जनकपुरधाममा जलाउन लागिएको शव प्रहरीले लियो नियन्त्रणमा

सांकेतिक तस्बिर ।

जनकपुरधाम– जनकपुरधाममा जलाउन लागिएको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट महिलाको शव जलाउन ठिक्क पारिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

जनकपुरधाम उपमहानगरपालिका ४ की ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। श्रीमान्‌ले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको प्रहरीमा उजुरी दिएपछि प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले घाटमा जलाउन लगेको महिलाको शव नियन्त्रणमा लिएको जानकारी दिए।
श्रीमान् शेखर बहादुर कार्कीले कुटपिट गरेर महिलालाई मारेको उजुरीका आधारमा प्रहरीले घटनाको जाँचबुझका लागि शव नियन्त्रणमा लिएको उनले बताए। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान जनकपुरधाम ४ बस्ने ४५ वर्षीय शेखर कार्की र २० वर्षीय सागर साहलाई पक्राउ गरेको छ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।

फाल्गुन १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्