मुख्यमन्त्रीले विश्वासकाे मत नपाउने देखिएपछि सुदूरपश्चिमकाे प्रदेशसभा बैठक स्थगित

धनगढी – सुदूरपश्चिम प्रदेशकाे बुधबार बस्ने भनिएकाे प्रदेशसभा बैठक स्थगित भएको छ।
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको आजकाे बैठक बिहीबारसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएकाे छ।
प्रदेश सभा सचिव देव बहादुर बोगटीले सभामुखको आदेशानुसार बिहीबार दिउँसो १ बजे बस्ने गरी बुधबार बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए। यसअघि आज (बुधबार) दिउँसो १ बजे बस्ने गरी बैठकको कार्यसूची तय गरिएको थियो।
सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। तर बहुमत पुर्याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।
स्राेतका अनुसार नागरिक उन्मुक्त पार्टीले मुख्यमन्त्री रावललाई विश्वासकाे मत नदिने भएपछी उनलाई बहुमत पुर्याउन गाह्राे भएकाे छ। साेही कारण आजकाे बैठक स्थगित गरिएकाे हाे। यद्यपि, सचिवालयले भने विशेष कारणले स्थगित गरिएकाे जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले अन्तिम चरणमा विश्वासको मत लिन लागिपरेका हुन्। एक महिनाभित्र प्रदेशसभाबाट विश्वासकाे मत लिन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका रावललाई नागरिक उन्मुक्तिले भने विश्वासकाे मत नदिने भएकाे छ।