ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रको विकास भएनः भुवन केसी

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन्।
बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा उनले यस्तो गुनासो पोखेका हुन्।
अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको बताए।
केसीले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको उल्लेख गरे। उनले भने, ‘आजको दिनमा हाम्रो एउटा मात्रै उद्देश्य र लक्ष्य भनेको नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पु¥याओस् ।
नेपाली चलचित्र अहिलेसम्म विकास नहुनुको खास कारण चलचित्र ऐन, २०२६ सालमा बनेको थियो, अहिलेसम्म त्यही चलिरहेको छ। त्यसको संशोधन हुन नसक्नु हो । अब पनि यो ऐन पास भएन भने चलचित्र विकासले फड्को मार्न सक्दैन।’
अध्यक्ष केसीले चलचित्र प्राविधिक संघले नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै अमेरिकामा नेपालले गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह रहेको बताए।
प्रधानमन्त्री बनेजस्तै भयोः मदनकृष्ण श्रेष्ठ
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताए।
बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइए पनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी भएनन्।
प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा आसनग्रहण गराएको थियो। सोही विषयलाई लिएर उनले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको उल्लेख गरे।