प्रेमको मनोविज्ञान र प्रणय दिवस

दुई आत्माको मिलन- प्रेम हो। जीवन र जगतलाई गहिराइबाट बोध गर्ने साधना प्रेम हो। प्रेमप्रतिको हेराइ, बुझाइ र अनुकरण समाज अनुसार फरक-फरक हुन सक्छ। सेन्ट भ्यालेन्टाइनलाई प्रेमको प्रतीक मान्दै युवायुवतीदेखि बूढाबूढीसम्मले यस दिवसप्रति विशेष चासो र सरोकार राख्ने गरेका छन्।
क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई विशेष मायाको पर्वको रूपमा मनाउने गरेको भए पनि बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको छ।
शाश्वत् प्रेमको कारण मानवता जीवित रहने विश्वास गरिन्छ। विश्वभरका प्रेम गर्ने जोडीहरूका लागि फ्रेबुअरी १४ प्रणय दिवस (भ्यालेन्टाइन्स डे) सबैको साझा पर्वजस्तै बन्दै आएको छ।
नेपालमा यो दिवस मनाउन थालिएको एक दशकमात्रै भए पनि नेपाली समाजमा यसको गहिरो प्रभाव गाउँ-सहर, होटल-रेष्टुराँ, पार्क-बगैँचा, नदी, पुल, सपिङ सेन्टरलगायत सबै स्थानमा देख्न सकिन्छ।
प्रेम दिवसको सुरुवातसम्बन्धी मान्यताको सन्दर्भ हजारौँ वर्षअघि रोमका राजा क्लाउडियस सैनिकहरू विवाह बन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राख्ने भएकाले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरून भन्ने उर्दी जारी गरेका थिए।
राजाको आदेशविरुद्व भ्यालेन्टाइन नामका पादरीले धेरैको विवाह गराएका थिए। आफ्नो आदेशको विरुद्धमा सैनिकहरूको विवाह गराएको भन्दै १४ फ्रेबुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा प्रेम दिवस मनाउन थालिएको हो।
प्रेम एउटा सुन्दर अनुभूति हो जसलाई व्याख्या गर्न सजिलो छैन। यो अमूर्त भावना, मनोविज्ञान र आत्मीयताको एकीकृत भाव हो। प्रेम शक्तिशाली ऊर्जा हो। जब हामी अर्को व्यक्तिलाई भेट्छौँ तब उत्साहित हुन्छौँ। तुरुन्तै हाम्रो मुटुको गतिले सचेतना सिर्जना गर्दछ। मष्तिस्क गतिशील हुन्छ। किनकि प्रेम हृदयबाट जागृत हुन्छ। प्रेममा कहिल्यै बन्धन, आशक्ति, स्वार्थ र सम्झौता हुँदैन हुन्छ त केवल स्वतन्त्रता, त्याग, मुक्ति र समर्पण।
प्रेमको सैद्धान्तिक विश्लेषण
मनोवैज्ञानिक जिक रुबिनका अनुसार रोमान्टिक प्रेम तीन तत्व संलग्नता, स्याहार र घनिष्ठताको मिश्रण हो। रुबिन व्यक्तिले आफ्नो जीवनका अनेक अवस्थामा धेरै व्यक्तिबाट कदर तथा प्रशंसा प्राप्त गर्छ साथै व्यक्तिसित राम्रो लगाव हुन्छ र ऊ तिनीहरूसित समय बिताउन र उनीहरूका बीच रहन रुचाउने बताउँछन्। उनका अनुसार यो मन पर्नु हो त्यसलाई माया-प्रेमको संज्ञा दिनु उचित होइन। प्रेम मन पर्नुभन्दा फरक अझ बढी गाढा, तीव्र एवं प्रगाढ हुनुका साथै शारीरिक घनिष्ठताको दृढ इच्छा तथा साथ, सहयोग एवं सामीप्यता हुन्छ ।
मनोवैज्ञानिक एलेन ह्याटफिल्डले प्रेमलाई कम्प्यासनेट र प्यासनेट लभमा वर्गीकरण गरेका छन्। कम्प्यासनेट लभलाई पारस्परिक सम्मान, संलग्नता, स्नेह तथा विश्वासले चित्रण गर्छ। यसले व्यक्तिमा आपसी समझदारी र सम्मानको भाव वृद्धि गर्दै त्यसलाई व्यावहारिक बनाउँछ। अर्कातिर प्यासनेट लभले तीव्र भाव, यौन आकर्षण, चिन्ता एवं स्नेहलाई चित्रण गर्छ। उनका अनुसार प्यासनेट लभ अस्थायी स्वभावको हुन्छ जुन बढीमा ६ देखि ३० महिनासम्म रहन सक्छ। प्यासनेट लभ कम्प्यासनेट लभमा परिणत हुने सम्भावना पनि उत्तिकै हुन्छ।
मनोवैज्ञानिक जोन लीले ‘द कलर ह्विल मोडल अफ लभ सन’ १९७३ मा प्रकाशित गरेको ‘द कलर्स अफ लभ’ मा प्रेमका विभिन्न स्टायललाई कलर ह्विलसित तुलना गरेको पाइन्छ। जसरी कलर ह्विलमा तीनवटा प्राइमरी कलर हुन्छन्, लीले पनि प्रेममा तीनवटा प्राइमरी स्टाइल हुने कुरा औंल्याएका छन्। ती हुने- इरोज, लुडोज तथा स्टोर्ज । इरोज ग्रिक शब्द हो यो, जसको अर्थ प्यासनेट वा इरोटिक हुन्छ, यस्तो प्रेममा शारीरिक एवं भावनात्मक प्यासन दुवै संलग्न हुन्छ। लुडोज यो पनि ग्रिक शब्दावली हो, जसको अर्थ खेल हुन्छ। यस प्रकारको प्रेमलाई चन्चल र रमाइलोका रूपमा ग्रहण गर्ने गरिएको छ जसमा गम्भीरता आवश्यता हुँदैन। यस प्रकारको माया प्रदर्शन गर्नेहरू प्रतिबद्धतामा बाँधिन वा बढी घनिष्ठता प्रदर्शन गर्न रुचाउँदैनन्। स्टोर्ज यो ग्रिक शब्दावलीको अर्थ प्राकृतिक वा स्वाभाविक स्नेह हुन्छ, यस प्रकारको प्रेम आमाबुबा र तिनका सन्तान, दाजुभाइ एवं दिदीबहिनीबीचको सम्बन्ध तथा परिवारजनबीच रहन्छ।
मनोवैज्ञानिक रबर्ट स्टर्नबर्गद्वारा लिखित प्रेमको त्रिकोणीय सिद्धान्त अनुसार प्रेमका तीनवटा आयाम: आत्मीयता, जोश र प्रतिबद्धता हुन्। आत्मीयता भनेको पार्टनरबीच रहेको सामीप्यता र भावना हो। जोशकाे अर्थ पार्टनरलाई उत्साह र यौन आकर्षणप्रति भावना जागृत गराउनु हो। प्रतिबद्धता भनेको प्रेममा दिगोपना कायम राख्न प्रस्तुत गरिने भावनात्मक एकता हो।
वस्तुतः प्रेम गर्नेहरूले पाँचवटा आधारभूत कुराहरूलाई सधैँ शिरोधार्य गर्नु पर्दछ। यसअन्तर्गत म प्रेममा बाँधिदा आफ्नो प्रेमीलाई के दिन सक्छु, उसको उपयुक्त ख्याल गर्न सक्छु, प्रेम/प्रेमिका प्रतिको जिम्मेवारी वहन गर्न सक्छु, प्रेमप्रतिको सम्मान कायम गर्न सक्छु र आपसमा गहिरो बुझाइका लागि ज्ञान आर्जन गर्न सक्छु भन्ने कुराहरू पर्दछन्। यिनै पाँच तथ्यगत यर्थाथहरूको पालना गर्न सकेमा मात्र प्रेम सम्बन्धलाई थप कसिलो, दीगो र विश्वासिलो बनाउन सकिन्छ अनि मात्र प्रेमको अभिष्ट पूरा भएको मानिन्छ।
प्रेममा हर्मानको भूमिका
मस्तिष्कबाट स्राव हुने अक्सिटोसिनलाई ‘लभ हर्मोन’ पनि भनिन्छ। खासगरी आँखा जुधाउँदा, चुम्बन गर्दा, अंकमाल गर्दा यस्तो हर्मोन वृद्धि हुने बताइन्छ। यो हर्मोन पुरुषको तुलनामा महिलामा बढी हुन्छ। आँखाबाट आकर्षण सुरु हुँदै त्यो मन र मस्तिष्कसम्म पुग्छ। एक अध्ययनअनुसार युवा युवतीबीच आपसी लगाव बढ्नुमा अक्सिटोसिनको भूमिका हुन्छ। यसले प्रेमभाव मात्र नभई वास्ना पनि बढाउने उल्लेख थियो।
‘डिपोमाइन, नोरएपिनेफ्रिन र सेरोटोनिन जस्ता हर्मोनले एकअर्काप्रति आकर्षण जगाउँछ। जब कोही व्यक्ति मन पर्न थाल्छ, त्यसमा तीनवटा हर्मोनले खास भूमिका हुन्छ। नोरएपिनेफ्रीनले उक्त व्यक्तितर्फ ध्यान केन्द्रित गराइदिन्छ भने सेरोटोनिनले उक्त व्यक्ति देख्नासाथ उत्सुकता र लगाव बढाइदिन्छ एवं डोपामाइनले उक्त व्यक्तिसँग कुरा गर्दा माया, स्नेह जगाउँछ।
प्रेमबाट स्वास्थ्यमा आउने सकारात्मक उपलब्धीहरू
विभिन्न मनोवैज्ञानिक अध्ययन अनुसन्धानहरूको निष्कर्षअनुसार सच्चा र इमान्दारी पूर्वक गरिने प्रेमले जीवनमा थुप्रै सकारात्मक उपलब्धीहरू प्राप्त गर्न सकिन्छ। जस्तै उदासीनता र लागुऔषध दुर्व्यसनीमा कमी, न्युन रक्तचाप, न्यून चिन्ता, प्राकृतिक रूपमा हुने पीडामा कमी, कुशल तनाव व्यवस्थापन, उच्च जीवन प्रत्याशा, शारीरिक र मानसिक स्वास्थमा सुधार, आत्मविश्वासमा वृद्धि, मिठो निद्रा, असल जीवनको आधार, सन्तुष्ट यौन जीवन, शालिन र सभ्य संस्कृतिको अभ्यासजस्ता उपलब्धीहरू प्राप्त गर्न सकिन्छ।