को हुन् राष्ट्रिय सभा सदस्यमा निर्वाचित कुमार दसौदी

दाङ – एमाले केन्द्रीय सदस्य कुमार दसौदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए। नेकपा माओवादीको प्रस्ताव र राप्रपाको समर्थनमा उम्मेदवार बनेका दसौदीलाई राष्ट्रिय सभामा प्रवेश गर्न यात्रा सहज बन्यो।
उनलाई सत्तासाझेदार दलको साथ रह्यो। एमाले रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सदस्य पद रिक्त थियो। सोही पदमा भएको उपनिर्वाचनमा एमालेकै दसौदी निर्वािचित हुन पुगे।
दसौदीले ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन्। कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरे।
सशस्त्र द्वन्द्वमा पिल्सिएको रोल्पामा एमालेको राजनीति गरेका दसौदी आम चुनाव लडे तर सधैँ पराजय भए। पार्टीको साख जोगाए तर विजयको टीका पहिरिन पाएका थिएनन्। २०२३ मंसिर २५ गते रुन्टिगढी ९५ मा जन्मिएका दसौदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीतिमा लागे। उनले बीचमा शिक्षण पेसा पनि गरे।
०३९ सालमा शिक्षक संगठनमा आबद्ध भए। २०४१ मा इलाका स्तरीय नेकपा कम्यूनिष्ट पार्टीमा लागे। २०४७ सक्रिय दलको सदस्य बने। पार्टीमा जिल्ला सदस्य हुँदै २०४८ मा उपसचिव बने।
२०५४ मा पार्टिको जिल्ला सचिव बने। उनले २०५४ देखि २०५९ सम्म जिल्ला सचिवको जिम्मेवारीमा थिए। अञ्चल, प्रदेश हुँदै केन्द्रीय सदस्य बने। रोल्पाको आवाज देशभर सुनाउन चाहन्छन दसौदी।
बल्ल रोल्पाले मूलधारको राजनीतिमा अवसर पाउन थालेको छ। प्रतिनिधि सभा एक जना समानुपातिक र प्रदेश सभामा समानुपातिकबाट एक जनाको प्रतिनिधित्व बल्ल पुगेको छ। अनि राष्ट्रिय सभामा दसौदीले आवाज उठाउनेछन्। ‘रोल्पा सुनाउने चाहना छ’ उनले भने, ‘रोल्पा अहिलेसम्म पछि पर्याे। अब अघि बढ्न खोज्दै छ। म रोल्पाली जनताको प्रतिनिधि बनेर राष्ट्रिय सभामा गुञ्जनेछु।’