कोहलपुरमा ऐलानी जग्गा नापजाँच गरिँदै

नेपालगञ्ज – कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीव्र पारेको छ। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीव्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए।

मंगलबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर १२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ। अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए।

वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित १ हजार ६८० कित्ता रहेको शाहले जानकारी दिए। यसअघि लुटबहादुर रावत नगर प्रमुख हुँदा वडा नम्बर १ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो। वडा नम्बर १ मा एक हजार ५६६ कित्ता नापजाँच भएको थियो।

वडा नम्बर २ मा मुक्तिनगर, शक्तिनगर र विकासनगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो। वडा नम्बर २ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ। वडा नम्बर २ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको वडा अध्यक्ष हरिसिंह कठायतले बताए।

अबको २/३ महिनामा नापजाँचको काम सक्ने गरी आफूहरु लागेको नगर प्रमुख आचार्यको भनाइ छ।

नगर उपप्रमुख संगीता सुवेदीले अब कोहलपुर नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिक जमिनका मालिक बन्ने बताइन्।

कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक समेत रहेका वडा नम्बर १२ का वडा अध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जानकारी दिए। उनका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भूमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोली खटिएको हो।

कोहलपुर नगरपालिकामा यसअघि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छ्न्।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्