सञ्चारकर्मीसँग हातेमालो गर्न प्रहरी तयार

सिमकोट – एक दिनअगाडि जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईले प्रहरी जिल्लाका सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका छन्। जिल्लास्थित सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन्।

समाज परिवर्तनमा सञ्चार जगत्को पनि महत्वपूर्ण भूमिका रहने भन्दै उनले सञ्चारकर्मीसँग समन्वय गरेर मात्र अगाडि बढ्ने बताए। उनले हरेक सकारात्मक पक्षका लागि प्रहरी जतिखेर पनि हातेमालो गरेर अगाडि बढ्न तयार रहेको सञ्चारकर्मीबाट धेरै आशा प्रहरीले राखेको बताए।

उनले चौबीसै घण्टा प्रहरी नागरिक जिउधनको सुरक्षाका लागि खटिने भएकाले प्रहरीबाट हुने व्यवहार पनि नागरिक मैत्री बनाइने बताए। नागरिक पनि बर्दीबिनाको प्रहरी भएका कारण प्रहरीले शान्ति–सुरक्षा प्रदान गर्दा मिठो बोली र व्यवहार गर्ने उनले बताए।

नागरिकमैत्री व्यवहार जिल्लामा मात्र नभई माताहतका सबै प्रहरी चौकी र अस्थायी प्रहरी चौकीमा खटिने प्रहरीमा लागू हुने उनले बताए।

उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको जानकारी दिँदै उक्त कार्य सफल पार्न सबैको सहयोग आवश्यक रहेको औल्याए।

प्रहरीबाट प्रवाह हुने सेवा–सुविधालाई सहजतासाथ प्रदान गरिने र समाजमा सचेतनाका कार्यक्रम प्रहरी सञ्चालन गर्ने भएको छ।

उनी जिल्लामा सरुवा भएर आएपछि पहिलो पटक जिल्लाका सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन्।
सञ्चारकर्मीले उनलाई जिल्लाको समसामयिक विषयमा जानकारी गराएका थिए। कार्यक्रममा जिल्लामा उपलब्ध सञ्चारकर्मी सहभागी थिए।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्