ईबा वर्ल्ड वुमन्स बक्सिङका लागि चन्द्रकला, संगीता र सरस्वती छनोट

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा यही मार्च १३ देखि २७ तारिखसम्म आयोजना हुने ईबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ का चन्द्रकला थापा, संगीता सुनार र सरस्वती रानामगर छनोट भएका छन्।

सातदोबाटोमा बुधबार भएको खुला छनोट प्रतियोगिताको ५७ केजी तौल समूहको फाइनल खेलमा आर्मीकी चन्द्रकला थापाले झापाकी सुस्मिता राईलाई पराजित गर्दै छनोट भएकी हुन्।
उनी ५–० अंकको आधारमा पराजित गर्दै छनोट भएकी हुन्।

यस्तै ६० केजी तौल समूहको फाइनल खेलमा एपीएफकी संगीता सुनारले आर्मीकी निरु गुरुङलाई ४–१ अंकको आधारमा पराजित गर्दै छनोट भइन् भने ७५ केजी तौल समूहको फाइनल खेलमा एपीएफकी सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ –० अंकको आधारमा पराजित गर्दै छनोट भइन्।

यस्तै बुधवार नै सम्पन्न फ्लाई लाईट ५० केजी तौल समूहको सेमिफाइनल खेलहरुमा एचटुओकी अस्मिता दुआलले आरडीएक्सकी रमिशा श्रेष्ठलाई ४–१ को स्पिलट डिसिजनमा पराजित गरिन् भने सोही तौल समूहमा नेपाल प्रहरीकी दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४–१ को स्पिलट डिसिजनको आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेकी छन्। ५० किलो तौल समूहको फाइनल खेल बिहीबार हुनेछन्।

 

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्