साँझ ४ बजेका लागि सारियाे सुदूरपश्चिम प्रदेशसभा बैठक

फाइल तस्बिर।

धनगढी -सुदूरपश्चिम प्रदेशकाे प्रदेशसभा बैठक सरेकाे छ। बिहीबार दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक आज बेलुका ४ बजे बस्न लागेकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।

स्राेतका अनुसार नागरिक उन्मुक्त पार्टीले मुख्यमन्त्री रावललाई विश्वासकाे मत नदिने भएपछि उनलाई बहुमत पुर्‍याउन गाह्राे भएकाे छ। साेही कारण १ बजेकाे बैठक ४ बजेका लागि सारिएकाे हाे।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले अन्तिम चरणमा विश्वासको मत लिन लागिपरेका हुन्। एक महिनाभित्र प्रदेशसभाबाट विश्वासकाे मत लिन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।

सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका रावललाई नागरिक उन्मुक्तिले भने विश्वासकाे मत नदिने अडान लिएकाे छ।

 

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्