कृषि मन्त्रालयले तयार गरेको अधिकांश डिपिआर सिभिल वर्कको कपी पेस्ट हो: मन्त्री कुशवाहा

जनकपुरधाम – मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर अधुरो रहेको बताएका छन्।

शुक्रबार मन्त्रालयमा आफू आएपछि गरेको एक महिनाको गतिविधिलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालयबाट तयार गरिएको अधिकांश डिपिआर सिभिल वर्कको कपि पेस्ट रहेको आरोप लगाएका हुन्।

उनले मन्त्रालयबाट तयार गरिएको डिपिआर टेक्निकली रुपमा डिपिआर नै नरहेको भन्दै उनले भने,‘मपनि एउटा इन्जिनियर छु, मपनि यसलाई अध्ययन गर्दैछु‍। डिपिआर भनेको त्यो प्रोजेक्टले कस्तो फाइदा दिन्छ, त्यो प्रोजेक्टको पुरा लेआउट हुनुपर्यो, सिभिल वर्क, पलम्बिङ्ग वर्क, डिटेल डिजाईन लगायतको थुप्रै कुरा चाहिन्छ तर यो एउटा कपी पेस्ट मात्र हो।’

मन्त्री कुशवाहाले मन्त्रालयबाट अधिकांश योजना अधुरो डिपिआरकै भरमा सञ्चालनमा रहेको समेत बताए। उनले त्यसता प्रोजेक्टलाई नरोक्ने तर त्यसलाई पुनः अध्ययन गरेर कसरी सही गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताए।

यस्तै, उनले रेडबुकमा समेत वितरणमुखी योजनाहरु रहेको बताए। उनले कृषि सडकका लागि १५/१५ लाख रुपैयाँ छुट्टयाइएको तर त्यो कस्तो हुने, कति क्षेत्रफलमा हुने त्यो उल्लेख नै नरहेको बताए।

साथै उनले मधेस प्रदेशमा कृषकका लागि कम्तिमा ३ लाख मेट्रिक टन मलखाद्यको आवश्यकता रहेकोमा १ लाख मेट्रिक टन पाउने गरेकोमा अब यस आर्थिक वर्षदेखि अढाईलाख मेट्रिक टन पाउने बताए।

फाल्गुन १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्