बेवारिसे बनेको अक्सिजन प्लान्ट

१. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधीन इर्मेजेन्सी भवनमा त्रिपालले छोपेर राखिएको अक्सिजन प्लान्टका उपकरणहरू। तस्बिरः विनोद ढुंगाना/देश सञ्चार

पाेखरा- कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पोखरामा अक्सिजनको हाहाकार नै मच्चियो। २०७८ जेठको दोस्रो साता अक्सिजन अभावकै कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ८ जना कोरोना संक्रमितले एकै रातमा ज्यान गुमाए। संक्रमितको आफन्तले अक्सिजनको जोहो गर्नलाई युद्ध नै जित्नुपर्थ्याे।

अक्सिजनको हाहाकार मच्चिएको बेला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा प्लान्ट निर्माण गर्ने उद्देश्यले बतास फाउन्डेसनले एउटा अभियान सुरु गर्‍याे। अभियानलाई ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाम दिइयाे।

बतास फाउन्डेसनले ‘एक थुकी सुकी, हजार थुकी नदी’ नाराका साथ सुरु गरेको अभियानमा कर्पोरेट हाउसदेखि देश/विदेशमा रहेका नेपालीबाट ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भयो। अक्सिजनको हाहाकार मच्चिएको बेला ज्यान जोगाउने उद्देश्यले संकलित रकमले त्यति नै बेला अक्सिजन प्लान्ट स्थापना हुन सकेन। तेस्रो लहरमा पनि दाताबाट उठाइएको रकमबाट अक्सिजन प्लान्ट खुलेन।

अक्सिजन प्लान्ट निर्माणमा ढिलाइका कारण सहयोगदाताले नै चर्को आलोचनासहित प्रश्न उठाउन थालेपछि जेठमा फाउन्डेसनले स्पष्टीकरण दिँदै भन्यो, ‘कार्गो कम्पनी र आयतकर्ताबीचको असमझदारीको कारण प्लान्ट ल्याउन ढिलाइ भयो।’

कोरोना महामारीको त्रासदी सकिएपछि बतास फाउन्डेसनले मंसिर २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तानतरण गरेको छ। फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार दैनिक १५० सिलिन्डर उत्पादन क्षमताको अक्सिजन अस्पताललाई हस्तानतरण गरिएको हो। ‘आवश्यक पूर्वाधार निर्माण भएपछि उक्त प्लान्ट जडान गरिनेछ’, विज्ञप्तिमा भनिएको छ। तीनवटा प्लान्ट र एउटा फिलर सिस्टम बतासले अस्पताललाई दिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधीन इर्मेजेन्सी भवन। तस्बिरः विनोद ढुंगाना/देश सञ्चार

महामारीमा चन्दा संकलन गरेर किनिएको अक्सिजन प्लान्ट ‘लगनपछि पोते’ त भएको छ नै। बतासले अस्पताललाई हस्तान्तरण गरेको साढे २ महिनासम्ममा पनि प्लान्ट र फिलर अस्पताल परिसरमा बेवारिसे अवस्थामा छन्। प्लान्ट र फिलर अस्पतालको निर्माणाधीन इर्मेजेन्सी भवनमा थन्काइएको छ। निर्माणाधीन खुला भवनमा बिना सुरक्षा अक्सिजन प्लान्टलाई त्रिपालले छोपेर राखिएको छ।

अस्पतालका सूचना अधिकारी सुमन भट्टराई अक्सिजन जडानकै चरणमा रहेको बताउँछन्। ‘हामीलाई यहाँ हस्तान्तरण भएको धेरै पनि भएको छैन, भर्खर भर्खरै नै हो,’ उनले भने,  ‘त्यसको इन्स्टल हामीहरूले उनीहरूलाई नै गरिदेऊ भनेका छौँ। त्यो इन्स्टलकाे चरणमै छ।’ अस्पताललाई तत्काल थप अक्सिजन प्लान्ट आवश्यक नरहेको सूचना अधिकारी भट्टराई बताउँछन्।

१. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधीन इर्मेजेन्सी भवनमा त्रिपालले छोपेर राखिएको अक्सिजन प्लान्टका उपकरणहरू। तस्बिरः विनोद ढुंगाना/देश सञ्चार

अस्पतालमा यस अगाडि नै तीनवटा प्लान्ट जडान भइसकेको छ। अस्पतालमा कोरोना महामारीकै बेला प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले दैनिक २ सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट दिएको थियो। योसहित स्वास्थ्य मन्त्रालय र अस्पतालको भवन पुनर्निर्माण गर्ने सम्झौताअनुसार जडान भएको अक्सिजन प्लान्टबाट दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ।

बतासले दिएको अक्सिजन प्लान्ट अस्पताललाई आवश्यक नै नभएको अस्पताल निर्देशक डा. भरत खत्री बताउँछन्। यो प्लान्ट जडान भए पनि अस्पताललाई आर्थिक भार मात्रै थपिने उनको भनाइ छ।

निर्माणाधीन भवनमा बिना सुरक्षा किन अक्सिजन प्लान्ट राखिएको प्रश्नमा डा. भरत भन्छन्,  ‘उहाँहरू (बतास फाउन्डेसन)लाई हामीले राख्न दिएको हो। इन्स्टल गर्नू भनेर हामीले भनिसकेका छौँ। इन्स्टल गर्दिनुभाछैन। खास यो काम पनि छैन त्यति छन् त। त्यो हामीलाई आवश्यकभन्दा बढी नै हो।’

निर्देशक खत्रीका अनुसार ठाउँ दिन्छौँ तपाईंहरूले इन्स्टल गरेर हस्तान्तरण गर्नूस् भनेर त्यहाँ राख्न मात्रै दिइएको हो। उनले यहाँ आवश्यक नभएको अन्तै दिनूस् भनेर बतास फाउन्डेसनलाई पटकपटक अनुरोध गरेको बताउँछन्। ‘यो हामीलाई आवश्यकता छैन अहिले। सुरुमा भएको भए आवश्यकता थियो,’ डा खत्रीले भने, ‘हामीले ठाउँ मात्रै दिने हो। अरू गर्ने काम उहाँहरूकै हो।’

अस्पतालले बारम्बार थप अक्सिजन प्लान्ट आवश्यक नरहेको बताइरहे पनि बतास फाउन्डेसनले भने आफूहरुलाई जानकारी नदिएको स्पष्टिकरण दिएको छ । फाउन्डेसनका प्रवक्ता नारायणप्रसाद पौडेल भन्छन्, ‘अस्पतालमा लगेर बुझा’को हो चिठ्ठीसहित । सञ्चालनमा ल्याउनुस् भनेको हो । त्यसपछि उहाँहरुले हामीलाई केही भन्नुभएको छैन ।’

फाउन्डेसनका पौडेल अस्पताललाई आवश्यक नभएको भए बुझ्नै नहुने तर्क राख्छन्। ‘किन फ्याँकाफ्याँक गर्नुपर्‍याे र त्यत्राे पैसा हालेर ल्याको कुरा ?’, उनको प्रश्न छ।

अस्पताललाई आवश्यक नभए कुनै अर्को सरकारी अस्पताललाई दिएर सदुपयोग गर्नुपर्ने पौडेलको सुझाव छ। ‘उहाँहरूलाई नचाहिने हो भने अर्को कुनै ठाउँमा हस्तान्तरण गर्नुपर्छ। आवश्यक कसलाई छ त्यो पनि एकचोटि हामीहरू  नै बसेर सल्लाह गर्नुपर्ला’, उनले भने। अस्पताललाई हस्तान्तरण गरेकाले प्रयोगमा ल्याउनुपर्ने माग बतास फाउन्डेसनको छ।

संघ सरकार र प्रदेश सरकारको लगानीमा गण्डकी प्रदेशको मनाङ मुस्ताङबाहेक ९ वटै जिल्लामा अक्सिजन प्लान्ट जडान भएका छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाहेक बाग्लुङ, लमजुङ र नवलपुरमा मात्रै अक्सिजन प्लान्ट नियमित सञ्चालन भइरहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठले जानकारी दिए।

‘कोभिडको बेलामा सबै प्लान्टहरू सञ्चालन भए। अहिले नियमित सञ्चालनमा धेरै प्लान्ट छैनन्’, उनले भने, ‘सञ्चालन खर्च नै महंगो पर्ने रहेछ। प्लान्ट सञ्चालन गरेपछि बिजुलीको मात्रै मासिक ४/५ लाख रुपैयाँ आउँछ।’

 

 

फाल्गुन ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्