निफको जुरी नियुक्त

काठमाडौँ – चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित भएका छन्।
मनोनित हुनेमा फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन ली रान रहेकी छन्।
प्रेमेन्द्र मजुमदार भारतीय चलचित्र जगतमा पुनर्जागरण ल्याउने व्यक्ति हुन्। फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा प्रेमेन्द्रले आफूलाई विश्वव्यापी फिल्म समुदायकोआवाजको रूपमा स्थापित गरेका छन्।
चलचित्र र सामाजिक गतिशीलताको राजनीतिमा विचार–उत्प्रेरक व्याख्यानहरू दिनेदेखि लिएर दक्षिण एसियाली स्वतन्त्र सिनेमाका नवीनतम प्रवृत्तिमा प्रेमेन्द्रको योगदान प्रभावकारी रहेको छ।
प्रेमेन्द्रले अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल कान्स र काइरो अन्तर्राष्ट्रिय फिल्म क्रिटिक्स सप्ताह लगायतका निकै प्रतिष्ठित फिल्म महोत्सवहरूमा ओजनदार उपस्थिती जनाएका छन्। प्रेमेन्द्रको सबैभन्दा उल्लेखनीय उपलब्धिहरू मध्ये एक बृहत्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सुरुवात हो, जुन भारतका ४० भन्दा बढी शहरहरूमा प्रदर्शन गरिन्छ।
सन् २०१५ मा कोलकातामा उद्घाटन गरिएको यो महोत्सव एक प्रमुख सांस्कृतिक कार्यक्रम भएको छ, जसले विश्व सिनेमाका उत्कृष्ट फिल्मलाई देशभरीका दर्शक माझ पुर्याउँछ।
यसअघि ‘निफ’को जुरीमा फिचर फिल्म तर्फ चर्चित अभिनेत्री प्रियंका कार्की र छोटा तथा डकुमेन्ट्री तर्फको जुरी कमिटीमा माया एकेडेमीका इन्द्र लाल बलामीलाई मनोनित गरिएको थियो। यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ।
‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ।