सिमकोट हेक्पा खण्डमा हिउँमा गाडी चलाउन बाध्य

सिमकोट – आन्तरिक रुपमा सञ्चालन हुँदै आएको सिमकोट हेक्पा खोला सडकखण्डमा जमेको हिउँमा यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ।

सडकमा जमेको हिउँ पन्छाउने कार्य नभएपछि हिउँमै गाडी सञ्चालन हुने गरेका हुन्।
बोलेरो जिप चालक ईश्वर लामाले सिमकोटबाट हेक्पा खोला खण्डको लाग्नासम्म र सिमकोटदेखि बरगाउँसम्म यातायातका साधन हिउँमै सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए।

सडकमा जमेको हिउँ पन्छाउने निकाय नभएपछि गाडी चालकले सडकमा जमेकै हिउँमा गाडी गुडाउनुुपरेको हो। बिहान र रातिके समय हिउँ जम्ने भएका कारण गाडी गुडाउन नसकिने तर घाम लागेका बेला भने हिउँमा चिप्लँदै गाडी गुडाउने गरिएको छ।

हिउँमा गाडी चिप्लने जोखिम भए पनि चालकले गाडी सञ्चालन गर्दै आएका छन्। सिमकोटदेखि लाख्नासम्म दुुई सय मिटर सडकमा जमेको हिउँमा गाडी गुडाउने गरिएको छ भने सिमकोट बरगाउँ खण्डको बागाचाल्ना क्षेत्रमा सय मिटर सडकमा जमेको हिउँमै गाडी गुड्दै आएका छन्।

यसरी हिउँमा गाडी गुडाउने गर्दा यात्रुु रमाउने गरेको भन्दै चालक लामाले यात्रुुहरू फोटो खिच्ने, भिडियो बनाउनमा रमाएको बताए।

कतिपय यात्रुु त हिउँमा गुड्ने गाडी चढ्नकै लागि यात्रा गर्छन्। अहिले पनि ती सडकमा एक फिटसम्म हिउँ जमेको छ। यता, हेक्पा खण्डकै लाग्नादेखि ग्वालेखोर क्षेत्रमा धेरै हिउँ जमेका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्