्कीलाई न्युनतम साझा कार्यक्रम हस्तान्तरण गरेका हुन्।

संयोजक आङ्बोले कार्यदलले हस्तान्तरण गरेको कार्यक्रममा विभिन्न ११ वटा शीर्षक र त्यसभित्र १९ वटा बुँदा प्राथमिकताका साथ समावेश गरेको जानकारी दिए। जसमा कार्यदलले आगामी पाँच वर्षमा प्रदेशको कुल ग्राहस्थ उत्पादनलाई ७० प्रतिशतसम्म वृद्धि गराउने लक्ष्य राखेको छ। कार्यक्रममा अबको पाँच वर्षमा हालको कुल ग्राहस्थ उत्पादन ७ खर्ब ६३ अर्बमा ७० प्रतिशत वृद्धि गर्दै १२ खर्ब २० अर्ब पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यसैगरि, प्रदेशको नामाकरण, मन्त्रालय, आयोग, निर्देशनालय तथा कार्यालयहरुको आवश्यक भौतिक संरचना निर्माण, संघीय सरकारबाट संवैधानिक अधिकार र मातहतका निकाय प्रदेशमा समावेश गराउने कार्यदलले कार्यक्रममा समेटिएको छ।

त्यसैगरि, कार्यक्रममा ‘स्वास्थ्य उपचारमा उच्च सुधार, समाजवादको आधार, सबैलाई सम्मानजनक रोजगारी र सामाजिक सुरक्षा, समाजिक न्याय हाम्रो प्रतिबद्धता’लगायतका नारा पनि राखिएको छ।

न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलमा माओवादी केन्दबाट संयोजक आङ्बो, नेकपा एमालेबाट रामबहादुर राना, रेवतीरमण भण्डारी, राप्रपाका प्रेमराज थाम्सुहाङ र जसपाबाट राजकुमार यादव सदस्य रहेका छन्।

हाल नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी रहेका छन्।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्