सामाजिक सञ्जालमा भाइरल हुने लोभले बालबालिकालाई मनोरञ्जनको साधन बनायो

बालबालिकालाई इन्टरनेटबाट बचाउन अभिभावकले समय बढी दिनुपर्छ

मनोविद् गोपाल ढकाल।

आजको समयमा युट्युब सबै उमेर समूहमाझ लोकप्रिय साइट हो, जहाँ सबै किसिमका भिडियो हेर्न पाइन्छ। साथै, प्रयोगकर्तालाई छोटो भिडियो हेर्न र सेयर गर्ने सुविधा हुने टिकटक पनि एक लोकप्रिय साइट हो, जहाँ सबैभन्दा बढी महिला तथा बालिबालिका भुल्छन्। बेलायतको सञ्चारनियामक अफकमको एक अनुसन्धान प्रतिवेदनले बालबालिका सामाजिक सञ्जाल अत्यन्त उत्सुक प्रयोगकर्ता भएको पुनः पुष्टि गरेको छ।

गत वर्ष बेलायतमा तीनदेखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशत बालबालिकाले इन्टरनेटको प्रयोग गरेका थिए। विश्वका ८९ प्रतिशत बालबालिका युट्यूब हेर्छन् र ५० प्रतिशत बालबालिका टिकटक हेर्छन्।

अधिकांश सामाजिक सञ्जालमा प्रयोगकर्ता १३ वा सोभन्दा माथिल्लो उमेरको हुनुपर्ने व्यवस्था छ। तर, अफकमको रिपोर्टले १३ वर्षमुनिका अधिकांश बालबालिकाको कम्तीमा एउटा सामाजिक सञ्जालमा प्रोफाइल बनाएको फेला पारेको छ। पाँचदेखि सात वर्षका बालबालिकाका एकतिहाइ अभिभावकले आफ्नो बालबालिकाको सामाजिक सञ्जालमा प्रोफाइल भएको बताएका छन्। यसमा ६० प्रतिशत आठदेखि ११ वर्षका बालबालिका छन्।

बच्चाले खाना खाएन मोबाइल दिन्छौं। भुलाउनु पर्‍याे मोबाइल दिन्छौं । घरमा छोडेर जानुपर्‍याे मोबाइल दिन्छौं । हाँसिदेऊ न भन्दै मोबाइल दिन्छौं। रोयो कि मोबाइलमा भिडियो लगाइदिन्छौं। मोबाइल र सामाजिक सञ्जाल त बच्चालाई भुलाउने साधन पो भो। साेसल मिडिया त बालबालिकालाई फकाउने अस्त्र बनाइयो।

अफकमको रिपोर्टअनुसार तीन र चार वर्षका करिब १६ प्रतिशत बालबालिकाले टिकटकमा भिडियो हेर्ने गरेको पाइएको छ। यी बालबालिकाका आफ्नै एकाउन्ट छन् भन्ने होइन, अर्थात् यिनलाई अभिभावक वा अन्य कोहीले भिडियो देखाएका हुन सक्छन्। जे भए पनि यी बालबालिका सानै उमेरमा सामाजिक सञ्जालबाट अछुतो छैनन्। यी निष्कर्षलाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगले विभिन्न उमेर समूहका बालबालिकालाई कसरी प्रभाव पार्न सक्छ र त्यसबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मनोविद् गोपाल ढकालसँग देश सञ्चारका लागि राज सरगमले संवाद गरेका छन्।

आजका बालबालिकालाई युट्युब तथा टिकटकको लत बस्दै गएको हो ?

बालबालिका सामाजिक सञ्जालमा चुर्लुम्म डुबेका छन्। जसरी बनमाराले वनलाई जेल्दैजेल्दै लाने गर्छ त्यसैगरी सामाजिक सञ्जालले बालबालिकालाई जेल्दैजेल्दै लगेको छ। सोसल मिडियाले बालबालिकाको हुर्काइको क्रममा शारीरिक तथा मानसिक विकासमा गहिरो प्रभाव पार्दै लगेको छ। यति मात्रै होइन, बालबालिका कुण्ठित हुने, झनक्क रिसाउने, नबोल्ने, झर्किने, जिद्दी गर्ने, भयभीत हुने, छिट्टै निराश भइहाल्ने, चिडचिडिनेजस्ता व्यवहार देखाउन थालेका छन्।

पहिले टेलिभिजनको लत हुन्थ्यो अहिले मोबाइलको लतमा परेका छ, किनभने मोबाइलमा भर्चुअल संसार छ र त्यसले बालबालिकाको सिर्जनात्मक क्षमतामा ह्रास ल्याएको छ। बाल सुलोभ हुर्काइमा प्रभाव पारेको छ। यो ठूलो चिन्ताको विषय हो। यस्तो लत बस्नु, मानसिक रोग सिकार हुनु हो।

भनेपछि, बालबालिकाले इन्टरनेटको सदुपयोग गर्न सकेका छैनन्?

सोसल मिडियाबाट बालबालिकालाई कसरी बचाउने भन्ने ठूलो चिन्ताको विषय बन्नु भनेको इन्टरनेटको सदुपयोग नहुनु नै हो। पैसा कमाउने लोभले युवाहरू युट्युब र टिकटकमार्फत जे पनि भिडियो अपलोड गरिदिन्छन्। त्यो भिडियो भाइरल हुन्छ। सबै उमेर समूहकाले हेर्छन् तर असर पर्छ बालबालिकालाई। सोसिल मिडियामा आउने विषयवस्तु र दृष्य सही नहुँदा बालबालिकाको सिकाइ पनि गलत हुन्छ। यसले गलत सिकाइ र संस्कारको पनि विकास गर्छ। बालबालिका मानसिक समस्यामा पुग्छन्। सामाजिक सञ्जाल चलाउँदा फाइदा पनि छ तर सदुपयोग गर्न जानेनाैँ भने बढी बेफाइदा छ। सबैभन्दा बढी बालबालिकाको सवालमा सोसल मिडिया दुरुपयोग हुन पुगेको छ।

बालबालिकाका लागि इन्टरनेट सिकाइ भन्दा पनि मनोरञ्जनको साधन मात्र बन्दै गयो?

हो, बालबालिकाका लागि इन्टरनेट शिक्षाको रूपमा भन्दा पनि मनोरञ्जनका रूपमा बढी प्रयोग भयो। स्कुलले अनलाइन कक्षा पढाउँछ तर मोबाइलको प्रयोग कसरी गर्ने भन्ने सिकाउन सकेको छैन। अझ ठूला मान्छेसमेत सोसल मिडिया कसरी सदुपयोग गर्ने भन्नेमा अन्योल छन्, झन् बालबालिकाले कसरी जानुन्। फेसबुक, टिकटक, युट्युबमा कस्तो सामग्री पोष्ट गर्ने भन्ने ठूलै मान्छेबाट सिक्ने हो, तर छाडा विषयवस्तु र अश्लील लाग्ने दृश्य राखेर बढी भ्युज र लाइक्स् बटुल्न थालेपछि बालबालिकालाई मात्र के दोष दिनु। उनीहरूलाई कस्तो सामग्री हेर्ने भन्ने थाहा छैन।

खासमा बच्चा प्रकृतिसँग खेल्नु पर्ने हो, माटोसँग खेल्नु पर्ने हो, भकुण्डो खेल्नुपर्ने हो। घर बनाइ खेल्ने स्वभाव हुनुपर्ने हो तर हामी अभिभावकले मोबाइल गेम दिएर भुलाउन थाल्यौं। बालबालिकालाई माटो लाग्ने, फोहोर लाग्ने, भाँडाकुडा खेल्नु हुँदैन भन्दै हामीले बालबालिकालाई खेल्ने साधन नै मोबाइल बनाइदियौं।

यस्तो बेला गलत नियतले मानिस बालबालिकालाई दुरुपयोग गर्न पुग्छन्। यस्तो हुनु सामाजिक सञ्जालालाई शिक्षाको माध्यम भन्दा पनि मनोरञ्जनको साधन बनाउनाले हो। जस्तै, बच्चाले खाना खाएन मोबाइल दिन्छौं। भुलाउनुपर्‍याे मोबाइल दिन्छौं। घरमा छोडेर जानुपर्‍यो मोबाइल दिन्छौं। हाँसिदेऊ न भन्दै मोबाइल दिन्छौं। रोयो कि मोबाइलमा भिडियो लगाइदिन्छौं। मोबाइल र सामाजिक सञ्जाल त बच्चालाई भुलाउने साधन पो भो। सोसल मिडिया त बालबालिकालाई फकाउने अस्त्र बनाइयो।

अहिले त बच्चा जन्मिसकेको हुँदैन, फेसबुक आइडी खोलिसकेका हुन्छौं। अर्को कुरा, अहिले टिकटक र युट्युबबाट बालबालिकालाई भाइरल बनाउन थालियो। सके आफू भाइरल हुने नसके बालबालिकालाई रुन लगाएर, हाँस्न लगाएर, बोल्न लगाएर, गीत गाउन लगाएर, नाच्न लगाएर भाइरल बनाउने प्रतिस्पर्धा चलेको छ। यसरी बालबालिकालाई मनोरञ्जनको साधन बनाएर कहीँ पनि प्रयोग गर्न पाइँदैन तर हामीले बालबालिकालाई प्रतिभावान बनाउने बाहनामा अधिकार नै हनन गरिरहेका छौं। र, अरूलाई मनोरञ्जन दिनका लागि बालबालिकालाई दुरूपयोग गरिरहेका छौं। भाइरल बनाइरहेका छौं। सोसल मिडियाप्रति उसको ध्यान जान थालेपछि उसको पढाइप्रति ध्यान जाँदैन। महत्वाकांक्षा बढ्न सक्छ। सिकाइ नै गलत हुन सक्छ। भविष्यलाई असर गर्न सक्छ र विस्तारै उसले सोसल मिडियालाई लतको रूपमा लिन सक्छ।

सहरमा सवारी चाप, धुलोधुवाँको डर र फराकिला खेल मैदानको अभावका कारण बालिबालिकालाई घरकै निश्चित कोठामा भुलाउनुपर्ने बाध्यता पनि छ?
सहरमा डेरा गरेर बस्नेहरूको निश्चित ठाउँ हुन्छ। साँघुरो कोठामा भान्सादेखि बेडरुमसम्म मिलाउनुपर्ने बाध्यता छ। यस्तो परिस्थितिमा तिनका बालबालिका बाहिर खेल्न जान नसक्ने हुँदा मोबाइल, टिभी र सामाजिक इन्टरनेटका माध्यमले भुलाउनुपर्ने बाध्यता छ। फेरि सवारी साधनको चाप र धुलोधुवाँको कारण बाहिर खेल्न जान दिन डराउँछौं।

खासमा बच्चा प्रकृतिसँग खेल्नुपर्ने हो, माटोसँग खेल्नुपर्ने हो, भकुण्डो खेल्नुपर्ने हो। घरबनाइ खेल्ने स्वभाव हुनुपर्ने हो तर हामीे अभिभावकले मोबाइल गेम दिएर भुलाउन थाल्यौैं। बालबालिकालाई माटो लाग्ने, फोहोर लाग्ने, भाँडाकुँडा खेल्नुहुँदैन भन्दै हामीले बालबालिकालाई खेल्ने साधन नै मोबाइल बनाइदियौं।

बच्चा त आमाको पछिपछि लागेर सरसफाइ गर्न खोज्छ। यस्तो बेला उसलाई सिकाउने, प्रोत्साहन गर्ने हो। बच्चाले गर्ने सबै काम खेल हो। खेल सम्झिन्छ। खेलाउन बच्चालाई एकाग्र बनाउन सकिन्छ। सीपको कमी मात्रै भएको हो। नेपालमा सोसल मिडिया खासमा बच्चाकै लागि भनेर बनेको छैन। अहिले जति बनेका छ्न् ती बालबालिकाका लागि होइन। विदेशतिर त्यस्ता खालका सोसल प्लेट फर्म विकास हुँदै छ तर नेपालमा छैन। नेपालमा बालबालिकालाई एक्सपोज गर्न आवश्यक नै छैन। अझै चर्चामा आएका बालबालिकालाई बढी दुव्र्याहार गर्न मौका पाउँछन्। हेर्छन्। प्रंशासा गर्दै प्रस्ताव राख्ने र अन्य बाटोमा लैजाने काम गर्न सक्छन्। बालबालिकाको करियरमै असर गरिरहेको छन्।

हामी ८–१० वर्षको बालबालिकालाई साइकल चलाउन खोज्यो भने रोक्छौं। लड्छ कि ठोकिन्छ कि भनेर चिन्ता गर्छौं। किनभने बच्चा दुर्घटनामा पर्छ कि भन्ने हामीलाई थाहा छ। बालबालिकाका लागि साइकलजस्तै हो सोसल मिडिया पनि तर हामी पत्याउँदैनौं। बच्चाले एक्लै, निष्फिक्री मोबाइलमा सामाजिक सञ्जाल हेरेर भुल्न सक्छ भने त्यो सडकको दुर्घटनाभन्दा भयावह हुन सक्छ।

मोबाइलमार्फत हेरिने इन्टरनेटबाट जोगाउन अभिभावकले कस्ता कुरामा ध्यान दिनुपर्ला?

मेरो बच्चा त मोबाइल नहेरी खानै खाँदैन भन्नुहुन्छ। मोबाइल नदेखाई खाना नै खुवाउन सक्दिनँ भन्नुहुन्छ। अर्को विकल्प नै छैन भन्नुहुन्छ। तपाईको कोठाभित्र बच्चाले मोबाइल खोलाउन सक्छ भने उसले अन्य बस्तु पनि खेलाउन सक्छ। जस्तै बल खेलाउन सक्छ, भाँडाकुँडा खेलाउन सक्छ, चित्र कोर्न सक्छ। फोटो हेर्न सक्छ। अन्य रुचिका विषयअनुसार खेल्न सक्छ। किचनमा ममीसँग हातेमाले गर्न सक्छ।

क्षणिक चर्चाका लागि हामीले बालबालिकाको सिर्जनात्मक क्षमतालाई समेत ओझेलमा पार्न खोजिरहेका छौं। क्षणिक रूपमा खुसी बनाउन र धेरै भात खुवाउन मोबाइलमा एकोहोरिने वातावरण बनाइदिएका छौं। यस्तो वातावरण अभिभावकले बनाउनु भएन।

घुमाउन लैजाने, कथा कविता सुनाउने, नयाँ–नयाँ चित्र काेर्न सघाउने, बच्चाजस्तो भएर उनीहरूसँगै खेल्ने, टेलिभिजनमा सन्देश र प्रेरणादायी कार्टुन हेराउन भुलाउने, स्कुलको होमवर्क गराउन सघाउने गरियो भने बालबालिकाको ध्यान सामाजिक सञ्जालतिर कम हुन्छ।

भनिन्छ, बालबालिका आमासँग बढी नजिक हुन्छन् तर आमाहरूले नै बढी इन्टरनेट चलाइरहेका छन् यस्तो अवस्थामा बच्चा कसरी अछुत हुन सक्छ ?
बच्चाको हुर्काइमा सबैभन्दा महत्वपूर्ण भूमिका आमाकै हुन्छ। तर आजका आमा त इन्टरनेटबिना कुनै काम गर्न सक्दैनन्। फेरि अहिले त टिकटकले आमाहरूलाई अत्यधिक व्यस्त बनाइदिएको छ। बच्चाले स्तनपान गर्दा पनि आमा टिकटक हेरिरहनुहुन्छ। तर आमाले जे गर्‍याे त्यो बच्चाले जिज्ञासुका साथ सिक्न खोज्छ। त्यसैले आमा नै आफ्नो बच्चालाई चनाखो बनाउन सामाजिक सञ्जाल एक्लो हुँदा चलाउनुपर्‍यो। बच्चा निदाएपछि अथवा स्कुल गएपछि चलाउनुपर्‍यो। किचनदेखि सँगसँगै भुलाउन सक्नुपर्‍यो। पहिला पाठशाला भनेकै घर हो। पहिला शिक्षक भनेकै आमा हो। त्यसैले आमाले प्राकतिक स्रोत–साधनसँग खेल्न बच्चालाई केन्द्रित गर्नुपर्‍यो।

अहिलेका अभिभावकले आफ्ना बालबालिकालाई समय दिन नसकेका हुन्?

क्वालिटी अफ टाइम भन्छौँ तर ९० प्रतिशत बालबालिका सामाजिक सञ्जालको लतमा पर्नु भनेको अभिभावकले समय नदिएर पनि हो। आमाबुवा जत्तिको नजिक मोबाइल हुन्छ र, हुँदैन। एकातिर मोबाइल र अर्कोतिर आमा राखेर बच्चालाई रोज्न लगाउँदा आमा रोज्नुपर्छ बच्चाले। यदि, आमाको साटो मोबाइल रोज्यो भने बच्चालाई सही शिक्षा दिन सकिएको छैन भन्दा हुन्छ। बच्चाले आमासँग वा आफ्नो उमेर समूहका साथीहरूसँग खेल्न मान्दैन भने सही विकास भइरहेको छैन उसको। भकुण्डो छोडेर मोबाइलतिर लाग्छ भने बुझ्नु हुर्काइ बढाइमा शिक्षा ठीक छैन। प्रकृतिसँग खेलेर सिक्ने बानी हुन सक्यो भने मात्रै बच्चालाई प्रतिकूल असर पर्दैन।

भिडियाे हेर्नूहाेस्:

फाल्गुन १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्