क्रिकेटमा बेटिङको जालो: क्षेत्रीयदेखि राष्ट्रिय प्रतियोगितासम्म चलखेल गर्छन् ‘सट्टेबाज’

गत मंसिरमा विराटनगरमा एक क्षेत्रीय क्रिकेट प्रतियोगिताको आयोजना भयो। ‘सगरमाथा कप क्रिकेट’ को नाममा आयोजना भएको प्रतियोगिता नेपाल क्रिकेट संघको अनुमति लिएर नै प्रदेश क्रिकेट संघको आयोजकका रूपमा रह्यो। तर प्रतियोगिता बीचमा नै रोकियो। केही दिनमा पूर्णता दिने भनिए पनि प्रतियोगिताले पूर्णता पाएन।

प्रतियोगिता रोकिनुको कारण कारण ‘सट्टेबाजी’ हरूको संलग्‍नता थियो। प्रतियोगिताको कमर्सियल पार्टनरका रूपमा रहेको लेविन स्पोर्टसले बीचमा मैदान र स्पोन्सरको कारण देखाएर प्रतियोगिता रद्द गरेपछि प्रतियोगिताले पूर्णता पाएन। तर सतहमा स्पोन्सर कारण देखाए पनि प्रतियोगिताको सोझो लिंक भने ‘बेटिङ’ सँग जोडिएको थियो।

लेविन स्पोर्ट्सले आफ्ना ‘स्पोन्सरहरू’ पछि हटेपछि प्रतियोगितालाई निरन्तरता दिन नसकेको बतायो। लेविन स्पोर्टसका निर्देशक रोशन धितालले तत्कालिन समयमा अनेकन समस्या भएपछि प्रतियोगिता स्थगित गर्नु परेको बताए।

उनले भने, ‘प्रतियोगितालाई हामीले निरन्तरता दिन सक्ने अवस्था आएन। स्पोन्सरहरू पछि हटेपछि हामीले कमर्सियल पार्टनरका रूपमा प्रतियोगिताबाट बाहिरिनु पर्‍यो।’

धितालले प्रतियोगितालाई निरन्तरता दिन नसकेको बताउँदै आफ्ना लागि त्यो एक खराब अनुभवका रूपमा रहेको बताए। उनले सट्टेबाजको संलग्‍नता स्वीकारे पनि प्रतियोगिता स्थगनमा ‘बेटिङ’ को भूमिका नभएको जिकिर गरे।

‘मैदान बाहिर हुने कुराहरू अस्विकार गर्न सकिँदैन। तर यो प्रतियोगिता स्थगन हुनुमा त्यसलाई कारण मान्न सकिँदैन’, उनले भने।

तर प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी लिएपछि पूर्णता दिन नसक्नुका पछाडि सट्टेबाजको भूमिका प्रस्ट रूपमा देखिन्छ।

नेपालमा खेल विदेशमा बेटिङ

प्रतियोगितामा भारत र बेलायतमा कार्यालय रहेका फ्यानकोड, डाफा न्युज, ड्रिम ११ लगायत कम्पनीहरूले प्रत्यक्ष प्रशारणमार्फत् ब्यान्डविथ दिने र त्यसवापत उनीहरूले लेविन स्पोर्टसलाई भुक्तानी दिइने सम्झौता भएको दावी गरिन्छ।

तीनवटा कम्पनीले खेलको प्रत्यक्ष प्रशारणमा गुणस्तर र निरन्तरता नभएको दावी गर्दै भुक्तानी दिन अस्विकार गरेपछि लेविन स्पोर्ट्स पछि हटेको थियो। धितालले भने, ‘लाइभमा विभिन्‍न प्राविधिक समस्या आयो। जेनेरेटरदेखि इन्टरनेटसम्मको समस्या आयो, बैजनाथको मैदान अलि भित्र भएकाले विभिन्न समस्याहरू आयो, जसले गर्दा हरेक खेलहरूको लाइभमा अवरोध भयो। र आउट अफ कन्ट्रोल भयो।’

निर्देशक धितालले अप्रत्यक्ष रूपमा प्रतियोगिताले निरन्तरता नपाउनुको पछाडि विदेशमा बसेका सट्टेबाजको माग बमोजिमको लाइभ नहुनु भएको स्वीकारे।

लाइभ र नेटका कारण सट्टेबाजीहरूले स्पोन्सर रकम दिएनन्। धितालले पनि प्रतियोगितामा स्पोन्सर पछि हट्नुको एक कारण लाइभमा आएको समस्या भएको समेत स्वीकारे।

समग्रमा प्रतियोगिता स्थगनको मुख्य कारण भनेको देशबाहिर रहेर बेटिङ गर्नेहरूले पर्याप्त मात्रामा पैसा नपठाउँदा र आफू अनुकूल नतिजा ननिक्लिने देखेपछि ‘सट्टेबाज’ को चलखेलमा नै प्रतियोगिता स्थगित गरियो।

निर्देशक धितालले प्रतियोगितामा राष्ट्रिय टिममा करिअर बनाउने उद्देश्य रहेका खेलाडीहरू खेलेकाले ‘सट्टेबाज’ ले फिक्सिङको प्रयास गर्ने सम्भावना भने नभएको बताए।

यद्यपि, उनले प्रतियोगिता स्थगनपछि अनेकन हल्ला र अनुमानहरू बाहिर आएको भन्दै आफू त्यसको जिम्मेवारी लिन तयार भएको बताए।

होटल व्यवसायी भन्छन् पैसा पाएको छैन

सगरमाथा कप क्रिकेट प्रतियोगितामा खानपान र बसोबासको व्यवस्था गराएका होटल व्यवसायीहरूले आयोजकबाट लामो समय बितिसक्दा पनि पूरा रकम नपाएको बताउँछन्।

७ देखि १७ गतेसम्मका लागि प्रतियोगिता तालिका भए पनि ११ गते नै प्रतियोगिताका ९ खेल बाँकी हुँदै प्रतियोगिता स्थगित गरेको थियो। प्रतियोगितामा तीनवटा विभागीयसहित भारत गुहावटीको इस्टन रेल्वे, पटनाको ध्रुव क्रिकेट एकेडेमी र प्रदेश १ क्रिकेट संघको टोलीको सहभागिता रहेको थियो।

आयोजक पक्षले विराटनगरका विभिन्न होटलमा प्रतियोगिताका दौरान भएको खानपानको बाँकी रकम अझै तिरिसकेका छैनन्। विराटनगरको साजन पार्टी प्यालेसलाई पाँच दिन खाना, नास्ता, जेनेरेटल, पण्डालको खर्च गरी कुल ५ लाख ८५ हजारमा सम्झौता गरेका थिए।

प्रतियोगिता रोकिएपछि धितालले हालसम्म प्यालेसलाई १ लाख ५० हजार रुपैयाँ मात्र तिरेको प्यालेसका सञ्चालक श्याम कामतले जानकारी दिए। उनीहरूलाई तत्काललाई खाली चेक दिइएको छ।

सञ्चालक धितालले आफूले सम्पूर्ण रकम तिर्ने बताउँछन्। ‘प्रतियोगितामा कमर्सियल पार्टनरका रूपमा रहेपछि खर्च भएको रकम तिर्नुपर्‍यो, घाटा भयो। तर हामी सबै रकम तिर्छौँ। होटल व्यवसायीसँग सम्पर्कमै छौँ’, उनले भने।

त्यसो त होटलसँगै मैदान तयार गर्ने करिब १० जनाको रकम पनि अझै बाँकी छ। धितालले साउदी अरबबाट रकम आएपछि फागुन ३ गते (१५ फेब्रुअरी) मा बक्यौता रकम तिर्ने भाका व्यवसायीलाई दिएका छन्।

उजुरी नपरेपछि छानविन नै छैन

प्रतियोगिता रोकिएको र सट्टेबाजको भूमिका प्रत्यक्ष देखिए पनि जिल्ला प्रहरी कार्यालय, मोरङले उक्त विषयमा छानविन नै अगाडि बढाएन।

निर्देशक धितालले प्रारम्भिक छलफल भएको र खर्च भएको रकम भुक्तानी गर्ने सहमति भएको बताए।

उनले भने, ‘उजुरी त गर्ने कुरा भएन। उजुरी नगर्ने नै भन्ने भएको हो।’

विवाद र जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले प्रतियोगिता स्थगित भएसँगै आयोजक पक्ष र खेलाडीलाई राखेर उत्पन्न विवाद मिलाएको जानकारी दिए।

प्रवक्ता कार्कीले हालसम्म प्रतियोगिता आयोजक विरुद्ध जाहेरी नपरेकाले थप अनुसन्धान नगरेको बताए।

यसअघि विवादको समयमा वार्ता गरेर छाडेको बताए पनि उनले ‘बेटिङका’ विषयमा भने जाहेरी नपरेपछि अनुसन्धानको पाटो अघि बढाउन नसकेको दावी गरे।

क्यानले सोध्यो स्पष्टीकरण, प्रदेश एकले भन्यो- गलत कम्पनीमाथि विश्वास

आयोजक प्रदेश एक क्रिकेट संघका सचिव मनोज कटुवाल आफूहरूले गलत कम्पनी र मान्छेको विश्वासमा पर्दा प्रतियोगितालाई पूर्णता दिन नसकेको बताए। उनले नेपाल क्रिकेट संघले स्पष्टीकरण सोधेको जानकारी दिए।

‘हामीलाई क्यानले स्पष्टीकरण सोधेको थियो। तर हामीले प्रतियोगिता राम्रो उद्देश्य र सफलताका लागि नै गरेका थियौँ। हामीमाथि धोका भयो भनेर जवाफ दियौँ’, उनले भने।

सचिव कटुवालले सम्झौतामा नै उनीहरूले बठ्याँइ गरेको बताए। ‘लाइभ राम्रो हुन नसके सम्झौता भङ्ग हुने लेखेका थिए। उनीहरूले नै स्थगित गरे’, सचिव कटुवालले भने।

उनले खेलाडीको भत्ता र होटलहरूको वक्यौताका बारेमा प्रदेश क्रिकेट संघले चासो राखेको बताए। उनले बेटिङमा खेलाडीको संलग्नता हुन नदिएको पनि बताए। ‘हामीले मैदानभित्र खेलाडीलाई बाहिरको गतिविधिभन्दा टाढा नै राखेका थियौँ’, सचिव कटुवालले भने।

वर्तमान नेतृत्व आएपछि झन् फस्टायो अवैध गतिविधि

नेपाल क्रिकेट संघ प्रतिबन्धमा पर्दासम्म आइसिसीकै निगरानीमा प्रतियोगिताहरू हुने गर्थे। प्रतियोगिताहरू विश्वसनीय रूपमा सम्पन्न हुन्थे। तर क्यानको नयाँ नेतृत्व आएसँगै क्षेत्रीयदेखि राष्ट्रियस्तरसम्म अवैध गतिविधिले प्रश्रय पाएको छ।

क्यानका सदस्य सञ्जयराज सिंह वर्तमान नेतृत्वको गैर-जिम्मेवार र हठीपनले क्रिकेट झनझन् बदनाम भएको बताउँछन्।

‘अहिलेकाे अवस्था हुनुभन्दा बरु प्रतिबन्धको अवस्था राम्रो थियो भन्ने अवस्थामा पुग्नु नेपाली क्रिकेटका लागि दूर्भाग्यपूर्ण हो’, उनले, ‘क्यानको नेतृत्व नै अवैध गतिविधिलाई प्रश्रय दिने गरेकाले यस्तो अवस्था आएको हो।’

उनले आफूहरूले पटक-पटक सम्झाउँदा पनि केन्द्रदेखि जिल्लासम्म नै एकल आदेशले काम गर्दा समस्या आउने गरेको बताए।

‘प्रतियोगिता आयोजना गर्ने जुनसुकै निकाय हो। त्यसलाई निरीक्षण र प्रतियोगिताको अपनत्व केन्द्रको पनि हुन्छ। तर यहाँ जिम्मा लगाएर छोड्दिने गरेकाले समस्या बढेको छ’, सदस्य सिंहले भने।

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गानाथ पाठकले क्यानले गल्ती गरेको स्विकार्दै अब फरक तरिकाले अगाडि बढ्ने बताए।

‘नेपाल टी-२० पछि जुन अवस्था आयो त्यसले हामीलाई गम्भीर बनाएको छ। त्यसअघि पनि केहि घटनाहरू भएका थिए। हामीले हाम्रा निकायलाई सोधेका थियौँ’, उनले भने, ‘हामीले विराटनगरमा भएको प्रतियोगिताले पूर्णता नपाएपछि प्रदेश क्रिकेट संघलाई प्रतियोगिताका बारेमा सोधेका थियौँ। उहाँहरूले आयोजकले स्पोन्सरको कारण देखाएर प्रतियोगिता रोकेको जानकारी दिनुभयो।’

सचिव पाठकले पछिल्लो समय क्रिकेटमा देखिएको अवस्थाकै मूल्यांकन गर्दै अब प्रतियोगिता आयोजना गर्दा र कुनै कम्पनीसँग सम्झौता गर्दा उसको सम्पूर्ण विवरण हेरेर र पूर्णरूपमा बलियो भएको अवस्थामा मात्र सम्झौता गर्ने तहमा क्यान पुगेको बताए।

‘पछिल्लो समय देखिएका घटनाबाट हामीले पाठ सिकेका छौँ। अब हामी गल्ती नदोहाेर्‍याउने प्रयास गर्नेछौँ’, उनले भने।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्