महिला आइपिएलको सर्ट लिस्टमा परेनन् नेपाली खेलाडी, कुल ४०९ खेलाडी अक्सनमा

आगामी ४ देखि २६ मार्चमा भारतको मुम्बइमा हुने तय भएको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) मा प्रारम्भिक सूचीमा नेपाल क्रिकेट संघ (क्यान)ले ५ खेलाडीको नाम दर्ता गरे पनि सर्ट लिस्टमा भने नेपालका कुनै पनि खेलाडी अटाउन सकेनन्।

१३ फेब्रुअरीमा हुने डब्लुपिएल अक्सनका लागि कुल ४०९ खेलाडीको सर्टलिस्ट गरिएको छ। जसमा २४६ भारतीय खेलाडी रहँदा १६३ विदेशी खेलाडीले सर्ट लिस्टमा स्थान बनाएका छन्। जसमा एसोसिएटेड देशबाट केवल ८ खेलाडीले मात्र सर्ट लिस्टमा स्थान बनाएका छन्।

जसमा यूएईका सर्वाधिक ४ खेलाडी परेका छन्। त्यसबाहेक नेदरल्यान्डस्, थाइल्यान्डस्, हङकङ र युएसएका समान १-१ खेलाडी रहेका छन्। नेपालबाट नाम दर्ता भएका खेलाडीमा कप्तान रुविना क्षेत्रीसहित अलराउन्डर सीता रानामगर, कविता कुँवर, अस्मिना कर्मचार्य र इन्दु बर्मा रहेका थिए।

प्रतियोगिताको विजेतालाई ६ करोड

प्रतियोगिता जित्ने टिमले ६ करोड र उपविजेता टिमले ३ करोड प्राप्त गर्ने छन्। त्यस्तै तेस्रो नम्बरमा रहने टिमले १ करोड हात पार्ने छ। प्रतियोगिताको अक्सनमा रहेका २०२ खेलाडी क्याप्ड (राष्ट्रिय टिमबाट खेलिसकेका) रहँदा १९९ खेलाडी अनक्याप्ड रहेका छन्। बिसिसिआईका अनुसार अक्सनका लगि कुल १५२५ खेलाडीले नाम रजिस्टर गरेका थिए।

२४ भारतीयसहित १३ विदेशी खेलाडीले आफ्नो बेस प्राइस ५० लाख राखेका छन्। त्यस्तै, ३० खेलाडीले ४० लाख रेका छन्। डब्लुपिएल टिमलाई खेलाडी खरिदका लागि १२ करोड रुपैयाँको सीमा तोकिएको छ। पुरुष आइपिएलको तुलनामा यो निकै कम हो। पुरुष आइपिएलमा एक टिमलाई ९५ करोड खर्च गर्न सक्ने सीमा तोकिएको छ।

महिला आइपिएलका लागि कुल ५ टिमले २२ खेल खेल्ने छन्। टिमको घोषणा २५ जनवरीमा भएको थियो।

कुन टिमलाई कति मूल्य?

पाँच टिम खरिदको लिलामीमा अडानी समूहको ‘अडानी स्पोर्टसलाइन प्राइभेट लिमिटेड’ले अहमदावादका लागि सर्वाधिक १२८९ करोड खर्चिएको छ। त्यस्तै, मुम्बईका लागि इन्डियाबिन स्पोर्टस प्राइभेट लिमिटेडले ९१२.९९ करोड खर्चिएको छ।

त्यस्तै, बैंगलौरका लागि रोयल च्यालेन्जर्स स्पोर्टस प्राइभेट लिमिटेडले ९०१ करोड खर्चिएको छ। दिल्लीका लगि जेएसडब्लु जिएमआर क्रकेट प्राइभेट लिमिटेडले ८१० करोड खर्चिँदा सर्वाधिक कम रकममा लिलामी हुने टिमका रूपमा लखनउ रहेको छ। लखनउलाई कापरी ग्लोबल होल्डिङ प्राइभेट लिमिटेडले ७५७ करोडमा खरिद गरेको छ।

कुन टिममा कति खेलाडी?

एक टिममा कति खेलाडी हुने भन्ने अहिले नै तय भएको छैन। तर १५ देखि १८ खेलाडी हुन सक्ने जनाइएको छ। यसको अर्थ मेघा अक्सनमा कुल ७५ देख‍ि ९० खेलाडीमाथि बोली लाग्ने छ।

आइपिएलका लागि एक टिमले ७ विदेशी खेलाडीलाई टोलीमा राखे पनि ५ विदेशी खेलाडी खेल्न सक्नेछन्। तर टिमले पाँचौँ खेलाडी मैदानमा पठाउने हो भने उक्त खेलाडी एसोसिएटेड देशको हुनु पर्ने छ। एसोसिएटेड देशको खेलाडी सामेल नगरेमा ४ विदेशी खेलाडी खेल्न पाउने छन्। यीबाहेक ७ भारतीय खेलाडी टिममा रहने छन्।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्