अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार, म आंशिक सन्तुष्टि छु: सुदन किराँती

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन्।
अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए।
उनले भने, ‘यो नै पूर्ण सुधार होइन। तर क्रमिकरूपमा सुधार भइरहेको छ। यसबाट म आंशिक सन्तुष्ट छु। २४ सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ।’
बिहानै पुगेका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरेका थिए।
विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उनको छ।
हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ। सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री किराँतीले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मन्त्री किराँतीले पाँच सय ट्रलीको मूल्यङ्कन गरी आर्थिक प्रस्तावनासमेत तयार गर्न निर्देशन दिएका छन्।
सरसफाइका साथै स्तरीय यात्रुसेवा सुविधा दिन विमानस्थलका पदाधिकारीलाई उहाँले आग्रह गरे।