भूकम्पपछि विक्षिप्त छ टर्की र सिरिया

टर्की र सिरियामा सोमबार बिहानै एकपछि अर्को गर्दै तीनवटा ठूला भूकम्प गए। एउटा झट्कामा नढेलेका घरहरू अर्को र त्यसमा पनि नढलेकाहरू अर्को झट्कामा निरन्तर ढलिरहे। सानातिना पराकम्प त निरन्तर गइरह्यो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भूकम्पमा परी मर्नेहरूको संख्या २० हजार भन्दा माथि पुग्ने अनुमान गरेको छ। अहिलेसम्म ८ हजार जनाले ज्यान गुमाइसकेका छन्।
भूकम्पपछि टर्की सर्वाधिक प्रभावित बनेको छ। त्यसो त युद्धले थिलाेथिलाे बनेको सिरिया पुन: भूकम्पको मारमा परेको छ। अहिले विश्वभरबाट उद्दार र राहतका लागि सहयोग जुटिरहेको छ। तर आफन्त गुमाएका टर्की र सिरियाका नागरिक भावशून्य छन्।
बाँचेकाहरू हराइरहेका आफन्त र मृत्यु भएका परिवारजनको छेउमा बसेर आँशु बगाइरहेका छन्। भूकम्पछिका केही दर्दनाक घटनाहरू पनि सार्वजनिक भइरहेका छन्। केही विक्षिप्त पार्ने घटना यस्ता छन्:
गर्भवती महिला ५ तले बिल्डिङको भग्नावशेषमा फसिन्, बच्चालाई जन्म दिएपछि प्राण त्यागिन्
सिरियाको अलेप्पो शहरमा एक दर्दनाक अवस्था देखियो। भूकम्पछि उद्दारकर्ताहरू एक पाँचतले भग्नावशेष छेउमा पुग्दा भर्खर जन्मिएको बच्चाको चित्कार सुने। उक्त विल्डिङको भग्नावशेषमा भर्खर जन्मिएको बच्चाको उद्दार गरे। जन्मिएको घन्टौँपछि उद्दारकर्ताकाे टिमले बच्चा रोएको सुनेका थिए। बच्चा त निकाले तर उनकी आमासहित परिवारका अन्य सदस्यको मृत्यु भइसकेको थियो। परिवारमा उनी अब एक्लो जीवित सदस्य बनिन्।
बच्चाको शवलाई अँगालो हाल्दै रुन्छन् पिता
मंगलबार एक भिडियो भाइरल बन्यो। सिरियाको जिन्दरीसमा एक पिता आफ्नो मृत बच्चालाई अँगालो हालेर रोइरहे। भूकम्पमा परी आफ्नो नाबालग सन्तानको निधन भएपछि पिताको दर्दनाक अवस्थाले सबैलाई भावुक बनाएको छ।
घाइते भेटिए बालक, परिवार सखाप
भूकम्पको झट्काले मानिहरूको जीवनमा कसरी हिर्काएको छ त्यसको अनुमानभन्दा अहिले बाहिर रहेको छ। एक साना बालक एक भग्नावशेषमा फेला परे। चोटैचोट बोकेका यी बालकले आफ्नाे परिवारका सबै सदस्य गुमाए। तर यिनलाई अहिले सुरक्षित स्थानमा लगिएको छ। हातमा ब्यान्डेज बाँधिएका यी नाबालक के भइरहेको भन्ने कुरामा अञ्जान छन्।
दिदीभाइ १७ घन्टा भग्नावशेषमा
सिरियामा दुई बच्चा करिब १७ घन्टासम्म एक भग्नावशेषमा फसे। जब उद्दारकर्ता पुगे तब दिदीले भाइलाई च्यापेर बसेकी थिइन्। उद्दारकर्ता पुग्नेबित्तिकै ती नाबालिकाले आफूहरूलाई यहाँबाट उद्दार गर्न आग्रह गरिन्। भिडियोमा उनले आफूलाई उद्दार गरे जीवनभर तपाईंको सेवा गर्छु भन्दै आँशु झारेकी थिइन्। सामाजिक सञ्चालमा उनको आग्रह निकै भाइरल भइरहेको छ। अहिले उनीहरूलाई सुरक्षित स्थानमा पुर्याइएको छ।
बच्चा सोध्छन् आमाबुवा खोइ?
भूकम्पमा परी हजारौँ व्यक्तिहरू अझै बेपत्ता छन्। फेला परेका बच्चाहरू आमाबा खोज्दै रुन्छन्। अभिभावकहरू बच्चा खोजीमा दौडिन्छन्। कस्ले के खान्छ? कसैलाई पत्तो छैन। उनीहरू आफ्न हराएको वियोगमा घन्टौँदेखि भोकै छन्। बच्चाको मृत शरीर भेटेका बाआमा बच्चाको हात समाएर घन्टौँ रोइरहन्छन्। अभिभावकविहीन बच्चाको हालत उस्तै छ। विश्वभरबाट सहयोगका लागि ठूलो मात्रामा मानिसहरू पुग्ने क्रम जारी छ। तर अहिलेसम्म उद्दार र राहत प्रभावकारी हुन सकेको छैन।
भूकम्पको पीडा भोगेको नेपाल लाचार
भूकम्प त्यसमा पनि ठूला भूकम्प भन्ने बित्तिकै नेपालीहरूको मन सर्वाधिक छिटो दुख्छ। ७ वर्षअघि मात्र ठूलो मात्रामा आफन्तजन र धनजनको क्षति बेहोरेको नेपालले अहिले टर्की र सिरियामा हजारौँ मानिसहरू बेपत्ता र भग्नावशेषमुनि पुरिरहँदा आर्थिक त सकेन, भौतिक सहयोगको प्रस्ताव पनि गरेको छैन। भूकम्पमा उद्दारका लागि नेपाली सुरक्षाकर्मीलाई राम्राे अनुभव भएको मानिन्छ। तर टर्की र सिरियाका लागि सामान्य उदारकर्ता पठाउँछु भन्न पनि नेपाल सकिरहेको छैन।