धनगढी – औषधि व्यवस्था विभाग नेपालगञ्जको नेतृत्वमा गरिएको औषधि पसलको अनुगमनका क्रममा धनगढीका दुई वटा मेडिकलमा सिल गरिएको छ।

बुधबार धनगढी बजारका दुई वटा मेडिकल दर्ता नभएका, सिफारिसमा नपरेका औषधि बेच्ने गरेकोलगायत कैफियत भेटिएपछि अनुगमन टोलीले ती मेडिकल सिल गरेको हो।

औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार शाहका अनुसार धनगढी उपमहानगरपालिका–७ स्थित जेपी क्लिनिक र सो वडाको एस.आर पाराक्लिनिकलाई सिल गरिएको हो।  उनले जेपी क्लिनिक दर्ता नै नगरेको पाइएको र एस.आर पाराक्लिनिकले दर्ता नगरिएको र सिफारिस नगरिएका औषधि बेच्ने गरेको भेटिएकाले सिल गरिएको बताए।

औषधि व्यवस्था विभागका प्रतिनिधि शाहसहित जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत रवीन्द्र ओखेडा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीयको रोहबरमा क्लिनिक सिल गरिएका हुन्।

यसैगरी अनुगमन समितिले धनगढीका अन्य दुई वटा मेडिकलमा म्याद नाघेका औषधि र वेच्न सिफारिस नभएका औषधिको विक्री वितरण गर्ने गरेको भेटिएकाले ती मेडिकलमाथि पनि कारवाही प्रक्रिया अघि बढाएको छ।

फार्मेसी अधिकृत निरीक्षक शाहले अनुगमन गर्दा कमजाेरी भेटिएका दुई वटा मेडिकल सञ्चालकलाई बयान दिन नेपालगञ्ज कार्यालय बोलाइएको बताए। उनका अनुसार बयानका लागि बोलाइएका मेडिकल सञ्चालकले दिएको बयानका आधारमा बाँकी प्रक्रिया अघि बढाइनेछ।

सिल गरिएका क्लिनिकका हकमा भने आवश्यक जरिवाना तिरेर कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै सञ्चालनको अनुमति दिइने निरीक्षक शाहले बताए। ‘दुई वटा मेडिकललाई बयान दिएर आफ्नो मेडिकलबारे जानकारी दिने मौका दिएका छौं,’ शाहले भने, ‘उनीहरुको बयानका आधारमा के गर्ने भन्ने निर्णय होला तर सिल गरिएका मेडिकलको हकमा भने कानून अनुसार कारवाही अघि बढ्छ ।’

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्