एमडिएमएस तत्काल लागू गर्न सरकारसँग माग

काठमाडाैँ- मोबाइल वितरक व्यवसायीहरूले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्।

बुधबार वितरक संघले एक अन्तरक्रिया कार्यक्रम गर्दै संघले विदेशबाट अवैध रूपमा भित्रिने मोबाइलका कारण बर्सेनि अर्बौँ राजश्व गुमेको भन्दै एमडिएमएस प्रणाली पुनः लागू गर्न माग गरेको हो।

वितरक संघले नेपालमा वार्षिक ३८ अर्बदेखि चालिस अर्ब रुपैयाँसम्मको मोबाइल फोनको वैधानिक रूपमा आयात तथा कारोबार भइरहेको जानकारी दिएको छ।

तर बाँकी ४० प्रतिशत मोबाइल विदेशबाट चोरी पैठारीबाट भित्रिएका मोबाइलहरु बिक्रीवितरण भइरहेको संघले दाबी गरेको छ।

संघले १४ अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तवरबाट भित्रिएका मोबाइलहरूको कारोबार भएको भन्दै प्रणाली लागू गर्न माग गरेको हो।

नेपालमा अवैध रूपमा भइरहेको मोबाइल फोनको कारोबारले नेपाल सरकारले झन्डै वार्षिक दुई अर्बको हाराहारीमा राजश्व गुमाइरहेको जनाएको छ।

भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार बढ्दै जाँदा वैधानिकरूपमा कर तिरेर कारोबार गर्ने व्यवसायीको बिक्री वितरणमा व्यापक गिरावट आएको व्यवसायीहरूको गुनासो छ।

नेपाल दुरसञ्चार प्राधिकरणले झन्डै एक अर्बको लगानीमा पाँच वर्षको निरन्तर प्रयासपछि पुस १५ गतेबाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू गर्ने निर्णय गरेको थियो।

तर वैदेशिक रोजगारीबाट फर्किने व्यक्तिहरुले ल्याउने वा पठाउने फोन नेपालमा चल्दैन भन्नेजस्ता अफवाह र नो रेमिट्यान्सको कुरा आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले हाललाई सो प्रणाली लागू नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्