निरन्तर साधना र धीरताले नै सफलता मिल्छ: कुलपति निशा शर्मा

लामो समयदेखि नेपाली रङ्गमञ्चमा निरन्तर उस्तै गतिमा लागिपरिरहेको परिचित नाम हो- निशा शर्मा। आफ्नो कला र त्यसको चर्चा-परिचर्चा त छ नै, नेपाली रङ्गमञ्चको उन्नयन र विकासका लागि पनि यो नाम उत्तिकै परिचित छ।
पाँच वर्षको कलिलो उमेरमा ‘कङ्काल’ नाटकदेखि ख्यालख्यालैमा रङ्गमञ्चमा पाइला टेकेकी नाट्यकर्मी शर्मा यतिबेला थुप्रै नयाँ तथा स्थापित नाट्यकर्मीका लागि पथप्रदर्शक बनेकी छन्।
विसं २०२७ सालमा काठमाडौँमा जन्मिएकी नाट्यकर्मी शर्माले बाल्यकालमै नाटकमा अभिनय सुरु गरेकी भएपनि निरन्तरता भने विसं २०३९ सालमा ११-१२ वर्षको हुँदाबाट दिइन्।
उसो त शर्माले अग्निको कथा, यज्ञसेनी, मायादेवीको सपना जस्ता धेरै नाटकमा अभिनय गरिन्। अभिनयकै कारण सबैबाट राम्रो प्रशंसा पाइरहने शर्माले धेरै पुरस्कार तथा सम्मान पनि पाएकी छन्। सरकारले प्रदान गर्ने नेपाल प्रतिभा पुरस्कार, गोर्खा दक्षिणबाहु तेस्रो, नाटक डबली पुरस्कार उनले पाएका मुख्य पुरस्कार हुन्। तर निशा शर्मा भन्नेबित्तिकै सबै नाट्य पारखीहरूले सम्झिने उनी अभिनित परिचित नाटक भने ‘पुतलीको घर’ नै हो। उक्त नाटकमा उनले देखाएको जीवन्त अभिनय उनी नाट्य क्षेत्रमा स्थापित हुनका लागि कोसेढुङ्गा सावित भयो।
भनिन्छ जीवन रङ्गमञ्च हो। नाट्यकर्मी शर्माका लागि भने रङ्गमञ्च नै जीवन बन्यो। पाँच वर्षको कलिलो उमेरमा आफ्ना नाट्यकर्मी दिँदीहरूको नाटक हेर्न गएकी उनलाई बाल कलाकारको रूपमा अभिनय गर्ने मौका मिल्यो र उनले गरिन्। सानै उमेरदेखि नै सोही क्षेत्रमा लागेका उनले थुप्रै आरोह/अवरोहहरू पार गरिन्।
‘मैले सुरु गर्दाको सfमाजिक चेतना अहिलेको जस्तो थिएन। अभिनय गर्नेहरूलाई उसको चरित्रसँग जोडेर हेयको दृटिकोणले हेरिन्थ्यो’, आफ्नो विगतको भोगाइ सम्झँदै उनी सुनाउँछिन्, ‘अझ छोरीमान्छे यस क्षेत्रमा प्रवेश गर्न र स्थापित हुन त निकै कठिन थियो। मैले हिम्मत र धैर्य गरेँ। यसकारण आजसम्म यहाँ छु।’
उनले बच्चाबेला गरेको त्यो उनको अभिनयको प्रशंसा पनि निकै भयो। परिवारको माहोल पनि नाट्यमय भएको र दिदीहरू पनि यसमै भएका कारण आफू यस क्षेत्रमा आउन प्रेरित भएको उनी सुनाउँछिन्। आफूहरूले सुरुवातदेखि आजसम्म गरेका काम र त्यस क्रममा भोगेका भोगाइ सम्झने हो भने अहिलेका पुस्तामा त्यो खालको धीरता नभएको उनी गुनासो सुनाउँछिन्।
आफ्ना पतिसमेत रहेका नाट्यकर्मी सुनिल पोखरेलसँगको सहकार्यमा २०५७ सालमा आरोहण थियटर समूह (हालको गुरुकुल) नाट्यघर स्थापना गरेकी उनले आफूसकुञ्जेल यही क्षेत्रमा नै लाग्ने बताउँछिन्।
नाट्य क्षेत्रको ४० वर्षभन्दा लामो संघर्ष, त्यस क्षेत्रको उन्नयन र विकासका लागि लागिपरिरहेकी नाट्यकर्मी शर्मा यतिबेला नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको कुलपति बनेकी छन्। फागुन ४ गते पर्यटनमन्त्री सुदन किराँतीको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’द्वारा पद तथा गोपनीयताको सपथ लिएकी उनी संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको पहिलो महिला कुलपति हुन्। उनै कुलपति एवम् लोकप्रिय नाट्यकर्मी शर्मासँग देशसञ्चारका लागि अस्मिता केसीले गरेको अन्तर्वार्ताको सम्पादित अंश:
संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको इतिहासमा पहिलोपटक महिला कुलपति बन्नुभयो, कस्तो अनुभूति भइरहेको छ?
एकदमै खुसी लागेको छ। तर मलाई गर्वसँगै चुनाैती पनि बोध भइरहेको छ। हरेक क्षेत्रबाट आइरहने शुभकामना र शुभेच्छाले मैले केही गर्नुपर्ने भन्ने चुनौती थपेको छ। सम्माननीय पर्यटनमन्त्री र प्रधानमन्त्रीले मेरो कामको मूल्यांकन गर्दै मलाई विश्वास गर्नुभयो। अपेक्षा पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने डर पनि छ। विस्तारै काम गर्दै जान्छु। अपेक्षाअनुरूप काम गर्न सक्छु भन्ने आत्मविश्वास पनि छ।
४० वर्षे लामो अनुभव छ तपाईंसँग। यस क्षेत्रमा सुरुवातको अवस्था र अहिले यो क्षेत्रमा कस्तो भिन्नता पाउनुहुन्छ?
मैले सुरु गर्दाको सामाजिक चेत अहिलेको जस्तो थिएन। नाटकमा आउनेहरू पढलेख गर्न नसकेर, परिवारले दिएको संस्कारको परिधिभन्दा बाहिर रहेर आएका हुन्छन् भन्ने खालको चेत थियो त्यतिबेला। अझ केटी मान्छेहरूलाई त उसको चरित्रलाई नै लिएर धेरैकुरा गर्ने गरिन्थ्यो। सुरुवाती बेला मैले पनि धेरै कुराहरू भोगेँ। परिवारबाट राम्रो साथ भए पनि समाजमा हुने खासखुस त थियो नै तर मैले मेरो गन्तव्य चिनेकी थिएँ। त्यसैले कसैको कुरा नसुनी अनवरत रूपमा लागि परेँ।
अहिले सामाजिक चेत विस्तारै परिवर्तित र परिस्कृत हुँदैछ। आजकल त अभिनय सबैको लागि अपरिहार्य जस्तो बनेको अभिभावकहरूले नै बोध गर्नुहुन्छ। हामीकहाँ सिक्न आउने विद्यार्थीहरूका अभिभावकले नै सिकाउनुपर्यो भन्दै ल्याउनुहुन्छ। पढाइसँगै यस क्षेत्रमा पनि लाग्नका लागि प्रोत्साहन गर्नुहुन्छ।
त्यतिबेला आफूले भोगेको सामाजिक चेत र अहिलेको हेर्दा खुसी त लाग्छ नै तर यति मात्रले हुँदैन। चेतनास्तर अझै फराकिलो हुनुपर्छ। हरेक क्षेत्रमा महिला निर्धक्क भएर आत्मनिर्भर हुनसक्ने वातावरण सृजना गर्नुपर्छ जस्तो लाग्छ मलाई।
तपाईं यसक्षेत्रमा आउन चाहने नवपुस्ताका लागि लागि प्रेरणा पनि हो। नाट्य क्षेत्रमा स्थापित भइरहनका लागि कुन कुरामा ध्यान दिनुपर्छ? के छ सुझाव?
नाटकमा टिकिराख्नका लागि चाहिन सबैभन्दा महत्त्वपूर्ण चिज धीरता हो। यहाँ तल्काल ‘भाइरल’ हुने अवसर हुँदैन। वर्षौँसम्म उस्तै गतिमा लागेकाहरूमात्र स्थापित हुनसक्ने ठाउँ हो- नाट्यक्षेत्र। यसकारण यहाँ चलचित्र, गीतसंगीतको गतिमा परिचित हुन या कमाउन सकिने अवस्था छैन। म त के भन्छु भने, ‘यदि तपाईंमा धैर्य गर्ने क्षमता छैन, सक्नुहुन्न भने यस क्षेत्रमा आउँदै नआउनूस।’
नारी दिवस नजिकिँदै छ। महिला मुद्दाका विषयमा भइरहने बहसहरू पनि धेरै छन्। महिला हिंसा निर्मुल पार्न र महिला सशक्तिकरणका लागि के कस्ता कामहरू गर्नुपर्छ जस्तो लाग्छ तपाईंलाई?
मैले यसलाई दुई किसिमले हेर्छु। एउटा- एन्जियोहरू खोलेर नाम मात्र कमाउन गर्नेहरूको त कुरा नै भएन। सामान्य झगडालाई ठूलो इस्यू बनाउँछन्। मलाई केही भन्नु छैन। तर अर्को- काम गरिरहेकाहरूले राम्रो गरेका पनि छन्। समस्याको जडसम्मै पुगेर शिक्षा र चेतना दिँदै समस्या निर्मुल पार्नेहरूलाई त सदा सम्मान छ।
आजसम्म मैले जानेर/नजानेर महिलाको विषयमा काम गरेँ। पुतलीको घर, मायादेवीको सपना, अग्निको कथालगायतका नाटकमा महिहलाका पीडा र दु:ख प्रस्तुत गरेकी छु। नाट्यकर्मी महिलाको हैसियतले आफूले आफ्नो काममार्फत् सामाजिक चेतना दिन पाउनु, समाजको कथा बोल्न पाउनु मेरो लागि गौरवको कुरा पनि हो।
हुन त महिला हिंसा भन्ने वित्तिकै महिलालाई मात्र विभिन्न किसिमका तालिम तथा प्रशिक्षणहरू दिइएको पाइन्छ। तर मलाई लाग्छ यस सन्दर्भमा पुरुषहरूलाई काउन्सेलिङ गर्नु एकदमै आवश्यक छ। उनीहरूलाई यस सन्दर्भमा परामर्श दिन सके अवस्थामा परिवर्तन आउँछ जस्तो लाग्छ।
जीवन रङ्गमञ्च पनि हो भन्छन्, हजुरको लागि त रङ्गमञ्च नै जीवन बन्यो नि है! के लाग्छ हजुरलाई?
सानै उमेरदेखि नै यस क्षेत्रमा लागेँ। यही क्षेत्रमै पढेँ, भोगेँ, सिकेँ। मेरो जीवनका हरेक आरोह/अवरोहमा यही क्षेत्र नै साक्षी छ। मेरो लागि त यही क्षेत्र नै जीवन बन्यो। र मैले सकुञ्जेल यही क्षेत्रमै लाग्नेछु पनि।
मैले एकै दिनमा कति पात्र बाँचेकी हुन्छु। हरेक नाटक गर्दा त्यही पात्रको जीवनमा आफूलाई ढाल्नु मेरै दैनिकी हो। सुरवातदेखि आजसम्म निरन्तर नाट्य क्षेत्रमा लाग्दा र अरूलाई पनि लाग्न प्रेरित गरिरहँदा मैले सम्मानसँगै धेरै अपमाना र लाञ्छना पनि भोगेकी छु, सहेकी छु, तर पनि आफ्नो कर्तव्य र जिम्मेवारीबाट विमुख नभइ निरन्तर क्रियाशील रहेँ। यसकारण पनि यो रङ्गमञ्च नै मेरो जीवन हो, जीवन नै रङ्गमञ्च हो।
प्रतिष्ठानलाई कसरी अगाडि बढाउनुहुन्छ? यसको लागि कसरी काम गर्ने सोच्नुभएको छ?
यस क्षेत्रका लागि केही गर्नुपर्छ भन्ने लागेर नै आजसम्म निरन्तर लागि परेकी हुँ। मप्रति धेरैले आशा र विश्वास गर्नुभएको छ। रातारात केही हुँदैन, कार्यकाल चार वर्षे हुन्छ। यस अवधि र मैले पाएको पद तथा जिम्मेवारीको भरपूर उपयोग गरेर काम गर्छु। मुख्यत: हाम्रो स्थान साँघुरो छ। यसलाई फराकिलो बनाएर अन्तर्राष्ट्रिय स्तरमा लैजाने सोचेकी छु। यसका साथै नाटकलाई शिक्षा पाढ्यवस्तुको रूपमा लैजानको लागि पहल गर्छु। स्थानीय तहरूमा पनि त्यस किसिमको लविङ गर्ने सोचेकी छु। हाम्रो व्यवस्थित कार्यालय छैन। यसको भवन निर्माणको लागि मुख्य पहल चाल्छु।