‘चियाखेती र श्रमिकको विषयमा सरकार गम्भीर हुनुपर्छ’

मोरङ – चियाखेती र श्रमिकको विषयमा सरकार गम्भीर हुनुपर्ने प्रदेश १ का सांसद समशेर राईले बताएका छन्।

मुलुकमा १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको बताएका कांग्रेस प्रदेश सभा सदस्य राईले शुक्रबार प्रदेशसभा बैठकको विशेष समयमा अहिलेको महँगीमा चिया क्षेत्रमा कार्यरत श्रमिकलाई समस्या परेको बताए।

मुलुकभर १ सय ४६ वटामध्ये सरकारको स्वामित्वमा १६ वटा चिया बगान रहेको भन्दै प्रदेश सांसद राईले मुलुकभर १४ हजार ३९ जना कृषक चियाखेतीमा सक्रिय रहेको उल्लेख गरे।

चियाबाट २०७७/७८ मा ३ अर्बभन्दा बढी रकम मुलुक भित्रिएको बताएका उनले चिया क्षेत्रको उत्पादन, प्रशोधन र बजारीकरणमा समस्या रहेको बताए।

चिया क्षेत्रमा ठूलो संख्यामा श्रमिक आश्रित रहे पनि उनीहरूले अत्यन्त न्यून ज्यालामा काम गर्नुपरिरहेको प्रदेश सांसद राईले गुनासो गरे। २३ वर्षअघि सरकारले भारतलाई विभिन्न ७ वटा चियाबगान लिजमा दिएर सुतेको आरोप लगाए।

उनले भने, ‘सन् २००० मा भारतको विभिन्न कम्पनीलाई ७ वटा चियाबगान लिजमा दिएको छ। तर, अहिले ती बगानको अवस्था र त्यहाँ कार्यरत श्रमिकको अवस्थाबारे सरकार उदासीन छ। सरकारले सम्झौता भएअनुसार ती बगानमा कार्यान्वयन भए/नभएको हेर्न सकेको छैन। सरकार, प्रदेश सरकारले अनुगमन गर्नुपर्ने थियो, हेर्नुपर्ने थियो तर विडम्बना त्यो हुन सकेको छैन।’

छिमेकी राष्ट्रका चियाबगानमा कार्यरत श्रमिकको जीवनयापनलाई हेरेर हामी लोभिनुपर्ने अवस्था रहेको उनले बताए।

उनले चिया क्षेत्रमा यावत् समस्या रहे पनि त्यसको समाधान र निराकरणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारले चासो देखाउनुपर्नेमा जोड दिए।

फाल्गुन १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्