भ्यालेन्टाइन्स डेकाे अवसरमा सुवास खतिवडालाई ७ प्रश्न

भ्यालेन्टाइन्स डे हरेक अङ्ग्रेजी वर्षको फेब्रुअरी १४ मा मनाइन्छ। प्रेमी/प्रेमिकाले आफ्नो प्रेमको बन्धनलाई झनै खास बनाउने आजकाे दिनलाई प्रणय दिवस, प्रेम दिवस पनि भनेकाे पाइन्छ।

‘भ्यालेन्टाइन डे’ फेब्रुअरी १४ मा परे पनि यसलाई सप्ताहव्यापी रूपमा मना‍इन्छ। फेब्रुअरी ७ बाट सुरु हुने यस सप्ताहमा क्रमश: रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे र अन्तमा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ मनाइन्छ।

भ्यालेन्टाइन्स डेकाे अवसरमा युनाइटेड सिमेन्टका मार्केटिङ हेड सुवास खतिवडासँग गरेकाे कुराकानीकाे सम्पादित अंश:

१) आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’काे दिन कस्ताे महसुस गर्नुभएकाे छ?

मेरो लागि खासै कुनै फरक छैन। उही सामाजिक संजालका हर्कतले मात्र केही फरक अनुभव हुन्छ। म र मेरो परिवारको लागि यो एउटा साधारण दिन मात्र हो। हाम्रो लागि हरेक दिन प्रणय दिवस सरह हुन्छ।

२) भ्यालेन्टाइन डे कसरी र किन मनाउनु हुन्छ?

मैले भ्यालेन्टाइन डे त्यस्तो भव्यताको साथ अहिलेसम्म मनाएको छैन।

३) विवाहअघि प्रेममा हुँदा र विवाहपछि मनाइने भ्यालेन्टाइन डेमा के कति अन्तर हुन्छ?

यो अलि अप्ठ्याराे प्रश्न हो। विवाहअघि भ्यालेन्टाइन डे मनाउने खाले प्रेम खासै भएन। विवाहअघि कुनै केटीलाई प्रपोज गर्ने बहाना मात्र हुन्थ्यो यो दिन तर त्यो पनि कहिले आँट आएन। विवाह पछिको प्रेम सार्है सुन्दर हुँदो रहेछ। साना-साना कुराले पनि खुसी प्रदान गर्छ। भ्यालेन्टाइन डे कुर्न पर्ने जरुरत नै परेन।

४) के भ्यालेन्टाइन डे विवाहितभन्दा अविवाहित जोडीलाई मात्रै महत्त्वपूर्ण हो?

एक हिसाबले प्रणय दिवस त सबैको लागि हो। अविवाहित जोडीलाई केही हदसम्म यो एउटा विशेष दिन हुन सक्छ।

५) प्रेम दर्शाउन अथवा प्रेम गर्न भ्यालेन्टाइन डे नै आउने हो र? के प्रेम यति सस्तो भइसक्यो कि प्रेम गर्न र गराउन पनि दिवस आउनुपर्ने?

प्रेम दर्शाउने कुरा नै होइन, प्रेम हृदयमा हुने कुरा हो। प्रेम हृदयले महसुस गर्ने कुरा हो। यदि हरेक दिन आफ्नो प्रेमी-प्रेमीकालाई यति धेरै माया गर्छु भन्दै प्रेम दर्शाइरहनुपर्छ भने त्यहाँ प्रेमको कमी छ भन्ने कुरा बुझ्नुपर्छ। सुख दुखमा एक अर्काको खयाल राख्नु, सानाे-सानाे कुरामा पनि खुसी हुन सक्नु, दुवैजना सँगै बसेर बिना कुनै कारण पनि खुलेर हाँस्न सक्नु अथवा भौतिक रूपमा एक अर्कासँग टाढा भएता पनि केही पल फोनमै सुखदुखका कुरा गर्नु अथवा त्यो पनि सम्भव छैन भने उनकै यादमा केही पल ताराहरू हेर्दै पुराना खुसीका पलहरूको कल्पनामा मुसुक्क हास्नु, यति नै त हो प्रेम। यति गर्नलाई कुनै भ्यालेन्टाइन डे नै कुर्नु पर्छ र?

६) कोही भ्यालेन्टाइन डेलाई आयातित वा नक्कलमात्रै भन्छन्, हाम्रो आफ्नै मौलिक भ्यालेन्टाइन डे छैन वा मनाउन सकिन्न?

म देखासिकी भन्छु! र यो आयातित देखासिकीले हाम्रो समाजलाई धेरै नै गाँजिसकेको छ। प्रेमको लागि कुनै दिवसको जरुरत हुँदैन।

७) अन्तमा, तपाईंको आजको विशेष तयारी के छ?

मेरो त्यस्तो विशेष तयारी केही पनि छैन। सधैँझैँ मेरी श्रीमतीले मिठो खान बनाउँछिन, म मिठो मानेर खान्छु, अनि म, मेरी श्रीमती, मेरा बच्चाहरू हामीसँगै बसेर सिनेमा हेर्ने विचार गरेका छाैँ।

 

फाल्गुन २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्