स्याङ्जामा आगलागी हेर्न गएका वृद्धको बेहोस भएर मृत्यु

सांकेतिक तस्बिर।

पोखरा – स्याङ्जामा आगलागी हेर्न गएका वृद्धको बेहेस भएर मृत्यु भएको छ।

वालिङ नगरपालिका–१४ डाँडाखर्कमा शनिबार दिउँसो २ बजेको आसपास खरबारीमा आगो लाग्यो। ६५ वर्षीय टिकाराम कुवँरको घरनजिकै घरबारीमा आगो दनदनी दन्कियो। छिमेकीसँगै आगो लागेको स्थानतर्फ कुवँर पनि नियन्त्रणमा लिने प्रयासमा हेर्न पुगे।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाअनुसार आगो लागेको खरबारी र कुवँरको घरको दूरी १०० मिटर मात्रै थियो। घरमा आगो लाग्ने चिन्ताले कुवँर बेहोस भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।

‘आगो लागेको ठाउँमा हेर्नलाई जानु’भो। घरमा आगो लाग्ने डरले आत्तिएर फेन्ट हुनु भो’, उनले भने। आफ्नै घरतर्फ आगो लाग्ने डरले बेहोस भएपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइयो। उपचारको क्रममा दिउँसो ४ बजे कुवँरलाई मृत घोषित गरिएको छ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार कुवँरलाई आगोले पोलेको थिएन। आगलागीले घरमा क्षति भने नपुर्‍याएको उनले जानकारी दिए। स्थानीय र सुरक्षाकर्मीले दिउँसो ४ बजे आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

माघ २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्