श्याम थापा स्मृति फुटबलः खजुरा युनाइटेड सेमिफाइनलमा

नेपालगञ्ज – खजुरा युनाइटेड क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ। खजुरा युनाइटेडका लागि निरज सुनारले १६औँ मिनेट र सरोज क्षेत्रीले ३३औँ मिनेटमा गोल गरेका थिए।
मंगलबार नै भएको अर्को खेलमा सहारा क्लब इन्डियाले दाङको एसएसएफएलाई २–० ले पराजित गर्यो। सहाराका लागि बल शाहले १६औँ मिनेटमा गोल गरेका थिए भने अर्को खेल सहाराका हरि कठायतले ५५औँ मिनेटमा गरे।
प्रतियोगिताअन्तर्गत बुधबार हुने क्वाटरफाइनलमा मोडेल क्लब र आयोजक जय किसान स्पोर्टस क्लब ‘ए’ बीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ। अर्को क्वाटरफाइनल खेलमा न्यू डाँफे र सहारा क्लब इन्डियाबिच दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुने आयोजक क्लबले बताएको छ।
जय किसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ। नकआउटको आधारमा भइरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ।