लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, तीन जनाबीच प्रतिस्पर्धा हुँदै

दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गत आज मतदान हुँदैछ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने मतदानका लागि २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। एक जना सदस्य चयन गर्न उपनिर्वाचन हुन थालेको हो।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा उपनिर्वाचन हुन लागेको छ।

जसका लागि एमालेका कुमार दसौँदी, नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच प्रतिस्पर्धा हुँदैछ।

बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म हुने उपनिर्वाचनमा ३०५ जना मतदाताले मतदानमा गर्ने मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए। ‘हाम्रो तर्फबाट हुनुपर्ने तयारी सबै पूरा भएको छ।’उनले भने,‘बिहान १० बजेबाट मतदान सुरु हुने छ भने दिउँसो ३ बजे मतदान सकिने छ। त्यसपछी मतगणनाको कामअघि बढ्ने छ।’

एक सिटका लागि हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनमा १ सय ९ पालिकाका २ सय १८ जना प्रमुख उपप्रमुख र लुम्बिनी प्रदेससभाका ८७ जना प्रदेससभा सदस्य गरी तीन सय ५ जना मतदाता रहेका छन्।

मुख्यमन्त्रीदेखि पालिका प्रमुख उपप्रमुखसम्मले गर्ने मतदानको सबैखालको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको छ।’निर्वाचन सुरक्षा व्यवस्था लागु गरेका छौँ। मतदान केन्द्र, मतदाता, मतपेटीको सुरक्षा सबै मिलाइएको छ।’जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले भने,‘मतदानमा आउनुहुने सबैको आवत जावतलाई समेत ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाएका छौँ।’

लुम्बिनीका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई-दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक-एक स्थानमा जितेका छन्।

त्यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा, नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा, जनमतले तीन-तीन, जनमोर्चा र नेकपा एसले एक-एक, स्वतन्त्रबाट दुई जनाले जितेका छन्।

मतदाताहरुको संख्यालाई आधार मान्दा अहिलेको सत्ता गठबन्धनमा रहेका दलले बहुमत पाउने देखिन्छ।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्