अन्तर्राष्ट्रिय उडान नहुँदा डोमेस्टिक एयरपोर्टको आभाष !

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जनवरी १ मा तामझामसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे। जग्गा अधिग्रहणको ४७ वर्षपछि अन्तर्राष्ट्रियस्तरको विमानस्थल तयार भएर सञ्चालनमा आएको खुशीयालीमा पोखरेली मानवसागर विमानस्थल उद्घाटन समारोहमा उपस्थित भए।

मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरेलीले सपना देखे, ‘पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्न पाइने भो।’

तर, सञ्चालनमा आएको एक महिना बढी बित्दा पनि पोखराबाट कहिले अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ ? टुंगो छैन। विमानस्थल उद्घाटनको बेला दाबी गरिएको जस्तो २४ सै घण्टा उडान समेत हुँदैन। नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडानको तारतम्य बल्ल मिलाउँदै छ।

पोखराबाट सिधा अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा अन्तर्राष्ट्रिय विमानस्थलको महसुस पोखरेलीले गर्न पाएका छैनन्। अन्तर्राष्ट्रिय उडानबाट सिधै पोखरामा पर्यटक भित्र्याउने सपना देखेका पर्यटन व्यवसायीले पनि अन्तर्राष्ट्रिय विमानस्थलको लाभ लिन नपाएको गुनासो गर्छन्।
पूर्व तयारीबिना पोखरामा आन्तरिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सारिएको पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बताए।

‘सम्माननीय प्रधानमन्त्री ज्युले उद्घाटन गर्नुभा’को अन्तर्राष्ट्रिय विमानस्थल कतै डोमेस्टिक एयरपोर्टकै रुपमा पोखरा एयरपोर्टको वैकल्पिक एयरपोर्ट खुल्या हो कि भन्ने आभाष भइरा’छ’, भट्टराइले भने, ‘एउटा मान्छेले घर सर्दा पनि पूर्वतयारी साथ सरिन्छ। अन्तर्राष्ट्रिय एयरपोर्ट सर्दाखेरिको पूर्वतयारी न्यून थियो।’

पूर्वाधार विकास, अन्तर्राष्ट्रिय रुट नपाएको के कति कारणले ढिलाइ भएको भन्दै भट्टराईले छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरे। अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरा आउने विदेशी पर्यटकको संख्या बढ्ने उनको दाबी छ।

पोखरामा पर्यटकको संख्या बढाउन काठमाडौंसँग जोडिने पृथ्वीराजमार्ग र सुनौलीसँग जोडिएको सिद्धार्थ राजमार्गको निर्माणमा ध्यान दिनुपर्ने भट्टराई सुझाउँछन्।

पर्यटनसँग सम्बन्धित संस्थाहरूको आयोजनामा बुधबार पोखरामा भएको पोखरा तथा ‘गण्डकी प्रदेशको पर्र्यटनको सम्भावना र समस्या’ विषयक अन्तरक्रियामा पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिकमै सीमित हुँदा पोखरेलीले लाभ लिन नपाएको गुनासो गरेका हुन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष हरिराम अधिकारीले राष्ट्रिय ध्वजावहाक कम्पनीले त्रिभुवन विमानस्थलबाट गर्दै आइरहेको विदेश उडान पोखरा सारेर पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने बताए। ‘जुन खालको अनसन बसेर एयरपोर्ट बनेको थियो, त्यसरी नै अन्तर्राष्ट्रिय विमान चल्न पनि अनसन बस्नपर्ने अवस्था नआओस्’, उनले भने।

अन्तर्राष्ट्रिय रुट परमिट नपाएको कारण मात्रै नभएर केही स्वार्थले पनि अन्तर्राष्ट्रिय उडान सुरु नभएको अधिकारीको आरोप छ। हप्तामा एक दिनमात्रै अन्तर्राष्ट्रिय उडान भए अन्तर्राष्ट्रिय उडान हुने सहरमा भएको आभाष गर्न पाउने उनी बताउँछन्।

पोखरालाई पर्यटनको राजधानी बनाउन पर्यटक धेरै आउनुपर्ने बताउँदै अधिकारी भन्छन्, ‘पर्यटक आउनलाई सहज वातावरण हुनुपर्छ। त्यो भनेको एक्सेस हो। चाहे जहाजबाट आओस् र सडक सञ्जालबाट आओस्।’ पोखराबाट ६ वटै प्रदेशमा हवाइ उडान हुनुपर्ने उनको माग छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्।

‘विभिन्न एयरलायन्सका प्रतिनिधि ल्याएर अन्तरक्रिया पनि गरेका छौं। उहाँहरू धेरै पोजेटिभ हुनुहुन्छ। नागरिक उड्डयन प्राधिकरण पोखरामा बुझ्दापनि धेरै एयरलाइन्सहरू इच्छुक रहेको सन्देश पाएका छौं’, उनी भन्छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय हवाइ उडान सञ्चालन गर्न पहलकदमी होस् भन्ने हाम्रो जोडदार माग छ।’

विमानस्थलबाट रात्रीकालिन उडान पनि सुरु भएपछि पोखराको पर्यटनमा सकरात्मक टेवा पुग्ने उनको विश्वास छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको महासचिव संगीता पौडेलले पोखरासँग जोडिने प्रमुख मार्ग पृथ्वीराजमार्गको काम रफ्तारमा नहुँदा पर्यटकको आवमगनमा कमी भएको बताइन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको माध्यमबाट पोखराको पर्यटन बजारीकरण गर्नुपर्ने उनको भनाइ छ। ‘पोखरामा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान ल्याउनलाई पहल हुनुपर्दछ’, उनले भनिन्।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि पनि विमानस्थल तयार छ। पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव भएको अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको उनले बताए।

कोरियन एयर, फ्लाइ दुबई, कतार, जजिरा, थाइ स्माइल, बुद्व, हिमालयनले अन्तर्राष्ट्रिय उडान भर्न चासो देखाएको गौतमको दाबी छ। ‘यहाँको विमानस्थल सञ्चालनमा कहींनेर हामी दुःखी हुनुपर्छ भन्ने छैन। भर्खर, भोलिबिहानै भन्दा पनि हामी सबै लाग्यौं र प्रचार ग¥यौं भने अगाडि बढ्छ भन्ने कुरामा दुविधा छैन’, उनले भने, ‘हवाई दुर्घटनाको अफवाह फैलेपछि समस्या आएको छ।’

गौतमका अनुसार फेब्रुअरी २३ तारिखदेखि रात्रिकालिन उडान सुरु हुनेछ। हाल विमानस्थलबाट दिउँसो ४ बजेसम्म मात्रै उडान हुँदै आइरहेको छ। अहिले विमानस्थलबाट भिएफआर (भिजुअल फ्लाइट रुल्स) प्रविधि अनुसार उडान हुँदै आइरहेको छ।

आइएफआर (इन्स्ट्रोमेन्टल फ्लाइट रुल्स) अनुसार फेबु्रअरी २३ देखि उडान र अवतरण सुरु गौतमले जानकारी दिए। उनका अनुसार आइएफआर प्रविधिमा उडान र अवतरणमा उपकरणको प्रयोग गरिने भएकाले रातिको समयमा पनि विमानस्थल सञ्चालन हुनेछ।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्