नेपाल संगीत विद्यालयको १७ औँ वार्षिक उत्सव सम्पन्न

काठमाडाैँ- नेपाल म्युजिक सेन्टर शैक्षिक गुठी तथा गुठीद्वारा सञ्चालित नेपाल संगीत विद्यालयको १७ औँ वार्षिक उत्सव सम्पन्न भएकाे छ।

पिंगलास्थानस्थित विद्यालयमा गुठीका अध्यक्ष तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष तीर्थमान शाक्यकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विशेष अतिथिको रूपमा त्रिभुवन विश्वविद्यालय ललितकला केद्रीय विभागका प्रमुख डा. ध्रुवेशचन्द्र रेग्मी, युवा तथा साना व्यवसायी स्वराेजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, ललितकला क्याम्पसका प्रमुख डा. रमेश पोखरेल, पाठ्यक्रम विकास केन्द्र सानोठिमीका उपनिर्देशक खिलनाथ धमला, नेपाल म्युजिक सेन्टर ट्रस्टका संस्थापक अध्यक्ष तथा सदस्य सचिव सन्तोष शर्मालगायत बाेर्ड सदस्य उपस्थित थिए।

कार्यक्रम सञ्चालन र निर्देशन विद्यालयका प्रिन्सिपल शिशिर उप्रेतीले गरेका थिए। कार्यक्रमका विशेष अतिथि डा. ध्रुर्वेशचन्द्र रेग्मीले नेपालमा संगीतको विकास र प्रर्वद्धन गर्न संगीतको औपचारिक शिक्षा अनिवार्य भएको बताए।

नेपाल संगीत विद्यालय विगत १७ वर्षदेखि निरन्तर औपचारिक संगीतको शिक्षाको लागि र नेपाली लोकसंगीत तथा जातीय संगीतको खोज अनुसन्धानको लागि सशक्त तवरबाट कार्य गदै आइरहेको छ। यस काममा नेपाल म्युजिक सेन्टर ट्रस्टका संस्थापक अध्यक्ष तथा सदस्य सचिव सन्तोष शर्माले ठूलो योगदान गरेकाे अतिथि डा. रेग्मीले स्मरण गरे।

मन्तव्यको क्रममा सन्तोष शर्माले आफूले नेपालमा संगीतको औपचारिक शिक्षाको विकास र विस्तारको लागि विद्यालय स्तरदेखि विश्वविद्यालय स्तरसम्मको कक्षा सञ्चालन गर्न चाहेको र हाल कक्षा १२ सम्म सञ्चालनसमेत भइरहेकाले अब छिट्टै स्नातक तहको संगीतको कक्षा सुरु गर्ने जानकारी गराए।

नेपाली लोकसंगीतकाे खोज अनुसन्धानको लागि काम गर्दै आइरहेकाे र जीवनभर काम गर्न चाहेकाेले नेपाल सरकारले आवश्यक सहयोग र वातावरण दिए अझ सशक्त तवरले अगाडि बढ्न सकिने भनाइ उनकाे छ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै यस विद्यालयले औपचारिक र अनौपचारिक दुवै विधाको शिक्षा प्रदान गर्दै आइरहेको र अब छिट्टै स्नातक स्तरको समेत सम्बन्धन लिइ पठनपाठन सुरु गर्ने धारणा राखे।

गुठीका अध्यक्ष तीर्थमान शाक्यले यस संस्थाले संगीतको औपचारिक शिक्षा विकासको निम्ति अतुलनीय योगदान गर्दै आइरहेको र यसलाई राज्यले आवश्यक सहयोग गरेर उचित वातावरण बनाइदिए अझ प्रभावकारी हुनसक्ने बताए। वार्षिकाेत्सवमा सांगीतिक कार्यक्रमकाे पनि आयाेजना गरिएकाे थियाे।

नेपाल संगीत विद्यालयले आगामी वर्ष २०२४ मा अन्तर्राष्ट्रियस्तरको गोल्मोश क्याम्प नामक सम्मेलनसमेत काठमाडौँमा आयोजना गर्ने भएको छ।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्