सेनाले गर्यो प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक

काठमाडौँ – जंगी अड्डामा सञ्चालित दुई दिने ‘प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक वैठक– २०७९’ को बुधबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका छन्।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी शर्माले प्रमुख सुवेदार र जेष्ठ सुवेदार युनिट तथा सब–युनिटका सबैभन्दा पुराना र अनुभवी व्यक्ति हुनुका साथै नेपाली सेनाको मेरुदण्डको रुपमा रहँदै आएको बताए।
उनले प्रमुख सुवेदार तथा ज्येष्ठ सुवेदारहरुले प्रदर्शन गर्ने व्यवसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयासबाट पल्टनको तयारी, अनुशासन,
बन्दोबस्ती तथा कल्याणकारीलगायत क्षेत्रमा नतिजामुखी उपलब्धि हासिल गर्न निर्देशन दिए।
सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको कार्यान्वयनका दौरान देखिएका व्यावहारिक पक्षको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त राय–सुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागलाई निर्देशनसमेत दिए।
सेनामा सैन्य पदमा भर्ना भई पदोन्नति हुँदै पुग्ने राजपत्र अनंकित वरिष्ठतम पद प्रमुख सुवेदार र जेष्ठ सुवेदार हो। पल्टनको संस्कृति, परम्परा र रीतिरिवाजबारे जानकार तथा जिम्मेवार प्रमुख सुवेदार र जेष्ठ सुवेदारलाई नेपाली सेनामा अति महत्वपूर्ण नियुक्तिका रुपमा लिइन्छ।
यस नियुक्तिमा रहनेहरुले सैनिक इकाइमा अन्य दर्जा र अधिकृतको बीचमा समन्वयकर्ताको भूमिका निर्वाह गर्छन् । कार्यरथी उपरथी सागरबहादुर थापाद्वारा माघ २४ मा उद्घाटित
समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत रथी सरोजप्रताप राणा, रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९०जना प्रमुख सुवेदार र जेष्ठ सुवेदार सहभागी थिए।