१४ पटकको फ्रेन्च कप विजेता पिएसजी अन्तिम १६ बाटै बाहिर

फ्रेन्च कप फुटबलमा पिएसजी मार्सेलीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार राति भएको खेलमा १४ पटकको च्याम्पियन पिएसजी २-१ ले पराजित भएकाे हाे।

पिएसजीलाई अन्तिम १६ बाटै बाहिर पठाउने क्रममा मार्सेलीका लागि एलेक्स सान्चेज र रुस्लान मिलानोभ्स्कीले गोल गरे।

खेलको ३१ औँ मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पिएसजीका डिफेन्डर सर्जियो रामोसले सेन्जिज अन्डरलाई फल गरेपछि पेनाल्टी पाएको थियो। जसलाई सान्चेजले गोल गर्दै मार्सेलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर रामोसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए तर युक्रेनका मिडफिल्डर रुस्लान मिलानोभ्स्कीले खेलको ५७ औँ मिनेटमा गोल गर्दै टिमलाई २-१ को अवस्थामा पुर्‍याए। उक्त अग्रता नै निर्णायक बन्दा प्रतियोगितामा कीर्तिमानी विजेता पिएसजी बाहिरियो।

पिएसजीका लागि मेसी र नेमारले गोलका केही राम्रा मौका सिर्जना गरे पनि स्कोर गर्न भने सकेनन्। फ्रान्सेली लिग वानमा मार्सेली शीर्ष स्थानमा रहेको पिएसजीभन्दा ८ अंकले पछि रहँदै दोस्रो स्थानमा छ।

अब यी दुईबीच लिग वानमा आगामी २६ फेब्रुअरीमा पुन: भेट हुने छ। मार्सेलीले १९८८-८९ पछि फ्रेन्च कप जित्न सकेको छैन।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्