सिक्किमका नेपालीभाषीलाई विदेशी मूलका भनी लेखिएको फैसला भारतीय सर्वोच्च अदालतले सच्याउने

काठमाडौँ- भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ।
भारतको सर्वोच्च अदालतको एक फैसलामा लेखिएको ‘विदेशी मूलका आप्रवासी नागरिक’ शब्द हटाउने आदेश सर्वोच्चले दिएको भारतीय सञ्चारमाध्यले बुधबार उल्लेख गरेका छन्।
आयकरसम्बन्धी विवादमा भारतको सर्वोच्च अदालतले एक महिनाअघि सिक्किमका नेपाली भाषीलाई विदेशी मूलका नागरिक भनेर लेखेको थियो। यसबिरुद्ध सिक्किममा आन्दोलन चर्किएको थियो।
सिक्किम राज्य सरकारले नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै रिट हालेको थियो। सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले सिक्किमका नेपाली भाषीलाई आप्रवासी भनिएको फैसला सच्याउने आदेश गरेको हो।