टर्की भूकम्पः मृत्यु हुनेकाे संख्या १२ हजार पुग्याे

भूकम्पमा परेकाहरूकाे खाेजी कार्य गर्दै। फाइल तस्बिर।

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या १२ हजार पुगेकाे छ।

टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको थियाे। भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्‍याएकाे छ।

भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।

आलोचकहरूले आपतकालीन सेवा सुस्त गतिमा काम गरिरहेको र सरकारको तयारी पनि ठीक नभएको बताएका छन्।

सिरियामा मृत्यु हुनेको यकिन तथ्यांक आइसकेको छैन। तर सरकारी सञ्चारमाध्यम र उद्धार टोलीले त्यहाँ २ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन्।

सिरियामा लामो समयदेखि चलिरहेको द्वन्द्वले पूर्वाधारलाई ध्वस्त पारेको छ जसले गर्दा सहायता पुर्‍याउन गाह्रो भएकाे छ।

भूकम्पपछि टर्की र सिरिया बीचको बाब अल-हवा क्रसिङ पूर्ण रूपमा बन्द छ।

संयुक्त राष्ट्रका एक अधिकारीले सडक छिट्टै पहुँचयोग्य हुने बताए।

टर्कीका विदेशमन्त्री मेभलुत चेवुशोग्लुले सिरियामा सहयोग पुग्ने गरी दुवैतर्फको सीमाना थप खोल्न सक्ने बताएका छन्।

सिरियाका राष्ट्रपति बसर अल-असदका सल्लाहकारले प्रतिबन्धले सिरियालाई अति आवश्यक सहायता प्राप्त गर्नबाट रोकेको बताए।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्