कोशी अस्पतालमा स्वास्थ्यकर्मीको गुनासोको चाङ, दक्ष जनशक्ति थप्नुपर्नेमा जोड

मोरङ – विराटनगरस्थित कोशी अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा उपचार सेवामा समस्या हुँदै गएको चिकित्सक तथा विभागीय प्रमुखहरुले गुनासो गरेका छन्।

विराटनगरमा मंगलबार प्रदेश १ संवाद समूहद्वारा आयोजित कोशी अस्पतालको प्रभावकारी सेवा प्रवाहमा पत्रकारको भूमिका संवादमा सहभागी चिकित्सकहरुले उपचार प्रदान गर्ने क्रममा असुरक्षा बढेको बताएका छन्।

संवादमा जोडिएका चिकित्सक तथा नर्सले बिरामी उपचारका क्रममा दुर्व्यवहारदेखि कुटपिटसम्मको अवस्था भोग्नु पर्दा असुरक्षा बढेको उल्लेख गरेका छन्।

त्यसैगरि, अस्पतालमा कार्यरत चिकित्सक रोशन खड्काले अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न हुँदै आएको बताए। बिरामीको चाप दैनिक बढ्दै जाँदा एक चिकित्सकले ८० जनासम्म बिरामीको सेवा दिनुपर्ने कठिन अवस्था रहेको उनको भनाइ छ।

अस्पतालमा मेडिकल सुप्रिटेन्डेन्टको परिवर्तन, अस्पताल विकास समितिबीच समन्वय अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको डा. खड्काले गुनासो गरे।

त्यसैगरि, अस्पताल प्रशासनले भने देखिएका चुनौतीलाई हल गर्ने प्रयास हुँदै आएको जनाएको छ। प्रशासनका प्रमुख नवराज लुइँटेलले १ हजार १ सय २५ जनाको दरबन्दी स्वीकृतका लागि पठाएकोमा ती दरबन्दी स्वीकृत हुँदा हाल देखिएको जनशक्ति अभावको समस्या समाधान हुने उल्लेख गरे।

प्रशासन प्रमुख लुइँटेलका अनुसार अस्पतालको सुधार र सेवा प्रवाह प्रभावकारी बनाउनका लागि सञ्चार क्षेत्रको भूमिका र सहयोग आवश्यक हुनेमा जोड दिए। उनले अस्पतालले स्वास्थ्य मन्त्रालय पठाएका फाइलहरु अर्थ मन्त्रालयमा रोकिएको गुनासो गरे।

अर्कोतर्फ, कोशी अस्पताल विकास समितिको विगत चार महिनादेखि बैठक बस्न सकेको छैन। आन्तरिक विवादका कारण बैठक बस्न नसक्दा चिकित्सक, कर्मचारीहरूले समस्या खेप्दै आएका छन्। अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले सरकारका कारण नै अस्पताल विकास समिति र अस्पताल प्रशासनका बीचमा विवाद उत्पन्न भएको दाबी गरे।

त्यसैगरि, अस्पतालका नर्सिङ विभाग प्रमुख मञ्जु यादवले अस्पतालमा स्टाफ नर्सको चरम अभाव भएको जानकारी दिइन्। २४ घण्टा नर्सले बिरामीको सेवामा खटिँदै आएको बताएकी प्रमुख यादवले एक नर्सले १२ जनासम्म शल्यक्रिया गरेका बिरामीको हेरचाह गर्नुपर्ने अवस्था रहेको गुनासो गरिन्।

अस्पतालले प्रदेश १ का १४ जिल्लासँगै मधेस प्रदेश र भारतको बिहार राज्यका बिरामीलाई समेत सेवा दिँदै आएको छ। अस्पतालको ओपीडिमा दैनिक १ हजार ५ सय बढीको बिरामी उपचारका लागि पुग्ने गरेको निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवले जानकारी दिए।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्