जनयुद्ध दिवस- अपाच्य र अस्वीकार्य

फागुन १ गते अचानक चकित र आक्रोशित गराउने गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भनेर जनयुद्ध दिवस बिदासहित मनाउने घोषणा आयो। यो निर्णय अप्रत्यासित रुपमा नै आएको थियो। मौकामा चौकाका रुपमा। एउटा पार्टीसँग चुनावी गठबन्धन गरेर अर्कोसँग गठबन्धन गर्दै आएको सरकारबाट आयो यो निर्णय। आफूलाई महान् जनयुद्धको महानायक हुँ भन्ने व्यक्तिको घत र ताक हेराइबाट आयो यो निर्णय। देश अस्थीरता, द्वन्द्व र स्वार्थगत सौदाबाजीको सिकार भइरहेको अवस्थामा नेपालीहरुले नपचे पनि अलकत्रा खानुपर्ने बाध्यताका रुपमा आयो यो जनयुद्ध दिवसको निर्णय।

नेपालमा जात्राहरु धेरै छन्, आआफ्ना धर्मसंस्कृति र संस्कारमा आधारित जात्राहरु। तर जात्रा र दिवसमा फरक छ। जात्राका किसिम प्रकार शैली र चालढाल हुन्छन् र संस्कृति, मनोरञ्जन, मान्यता र स्थानीय परम्पराका आधारमा हुन्छन्। जनयुद्ध दिवस त हुँदै होइन र यसलाई जात्रा पनि भन्न सकिँदैन। जात्राको पनि मान्यता, स्वीकार्यता, तटस्थता र मौन सहमतिका चरित्र र लक्षणहरु हुन्छन्। १७ हजार मानिसको ज्यान जानुका साथै हजारौँ मानिसलाई अशक्त र अपाङ्ग बनाउँदै गरिएको हिंसात्मक द्वन्द्वलाई एउटा अल्पसमूहले जनयुद्ध भने पनि बहुमत नेपालीका लागि यो हिंसा घात र विदेशीको समेत चलखेल, उक्साहट र स्वार्थमा सिर्जना भएको द्वन्द्व हिंसा थियो। बाध्यताबस नै सम्झौता भयो।

कतिपय स्पष्ट नै थियो, कतिपय गुमराह र नेपथ्यमा। यो द्वन्द्व र हिंसाले ल्याएको परिणाम र बनाएको संविधानले के देशलाई निकास दिनसक्ने सामर्थ्य र हैसियत राख्छ? के यो प्रणाली र यस अन्तर्गतका अवयवहरु राष्ट्रहित, शान्ति र समृद्धिका लागि पर्याय र सामर्थ्य राख्नेखालका छन्? देशले संघीयता र यो मोडेलको समावेशिता पचाउला? धर्मनिरपेक्षताको नाममा भइरहेको इसाईकरण नेपाल र नेपालीको पहिचान गुमाउने खेलको मैदान बनेको छैन? राजतन्त्र र गणतन्त्रबारे पनि विवाद छन् र साम्य हुने अवस्था छैन।

एउटा सानो समूहको राजनीतिक ध्येय र स्वार्थ प्राप्तिको हिंसात्मक द्वद्वलाई राष्ट्रिय रुपमा स्वीकारी दिवसका रुपमा सरकारी बिदासमेत दिएर मनाउने योजना नेपाल र नेपालीका लागि ग्राह्य, पाच्य र स्वीकार्य कदापि हुनसक्दैन।

आज जनयुद्ध दिवस घोषणा भएपछि धेरै नेपालीहरुमा एउटा अचम्म आश्चर्य र आक्रोश पनि देखिन्छ। केही नगण्य मानिसहरुले यसको समर्थन गर्लान् र गरे होलान् तर बहुमत जनताको के दृष्टिकोण रह्यो त? यसलाई कालो दिन, हत्याको दिन भनिरहेका छन् धेरैजसोले। यो प्रसंग निकै गम्भीर छ। नेपालमा गणतन्त्र दिवस भनेर त मनाएकै छन्। यो अचानक कताबाट आयो जनयुद्ध दिवस? भोलि झापाको सुखानी काण्ड दिवस आउला, धनकुटाको खोकु छिन्ताङ, टिकापुर दिवस अनि तराईका फोरम दिवस आदि इत्यादि आउलान्। यी र यस्ता क्रियाकलाप राष्ट्रिय मान्यता, गौरव र सर्वस्वीकार्य र विदेशी नजरमा पनि पाच्य कुरा हुनसक्लान्? ठीक छ, आज देश अस्थीर र कमजोर भएको अवस्थामा सरकार प्रमुखमा रहेका व्यक्तिले आफ्नो मनचाहि लादे तर यो कुरा नेपाल र नेपालीका लागि स्वीकार्य, पाच्य र गाह्य छ ?

सरकारमा बसेर राजनीतिक दल र सरकार बाहिरका दलहरुको पनि आधिकारिक धारणा भनाइ र अडानसमेत आउनुपर्छ। मुख्य रुपमा यो प्रश्न एमाले, कांग्रेस र राप्रपामा पनि तेर्सिन्छ। जनताले देखे, सुने, बुझे पनि। राष्ट्रपतिको चुनाव आउँदै छ र माओवादी वा प्रधानमन्त्री प्रचण्ड रिसाउलान् भनेर तैँ चुप मै चुपको अवस्था तथा सत्ता गठबन्धनका स्वार्थका अवस्था झनै घातक छन्। राजावादी, हिन्दुवादी र संविधानको कट्टरबिरोधी राप्रपाको भनाइ के? भनाइ नै आए पनि भनाइ र गराइमा के कति अन्तर देखिँदै छ र देखिएला?

रास्वपा के भन्छ? यो विषय निकै गम्भीर छ। नेपाली जनता र देशका सुरक्षा निकायहरुको दिलमा के असर परिरहेको हुन्छ? पुराना द्वन्द्व र हिंसात्मक अपराधहरुको छिनोफानो भइरहेको अवस्था छ? एउटा सानो समूहको राजनीतिक ध्येय र स्वार्थ प्राप्तिको हिंसात्मक द्वद्वलाई राष्ट्रिय रुपमा स्वीकारी दिवसका रुपमा सरकारी बिदासमेत दिएर मनाउने योजना नेपाल र नेपालीका लागि ग्राह्य, पाच्य र स्वीकार्य कदापि हुनसक्दैन। यस्ता प्रकारका निर्णयहरुले राष्ट्रियता, राष्ट्रिय एकता र शान्ति तथा समृद्धिको यात्रामा नकारात्मक असर पार्नेछ। एउटा प्रश्न उठ्ला- पृथ्वी दिवसमा पनि बिदा भयो, दिवस मनाइयो भनेर। नेपालीहरुले छातीमा हात राखेर सोच्नुपर्छ के नेपालको एकीकरण र माओवादी हिंसात्मक द्वन्द्व सबै एउटै श्रेणीका विषय र घटना हुन्? झुठ नबोलौँ, असतमा नलागौँ। इतिहास र राष्ट्रिय गौरव र मान्यतालाई अपमान नगरौँ। माओवादी पार्टी आफूले जनयुद्ध दिवस मनाउनु ठीकै होला तर राष्ट्रिय रुपमा यो दिवस मनाउने विषय स्वीकार्य र पाच्य छैन।

फाल्गुन २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्