विराटनगरमा स्राेत नखुलेकाे ९ लाख रुपैयाँसहित एक जना पक्राउ

माेरङ- विराटनगरबाट स्रोत नखुलेको ९ लाख २० रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार महानगरपालिका १९ का ४२ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले बुधबार राति उक्त रकमसहित पक्राउ गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले भारतीय नम्बर प्लेट बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकलमा सवार साहलाई राति विराटनगर १० बाट पक्राउ गरिएको जानकारी दिए।

प्रहरी चेकजाँचका क्रममा साह पक्राउ परेको हुन्। प्रहरी चेकका क्रममा साहले साथमा रहेको सो रकमबारे स्रोत खुलाउन नसकेको कार्कीले बताए।

प्रहरीले रकम हुण्डी कारोबारीको हुनसक्ने अनुमान गरेको छ। यससँगै मोरङ प्रहरीले बरामद गरेको रकम र नियन्त्रणमा लिएको मोटरसाइकलसहित साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाउने तयारी गरेकाे छ।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्