रियल म्याड्रिड र साउदी क्लब अल हिलाल क्लब विश्वकपको फाइनलमा भिड्ने

युरोपियन जायन्ट रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा पुग्न सफल भएको छ। मोरक्कोमा बुधबार राति भएको खेलमा इजिप्टियन क्लब अल आलीमाथि ४-१ सहज जित निकाल्दै रियलले क्लब विश्वकपमा साउदी क्लब अल हिसलालसँगको उपाधि भिडन्त पक्का गरेको हो।
रियलले ४२ औँ मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत् खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।
खेलको ४६ औँ मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ६५ औँ मिनेटमा अल आलीका अली मालोउलले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई २-१ को अवस्थामा ल्याए।
खेलको ८७ औँ मिनेटमा रियलले अग्रता बढाउने मौका चुकाएको थियो। लुका मोड्रिच पेनाल्टीमा चुकेका थिए। तर खेलको इन्जुरी समयमा रोद्रिगोले गोल गर्दै रियलले अग्रता ३-१ मा पुर्याए। लगत्तै वैकल्पिक खेलाडी सर्जियो आरिबासले गोल गर्दा रियललाई ४-१ को सहज जित निकाल्न रियल सफल भयो।
रियलले अब शनिबार साउदी अरेबियन क्लब अल हिलालसँग प्रतिस्पर्धा गर्ने छ। अल हिलाल ब्राजिलको फ्लामियालाई हराउँदै फाइनलमा पुगेको थियो।
फ्लामियोलाई हराएर फाइनलमा पुगेसँगै साउदीका प्रिन्स अल वालिद विन तलालले प्रत्येक खेलाडीलाई २ लाख ६६ हजार पाँच सय अमेरिकी डलर बोनसको घोषणा गरेका थिए।