संघीय संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्न नेम्वाङको प्रस्ताव

नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन्।
संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेर्स्याएजसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो।
उनले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराए।
उपाध्यक्ष नेम्वाङले भने, ‘त्यो गेटभन्दा बाहिर एकदम त्यो क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेस्र्याएर बसेको जस्तो लाग्ने । उहाँहरु बिचरा त्यो लिएर कुदिरहनु पर्ने । अलि कस्तोकस्तो लाग्दो रहेछ त्यो । त्यसकारण यत्रो त गरिरहेका छौँ हामीले । प्रेस मिट रुम एउटा भव्य बनाउँ न । जहाँ केही पर्यो भने माननीय सदस्यहरु पनि जानु हुन्छ । दलका नेताहरु पनि जानु हुन्छ । पत्रकार साथीहरु पनि त्यहाँ बस्नु हुन्छ । प्रवक्तालाई पनि सजिलो । त्यहाँ जानु हुन्छ । त्यसकारण यो नियमावलीको महत्वपूर्ण पार्ट हुन्छ । एउटा नियम राखेर यो भव्य व्यवस्था गरौं भन्ने आग्रह छ ।’
उपाध्यक्ष नेम्वाङ पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए।