हराउँदो हिउँदे वर्षा र जलवायु परिवर्तन

मान्छेले मौसम र हावापानीसम्बन्धी चासो राख्न कहिले देखि सुरु गरे होला ? पक्कै पनि यो निकै पहिलेदेखि हुनुपर्छ। मौसमसम्बन्धी अध्ययन, लेखनको सुरुवात सर्वप्रथम एरिस्टोटलले इशापूर्व ३५० तिर गरेका थिए। पूर्वीय सभ्यतामा महाकवि कालिदासले इसं. ५०० तिर ऋतुसंहार लेखेको भनी विश्‍वास गरिन्छ। मौसमका अवयव जस्तैः- तापक्रमको गणितीय मापन र अध्ययन चाहिँ १६औं शताब्दीमा थर्मोमिटरको आविष्कार भएपछि भएको मानिन्छ।

कविशिरोमणि लेखनाथ पौडेलले विक्रम सम्वत्‌ १९७३ सालमा ऋतुविचार खण्डकाव्यको रचना गरेका थिए। यो खण्डकाव्यमा हरेक ऋतुको लागि १०१ वटा श्लोकका दरले ६०६ श्लोकमा सबै छवटा ऋतको वर्णन गरिएको छ । सारमा रचनाले ‘जो बेला जो व्यवस्था प्रकृति नियमले प्राप्त भो त्यै छ राम्रो’ मानेको छ। प्रकृतिमा सबै ऋतुको आ-आफ्‍नै स्थान, योगदान र महत्त्व छ।

तर अब ऋतुहरू प्राकृतिक लयमा छैनन्‌। वसन्त ऋतु अब कविशिरोमणिको श्लोकमा जस्तो ऋतुराज रहेन, मानिसकै करतुतका कारण रनाहामा परेको छ कविशिरोमणिको ऋतुराज ! हिजोआज कविले भने झैं शरद्‌मा ‘हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा’ हुँदैन। बरु गएका २-३ वर्ष शरद्‌यामको दशैं हिलोमैलो भयो। अझ अतिवृष्टिका कारण बाढी पहिरोको विपत्ति भोग्नु पर्‍यो।

यस वर्ष शरद्‌यता सुदूरपश्‍चिम र कर्णालीका केही भागमा माघको दोस्रो हप्तामा थोरै वर्षा भयो, अन्यत्र पानी परेको छैन। यो सुख्खाले वसन्त ऋतुको शैली के कस्तो होला? हावाहुरि, आगलागी, डढेलो, असिना, चट्याङ आदिको जोखिम बढ्दैछ। मौसम विषम हुँदैछ, पहिले जस्तो छैन। लाग्छ, शिकारीको झम्टाले ऋतुहरू घाइते भएका छन्‌ । मानिस आफ्‍नो कारणले आफैँ प्रताडित हुँदैछ, सही गन्तव्य हराए सरह छ।

पूर्वीय सभ्यतामा छवटा ऋतु छन्‌ – वसन्त, गृष्म, वर्षा, शरद्‍, हेमन्त र शिशिर । मोटामोटी हिसाबले एक वर्षको अवधिलाई हिउँद र वर्षा भनेर पनि बाँड्ने चलन पनि छ। यसकै आधारमा वर्षे बाली र हिउँदे बाली भनेर खेतिबालीको वर्गीकरण पनि गरिन्छ। नागपञ्‍चमीदेखि श्रीपञ्‍चमीसम्मको अवधिलाई हिउँद भनिने चलनमा शायद तापक्रमको मात्रै ख्याल गरिए होला। तर मौसमी अवस्थाको सूक्ष्म विश्लेषण गर्न छवटा ऋतुमा गरिएको विभाजन नै उत्कृष्ट छ। आधुनिक शिक्षा पद्धतिमा भने पूर्वीय वर्गीकृत छवटा ऋतुको अध्ययन विश्लेषण बिरलै हुन्छ। अङ्ग्रेजी चलनका चार मुख्य ऋतु हुन् – बसन्त, गृष्म, शरद्‌ र शिशिर। वर्षाको हिसावले पनि वर्षलाई चार खण्डमै बाँडिएको छ- पूर्वमनसुन, मनसुन, पोष्टमनसुन र हिउँद।

जल तथा मौसम विज्ञान विभागले सामान्यतया मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँद र यस अवधिको वर्षालाई हिउँदे वर्षामा गणना गर्दछ। अरब सागरमा सुरु भई पूर्वतर्फ आउने पश्चिमी वायुले यस क्षेत्रमा हिउँदे वर्षा गराउँछ। सो वायुको प्रभाव उत्तरपश्चिम भारत र पश्चिम नेपालको तुलनामा मध्य र पूर्वी नेपालमा क्रमशः कम हुँदै जान्छ। विभागले सन्‌ १९८० देखि सन्‌ २०१० सम्म देशभरमा विभिन्न २० स्थानका स्टेसनमा (चित्र १) नापेको ३० वर्षको दैनिक वर्षाको औसतलाई सरदर वर्षाको आधार मान्ने गर्छ। तद्‌ अनुसार हिउँदमा नेपालमा सरदर ६० मिलिमिटर (मिमि) पानी पर्छ।

चित्र १ जलवायु अनुगमन केन्द्रहरू। स्रोतः जल तथा मौसम विज्ञान विभाग, दैनिक मौसम अनुगमन सारांश २०७९ माघ २४।

जल तथा मौसम विज्ञान विभागका रामचन्द्र कार्की र साथीहरूले सन्‌ १९८१ देखि २०१० सम्मको हिउँदे वर्षाको विश्‍लेषण गरेको एउटा अध्ययनले नेपालको उत्तरी क्षेत्रका उच्च भूभागमा धेरै र दक्षिणी भूभागमा क्रमशः कम वर्षा हुने गरेको देखाएको छ। विगतको तथ्याङ्क हेर्दा पश्चिम नेपालमा हिउँदमा सरदर ९० मिमि वर्षा हुन्छ, मध्य र पूर्वी नेपालमा ३० देखि ६० मिमिसम्म। पश्चिमी क्षेत्रमै पनि हिमाल, पहाड र तराईमा हिउँदे वर्षा समान हुँदैन। खास गरी सुदूरपश्चिम प्रदेशका उत्तर-पश्‍चिम भेगमा १४० मिमिसम्म हिउँदे वर्षा भएको पाइएको छ।

प्राकृतिक पर्यावरणीय सन्तुलन र हाम्रो जीवनको लागि हिउँदे वर्षाको विशेष महत्त्व छ। हिउँदे वर्षाले उपल्लो भेगमा हिउँ जम्मा गराउँछ भने मध्य पहाड र तराईमा पनि यसको खास महत्त्व हुन्छ। हिउँदमा सिमिसिमे वर्षा हुन्छ। अलिअलि बिसाउँदै, फेरि पर्दै गर्नु हिउँदे वर्षाको खास चरित्र हो। जमिनमा सोसिएको हिउँदे पानीले जलाधारमा जल पुनःभरण गर्न र मूल जगाउन ठूलो योगदान गर्छ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा जाडोयाममा पर्ने हिउँ र पानी प्राकृतिक भण्डारणका रूपमा रहन्छ र पछि बिस्तारै पग्लेर पानी मुहान, नदीमा उपलब्ध हुन्छ। वर्षायामको झरीको ठूलो हिस्सा बगेर जान्छ भने हिउँदे झरीको धेरै पानी जमिनमा सोसिन्छ। हिउँदे वर्षाले जमिनमा झरेका बिउमा चिस्यान कायम राखे पछि बसन्त ऋतुमा अङ्कुरण हुन र बिरुवा हुर्कन सहयोगी हुन्छ। पाखोमा लगाएका गहुँ, जौ, तोरी, केराउ जस्ता हिउँदे बालि हिउँदे वर्षामै निर्भर हुन्छन्।

विगत केही वर्षयता हिउँदे वर्षा एकदम कम हुन थालेको छ। वि.सं. २०७७ को हिउँदमा जम्मा ८.१ मिमि वर्षा भएको थियो। यस वर्ष हिउँदमा अहिलेसम्म सरदर ७.९ मिलिमिटर मात्र वर्षा भएको छ, अर्थात समग्रमा पर्ने हिउँदे वर्षाको १३.१% मात्र। सुदूरपश्‍चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भयो। जुम्ला, सुर्खेत, धनगढी, डडेलधुरा र दिपायलका स्टेसनले यो हिउँदमा २० देखि ४० मिलिमिटर मात्र पानी परेको रेकर्ड गरेका छन्‌। अरू कतै पनि वर्षा भएको छैन। हिउँदे वर्षाले चिस्यान नगराउदा आगलागीको खतरा बढ्ने छ भने वनजङ्गलको पुनरुत्पादनमा पनि गम्भीर असर पर्नेछ। समग्र पारीस्थितिक प्रणाली प्रभाभित हुनेछ। बर्सेनि लाग्‍ने डढेलाेले कार्वन उत्सर्जन थप गर्ने नै भयो।

जलवायु परिवर्तनका कारण विश्वभरि जाडोयाममा वायुमण्डलको तापमान बढिरहेको छ। तापमानको वृद्धिले जलवाष्पयुक्त पश्चिमी वायुको उत्पत्ति र बहावमा बदलाव आएको छ। जसको असरबाट हिउँदे वर्षा हराउँदै गएको तर्क आएका छन्‌। दोस्रो, दक्षिण एसियाबाटै उत्सर्जन भएको वायु प्रदुषणले पनि नेपालमा हिउँदमा पानी पार्ने पश्चिमी वायुको प्रभाव घट्दै गएको छ भन्ने धारणा पनि छन्। नेपाल माथि र छेउछाउका आकाशमा दक्षिण-पश्‍चिमबाट आएर धुम्मिएर बस्ने धुँवाधुलोयुक्त प्रदुषित हावाले पश्चिमी वायुलाई सहजरूपमा बहन दिँदैन। यस वर्ष पश्चिमी वायु तुलनात्मकरूपमा कमजोर थियो। दशैंपछि वर्षा नभएर बढेको प्रदुषण र धुम्मिएको सो प्रदुषणयुक्त वायुका कारण माघमा आएको जलवाष्पयुक्त वायु अवरोध पार गर्न कमजोर हुन गयो भन्ने मत छन्। थप वैज्ञानिक विश्लेषण आवश्यक छन्‌।

क्लाइमेट रियालिटी परियोजनाले गत नोभेम्बर १७ प्रकाशित आफ्‍नो ब्लगमा भनेको छ, ‘विश्वभर तापक्रम बढिरहेको छ। समग्रमा, हिउँदयाम तातो हुँदै गएको छ र अन्य ऋतुभन्दा हिउँद छिटो तातिरहेको छ।’

यसका असर देखिन थालेका छन्‌, हराउँदै गएको हिउँदे वर्षा एउटा सूचक हो। कम्प्युटर प्रयोग गरी विश्लेषण गरिने विभिन्न मोडलले पनि भविष्यमा नेपालमा हिउँदे वर्षा अझ कम हुँदै जाने देखाएका छन्‌।

त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान विषयका प्राध्यापक विनोद पोखरेल भन्छन्, ‘विभिन्न क्लाइमेट मोडेलले भविष्यमा नेपालमा वर्षायाममा हुने सरदर वर्षा बढ्ने र हिउँदमा घट्ने देखाउँछन्।’

मोडेलले देखाएका भन्दा विकराल स्वरूपका र अनुमान गरिएको समय भन्दा अगावै गम्भीर परिणाम आउन सक्छन्। जनजीविकाको लागि यो चिन्ता र चासोको विषय हो।

समग्रमा जलवायु परिवर्तनका प्रभाव नेपालमा खप्टिएर आउने छन्। नेपालमा उचाइअनुसार फरक प्रकृतिको हावापानी पाइन्छ, अनगिन्ति सूक्ष्‍म हावापानीका क्षेत्र छन्‌ र उत्तर-दक्षिणका नदी प्रणाली मार्फत हिमाल, पहाड र तराई क्षेत्र अन्योन्याश्रित किसिमले जोडिएका छन्‌। एउटा हावापानी क्षेत्रमा उत्पन्न हुने प्रतिकूल अवस्थाले अर्को खासगरी तल्लो तटीय क्षेत्रमा थप प्रतिकूल अवस्था सिर्जना गर्छ।

हिउँदे वर्षा नआए हामीले गर्न सकिने उपाय निकै कम छन्‌। लेख रचनाहरूमा पानीको उपभोग कम गर्ने, पुनर्प्रयोग गर्ने र जमिनमा सोसिन दिई पुनर्चक्रमा लैजान सुझाइएका छन्‌। साथै अन्य ऋतुमा परेको पानी जलाधारमा जम्मा हुनका लागि जलाधार संरक्षण गर्ने, पानीको खपत कम गर्ने, घरव्यवहारमा प्रयोग गरेको पानी आसपासमै जमिनमा सोसिन दिने आदि छन्‌।

नेसनल ताइवान युनिभर्सिटिका युवान-शुन चाङ्ग, हाओ-चे हो र लि-या हुवाङ्गले गरेको एक अध्ययनबाट शहरका सडक सञ्‍जाल (मुलसडक, साइकल तथा पैदल-यात्री सडक), बगैंचा, पार्क र घरहरूमा वर्षाको पानी जमिनमा सोस्‍ने प्रविधि अपनाउँदा शहरी क्षेत्रको बाढी उत्थानशील क्षमतामा धेरै सुधार हुने देखाएको छ। जमिनमा पानी राम्ररी सोसिए पछि यसले जलाधारलाई सुख्खा उत्थानशीन पनि बनाउँछ। तर एकइञ्च जमिन पनि बाँकि नराखी भवन खडा गरिएका शहरमा यी प्रविधि अपनाउन चुनौती हुन्छ!

विकासका नाममा मानिसले वातावरण माथि गरेको उपद्रोले ऋतुहरूको प्राकृतिक श्रृङ्खला छिन्नभिन्न पारेको छ। विगत २०० वर्ष यता मानिसले वायुमण्डलमा फ्याँकेको अत्यधिक धुँवा र हरितगृह ग्यासले वायुमण्डल दुषित, असन्तुलित भएको छ। वायुमण्डलमा हरितगृह ग्यासहरूको परिमाण प्रकृतिले थाम्‍न सक्ने भन्दा बढी भैसक्यो। मानिसका लागि हरितगृह प्रभावजन्य ग्यासको उत्सर्जन कम गर्ने र हावापानीमा सुधार आउने प्रतिक्षा गर्नु बाहेक धेरै विकल्प बाँकि छैनन्।

अब कुनै पनि देशले मैले पहिले उत्सर्जन गर्न पाइन वा मेरो पालो पुगेको छैन भन्ने अवस्था रहेन। जलवायु परिवर्तन कम गर्ने विश्वव्यापी प्रयाशको यात्रामा ग्लास्गाे र मिश्र सम्मेलनहरूले आख्यानहरू थपेका छन, अब केही महिना पछि अबुधाभी सम्मेलनले पक्कै नयाँ शब्दावलीहरू थप्नेछ। तर हराउँदै गएको हिउँदे वर्षा फर्कने हो होइन? कहिले फर्कने हो? कसलाई चासो छ र!

माघ २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्