आफूलाई रोकेर प्रधानमन्त्रीले गोविन्द बन्दी‍लाई जेनेभा भ्रमण पठाएपछि परराष्ट्रमन्त्री पौड्याल असन्तुष्ट

परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल। फाइल तस्बिर।

काठमाडौँ – जेनेभा भ्रमणका लागि सबै तयारी पूरा गरी विमानस्थल जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण रद्द गरी पूर्व कानुनमन्त्री गोविन्द बन्दीलाई पठाएपछि मन्त्री पौड्यालले असन्तुष्टि जनाएकी छन्।

आफूले सबै तयारी पूरा गरेको र पत्रकार सम्मेलन गरेर सबैतिर जानकारी दिइसकेपछि अन्तिम समयमा आएर आफ्नो भ्रमण रोकी बन्दीलाई पठाउनका लागि प्रधानमन्त्रीले आदेश दिएपछि मन्त्री पौडेलले आफूलाई अपमान गरेको भन्दै असन्तुष्टि जनाएकी हुन्।

मन्त्री पौडेल आइबार साँझ ६ बजेको फ्लाइटमा जेनेभा प्रस्थान गर्न लागेकी थिइन् तर अचानक साढे तीन बजे प्रधानमन्त्रीको सचिवालयबाट फोन आयो जसमा  उनलाई नजान भन्ने आदेश दिइयो। मन्त्री पौडेलकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार उक्त फोनमा अनुसार उनलाई किन नजान भनिएको भनेर कारण भने खुलाइएको थिएन।

तर, कारण मन्त्री पौड्यालको भ्रमण स्थगित गरी प्रधानमन्त्री दाहालले आफ्नो सल्लाहकारको हैसियतमा विवादित छविका पूर्व कानुनमन्त्री गोविन्द बन्दीलाई जेनेभा उड्न लगाएका थिए।

परराष्ट्रमन्त्री पौड्याल एमालेका तर्फबाट मन्त्री बनेकी हुन्। राष्ट्रपति उम्मेदवारी तथा बदलिँदो सत्ता समीकरणका कारण यतिबेला एमालेसँग प्रधानमन्त्री दाहालको सम्बन्धमा कटुता सिर्जना भएको छ।

एमाले तत्काल सरकारबाट नबाहिरिए पनि  प्रधानमन्त्री दाहालले एमालेका सांसद् तथा मन्त्रीहरूलाई यसरी अपमानित गर्दा एमालेका नेता असन्तुष्ट देखिएका छन्। अध्यक्ष ओलीले आइतबार एक सार्वजनिक कार्यक्रममा सम्बोधनका क्रमममा प्रचण्डलाई ‘दूधमा पल्केको बिरालो भनी व्यंग्य’ गरेका थिए।

फाल्गुन १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्