काला हिमालमा नै रमाउँदै छन् पर्यटक(भिडियो)

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्रमा सामान्यतया हिउँद याममा पैदलयात्री तथा पर्यटकहरूको खासै चहलपहल हुँदैनथ्यो। तर, अहिले अवस्था विगतको भन्दा फरक छ। मध्य जाडोमा अर्थात् पर्यटकीय अफ-सिजनमा पनि खुम्बु क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको राम्रै उपस्थिति देखियो।
गत डिसेम्बरकाे अन्तिम साता र जनवरीकाे सुरुवातको अवधिमा सगरमाथा आधार शिविरमा आएका यात्रु निकै भेटिए। यसलाई यो क्षेत्रको मौसममा केही परिवर्तन भएको संकेतका रूपमा हेरिएको विज्ञले बताएका छन्।
विगतमा हिउँदमा सेतै देखिने हिमाली क्षेत्र यसपल्ट पहिलाजस्तो देखिएन। उच्च पहाडी तथा हिमाली क्षेत्रमा बुट्यान निकै कम हुने र त्यसमाथि हिउँ पातलिँदा हिमाली क्षेत्र उजाड थिए। तर पनि पदयात्रीको उत्साह कम नभएको उनीहरूको लामो ताँतीले स्पष्ट पार्थ्याै।
सामान्यतया सगरमाथा आधार शिविरको पदयात्रा तथा हिमाल नै आरोहणकाे आकर्षण हाे। यहाँ खासगरी हिमाल आराेहणका लागि फागुनदेखि जेठसम्म र भदौदेखि कार्तिकसम्मकाे समय उपयुक्त मानिन्छ।
तर असार-साउन र मंसिरदेखि माघसम्मलाई हिमाल आरोहण अथवा सगरमाथा आधार शिविरसम्म जानका लागि अफसिजनका रूपमा लिने गरिन्छ। तर पछिलो समय यो अवधिमा पनि त्यहाँ जानेको कमी छैन। यसले सगरमाथाको वरिपरि तथा विश्वव्यापी तापक्रम वृद्धिसँग पर्यटकहरूले एड्जस्ट गरेको बुझ्न सकिन्छ।

पर्यटक सगरमाथा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँले दिएको जानकारीअनुसार गत वर्ष मंसिरमा नेपाली ४४०, सार्क राष्ट्रबाट २९२, अन्य विदेशी पर्यटक ६१८ गरेर जम्मा १ हजार ३५० जना त्यस क्षेत्रमा पुगेका थिए।
त्यसैगरी, पुसमा नेपाली १४४, सार्क राष्ट्रका १८५, अन्य विदेशी पर्यटक २८२ गरेर जम्मा ६११ थिए भने माघ महिनामा नेपाली ६५, सार्क राष्ट्रका २८ र अन्य विदेशी पर्यटक २४८ गरेर जम्मा ३४१ को संख्यामा सगरमाथा क्षेत्र पुगेका थिए।
यो वर्ष मंसिरमा नेपाली ६७४, सार्क राष्ट्रका ३०७, अन्य विदेशी पर्यटक ३ हजार ८४ गरी जम्मा ४ हजार ६५ आएका छन्। पुसमा नेपाली ४५५, सार्क राष्ट्रबाट २७९, अन्य विदेशी ११८६ जम्मा १ हजार ९२० जना त्यस क्षेत्रमा गएको तथ्यांक छ। माघको तथ्यांक भने पूर्ण रूपमा आइसकेको छैन।

खुम्बु क्षेत्रको अधिकांश भाग सगरमाथा राष्ट्रिय निकुञ्जले ओगट्छ। गत वर्षभन्दा यस वर्ष अफसिजनमा धेरैले सो क्षेत्रमा यात्रा गरेको देखिन्छ। यद्यपि सबै बेस क्याम्प नै नपुगेका हुन सक्छन्। पर्यटक आगमनले व्यापार र आर्थिक गतिविधिमा पनि सकारात्मक असर परेको देख्न सकिन्छ।
केही वर्ष पहिलेसम्म स्थानीय, व्यापार गर्नेहरू खुम्बु क्षेत्रमा निकै कम हुन्थे। तर अहिले अफसिजनमा पनि आर्थिक चहलपहल मजाले देखिन्छ। स्थानीय व्यापारसँगै पर्यटकहरूलाई त्यहाँ बस्नको लागि अहिले थप सहज भएको छ। अफसिजनमा पनि काठमाडौँबाट लुक्लाका लागि मौसम सफा हुँदा विभिन्न एयरलाइन्सका जहाजले दैनिक दुईदेखि तीनवटासम्म उडान भरिरहेका छन्।
काठमाडौँबाट लुक्ला जानका लागि जहाज र हेलिकप्टर नै सहज विकल्प हुन्। तर अफसिजनमा भने उडान कम हुने गर्छन्। गत डिसेम्बरदेखि जनवरीको सुरुवातसम्म पदयात्रीको कमी थिएन। सामान्यतया पहिलाको जस्तो चिसो थिएन। त्यहाँका स्थानीयले यो वर्ष हिउँ नपरेको बताए। हिमालहरू टोपी खसेका काला टाउका जस्ता देखिन्थे।
१५ वर्षदेखि गाइडका रूपमा काम गरिरहेका गोरखाका एकदत्त सिम्खडाले सगरमाथा आधार शिविर क्षेत्रमा मौसमी परिर्वतन महसुस गरेको बताए। ‘हरेक वर्षजस्तो केही फरक महसुस हुन्छ। पहिला-पहिला म आफ्ना गेस्टहरू ल्याएर आउँदा यहाँ सेता हिमाल देखिन्थे। यो समयमा आउन त धेरै गाह्रो हुन्थ्यो। हरेक वर्ष यहाँ हिड्ने बाटोहरू नै सरिरहेको हुन्छ। यस क्षेत्रमा देखिएका यी परिवर्तन भनेको बढ्दो तापक्रम हो र त्यो बढ्दो तापक्रम भनेको नै जलवायु परिवर्तनको असर हो’, उनले भने।

विगत २८ वर्षदेखि सगरमाथा क्षेत्रमा अध्ययन गर्दै आएका हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले खुम्बु क्षेत्र पनि जलवायु परिवर्तनबाट अक्षुत रहन नसककेकाे बताए।
‘यसलाई हामीले खुम्बु क्षेत्रमा जलवायु परिर्वतनको असर हो भनेर भन्न सक्छौँ। जलवायु परिवर्तनको कारणले गर्दा विश्वको तापक्रम बढिरहेको छ भने नेपालको पनि बढिरहेको छ। विसं १९७१ देखि २०७४ सम्मको तथ्यांकलाई विश्लेषण गरेर जल तथा मौसम विज्ञान विभागले निकालेको रिपोर्टअनुसार अधिकतम तापक्रम ०.०५६ डिग्री प्रत्येक वर्ष बढिरहेको अवस्था रहेको छ’, उनले भने।
तापक्रम वृद्धि भएसँगै काला पहाड देखिन थालेकाे हिमनदी विज्ञ डा. कायस्थकाे भनाइ छ।
‘सगरमाथा आधार शिविर बरफ माथि रहेको र हरेक वर्ष भासिँदै गएको अवस्था छ। यसरी नै भाँसिदै जाँदा बेस क्याप पनि सार्न पर्ने हुन्छ। पहिलाभन्दा अहिले हिउँ कम पर्नुको अर्को प्रमुख कारण भनेको- तापक्रम वृद्धि हुनु हो। तापक्रम वृद्धि भयो भने पहिला हिउँ पर्ने ठाउँमा हिउँ नपरेर पानी पर्ने हुन्छ। त्यस्तो हुँदा बरफहरूसँगै टाकुरामा भएकाे हिउँ पनि पग्लेर जाने हुँदा काला पहाडहरू देखिने गरेको हो।

जलवायु परिवर्तनले पछि कस्तो असर गर्छ यो एउटा चिन्ताको विषय हो। त्योभन्दा पनि अहिले नै मुख्य दुईवटा असर देखिइसकेको उनले बताए। पहिला हिउँ पर्ने ठाउँमा हिउँ परेको छैन भने पहिला साना रहेका हिमतालहरू भने ठूला हुँदै गएका छन्। त्यसले गर्दा केही वर्षमा हिमतालहरू फुट्न सक्ने उनकाे भनाइ छ। तर हिमतालको पानीको सतह घटाउन भने सकिने उनले बताए।
दुईवटा हिमतालको पानीको सतह घटाएको हिमनदी विज्ञ डा. कायस्थले जानकारी दिए। सतह घटाएपछि हिमनदी फुटेको अवस्थामा तल्लो भेगमा कम क्षति हुने तर्क उनको छ।
जलवायु परिवर्तनको प्रभाव कम गर्नका लागि हरितगृह ग्यासको कमी गर्नुपर्ने र त्यसका लागि विश्वभरको एकीकृत प्रयास चाहिने डा. कायश्थले बताए। यस्तै माथिलो भेगको तथ्यांकहरू संकलनका साथै विश्लेषणहरू गर्दा राम्रो हुने उनकाे भनाइ छ।
विश्वमा हरितगृह ग्यासको उत्सर्जनमा नेपालकाे भूमिका नगन्यजस्तै रहेकाे भएपनि समस्या भोग्नु परेकोले तथ्यांक देखाएर विश्वलाई भन्न सक्नु पर्ने र जलवायु सम्मेलनजस्ता बैठकमा यी कुरा उठाउनु पर्ने उनले बताए।
‘हामीलाई आर्थिक तथा प्राविधिक किसिमको सहयोग गर्नुपर्छ भनेर नै कुरा राख्नु पर्छ। साथै त्यहीअनुसार योजना आयोजना बनाउनु पर्छ। यस्तै हो भने केही वर्षमा अहिले रहेको स्थानबाट सगरमाथा आधार शिविर सार्नुपर्ने हुन्छ’, उनले भने।
खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले हिमालमा भएको हिँउ घट्दै गएको र पर्नु पर्ने समयमा हिँउ नपर्ने अस्वाभाविक प्रक्रिया देखिएको बताए। खुम्बु क्षेत्रमा रहेको हिमनदीमा पहिलाभन्दा धेरै पोखरीहरू बढिरहेकाे तथा हरेक सिजनमा पदयात्रा रुट पनि परिर्वतन भइरहेको उनकाे भनाइ छ।

‘यो समस्या भनेको हाम्रो मात्र नभएर सारा विश्वको हो। तर सगरमाथाजस्तो विश्वको अग्लो हिमाल रहेको यस क्षेत्रमा परिरहेको असरमा विश्वको नै ध्यान जानुपर्छ। यस विषयमा हाम्रो गाउँ पालिकाको बजेट अथवा हामीले मात्र केही गर्न सक्दैनौँ। तर पनि हामीहरू कसरी के गर्ने सकिन्छ भनेर कोसिस गरिरहेका छौँ’, वडाध्यक्ष शेर्पाले भने।

तर यस समस्याप्रति केन्द्र सरकारको ध्यान नै नपुगेको गुनासो थियो उनको। केन्द्र सरकारको त हिमालतिर ध्यान नै पुगेको छैन। यस क्षेत्रमा पछिलो समय भूमिगत पोखरी पनि देखिएका छन्। जुन हेर्दा सानो देखिने तर गहिरा हुने हुन्छन्।
सरकारले यहाँकाे बदलिँदाे परिस्थितिबारे केही गर्न सकेकाे छैन। यस क्षेत्रमा जलवायु परिर्वतनले कस्तो असर पारेको छ? यहाँका हिमाललाई, जनजीवनलाई यो नै एउटा अनुसन्धानको केन्द्र हुनसक्छ । तर केन्द्र यस मामिलामा निदाइरहेकाे छ’, वडाध्यक्ष शेर्पाले भने।
माैसम परिवर्तन भएकाे भन्दै उनले चिन्ता व्यक्त गरे। ‘अहिलेसम्म हिँउ परेको छैन। जहाज आइरहेको छ। त्यसकारण पनि यहाँ आउनेहरूको संख्या बढेको छ। अफसिजन भए पनि मानिसहरू आइरहेका छन्। पहिला हिउँ पर्ने अनि जानलाई कठिनाइ हुने गर्थ्यो। अझै भन्ने हो भने यता अहिले मौसमको प्रणाली नै परिर्वतन भएको छ’, वडाध्यक्ष शेर्पाले भने।
यता हिमाल जोगाउने कुरा सरकारको प्राथमिकतामा रहको वन तथा वातारण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा.बुद्धिसागर पौडेलले बताए।
‘हिमाली क्षेत्रमा वा सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असर कसरी कम गर्ने भन्ने कुरामा काम गरिरहेका छौँ। कोपजस्तो सम्मेलनमा छुट्टै हिमालको मात्र भनेर छलफल हुँदैन। त्यसकारण त्यहाँ जति प्रभावकारी रूपमा कुरा उठ्न पर्ने हो नउठेको हुन सक्छ। तर सरकारले यस विषयमा काम नगरेको भन्न चाहिँ मिल्दैन। सरकार लागिरहेको छ’, उनले भने।

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायसँग मिलेर काम गरिरहेको उनले सुनाए। सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै हिमालको कुरा राखेको उनले बताए। ‘सरकारले यस विषयमा काम गरिरहेको छ। त्यहाँका स्थानीयलाई थाहा नभएको हुन सक्छ’, सहसचिव डा. पाैडेलले भने।
उनले सरकारले यस विषयमा काम गरिरहेकाे तर आउटपुट सकारात्मक हुन नसकेकाे स्विकार गरे।
‘अहिले हामी सगरमाथा संवादकाे तयारीमा पनि छौँ। पहिला यसमा केही काम भएको थियो। तर मुख्य इभेन्ट कोभिडको कारणले गर्दा रोकिएको थियो। अब यसलाई गर्ने तयारीमा छौँ’, सहसचिव डा. पाैडेलले भने।
यद्यपि सगरमाथा संवादको मिति अहिले नै तय भइनसकेको उनले बताए।

उनले जलवायु परिवर्तन हाम्रो मात्र नभइ विश्वको समस्या भएकाे पनि बताए।
‘ जलवायु परिवर्तन नेपालकाे मात्र नभइ सारा विश्वकाे समस्या हाे। नेपाल सरकार पनि यसमा लागि परेको छ। सगरमाथा जोगाउनका लागि सरकार, सबै निकाय र अन्तर्राष्ट्रिय सहयोग पनि चाहिन्छ’, सहसचिव डा. पाैडेलले भने।