शीतलनिवासमा भण्डारीका ७ वर्ष: पार्टीको बफादार कार्यकर्ता कि राष्ट्रपति?

राष्ट्रपति विद्यादेवी भण्डारी। फाइल तस्बिर।

शीतलनिवासबाट अब पाँच दिनमा बाहिरिने तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको बफादार कार्यकर्ताभन्दा माथि उठ्न नसकेको आरोप लागेको छ।

सोही आरोपलाई थप पुष्टि गर्ने गरी राष्ट्रपति जीवनको अन्तिम दिनहरूमा ओलीले भण्डारीको गुनगान गाएका छन्। ओलीले राष्ट्रपतिका रूपमा वर्तमान भण्डारीले अत्यन्त निष्पक्ष भूमिका निर्वाह गरेको दावी गरेका छन्। त्यसो त बेलाबखत राष्ट्रपति विवादमा आउँदा राष्ट्रपतिको खेदो नखन्न दलहरूलाई ओलीले चेतावनी दिँदै आएका हुन्। राष्ट्रपतिको कार्यशैलीले नै उनी एमालेप्रति लचक भएको देखिसकेका नागरिकले ओलीले गरेको भण्डारीको तारिफको सार्वजनिक रूपमा व्यङ्ग्य गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो महिला हुन् भने राष्ट्रप्रमुखका रूपमा नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिलाभित्र पर्छिन्। यही फागुन २९ गते भण्डारीको कार्यकाल सकिँदैछ। उनले दुई कार्यकाल मुलुकको राष्ट्रपति पदमा रहेर जिम्मेवारी वहन गरिन्। भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रप्रमुखमा निर्वाचित भएकी हुन्।

पहिलो कार्यकाल सम्पन्न गरी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी हुन्।

नयाँ राष्ट्रपतिको लागि कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन्। राष्ट्रपतिको निर्वाचन बिहीबार हुँदैछ।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादवपछि राष्ट्रपति बन्ने अवसर पाएकी भण्डारीको कार्यकाल प्रशंशायोग्य भन्दा पनि विवादित र आलोचित बन्यो। राष्ट्रपति कुनै दलमा आवद्ध भएको व्यक्ति भए पनि राष्ट्रपति बनेपछि दलीय आबद्धता त्याग्नुपर्छ, दलीय रंग देखाउन हुँदैन भने पनि भण्डारीले एमाले र त्यसमा पनि पार्टी अध्यक्ष ओलीको मर्यादापालक वा वफादार कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप छ।

भण्डारी लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन्। उनको अहिले दोस्रो कार्यकाल समाप्त हुन लागेको हो। कार्यकाल सकिएपछि उनी चपलीस्थित निजी निवासमा फर्किने तयारीमा छिन्। उनी सर्नको लागि अहिले उनको निजी निवास मर्मत कार्य भइरहेको छ।

पूर्वराष्ट्रपति यादवलाई उनको ७ वर्षे (२०६५ साउन ८-२०७२ कार्तिक ११) कार्यकालमा राज्यकोषबाट ६ करोड खर्चिएकोले लालचीको संज्ञा दिइएको छ। भण्डारी शीतल निवासबाट बाहिरीएपछि पाउने सेवा, सुविधा र खर्चबारे भने निर्णय भइसकेको छैन। यादवले शीतल निवासबाट बाहिरिने बेला राज्य कोषले दिने खर्च घटाउन आग्रह नगर्दा आलोचना बेहोरेका थिए। भण्डारीले यादवमाथि भएको आलोचनाबाट सिकेर राज्यकोषको रकम घटाउन खोज्छिन् वा यादव पथ नै पच्छयाउँछिन् त्यो भोलिको दिनले देखाउनेछ।

यतिबेला शीतलनिवासबाट बिदा लिने तयारीमा रहेकी भण्डारीको दुई कार्यकालको आम जनमानसमा समीक्षा भएका छन्। राष्ट्रपति आलंकारिक पद भए पनि मुलुक, सरकार र दलहरूको लागि महत्त्वपूर्ण र अभिभावकीय भूमिका हुने गर्छ।

यदि भूमिका नै नहुँदो हो त राष्ट्रपति चयनका बेला दलहरूको रस्साकस्सी आवश्यक थिएन। राष्ट्रपति भण्डारी धेरै विषयवस्तुमा विवादमा तानिए पनि केही सकारात्मक विषयहरूको भने प्रशंसा हुने गरेको छ। उनले राज्यको फजुल खर्च नगर्नुलाई सकारात्मक रूपमा हेरिएको छ। इच्छा सिद्धि हुने पदमा आसिन भएर राज्यको ढुकुटीको अनावश्यक खर्च नगर्नुलाई नागरिक तहले सकारात्मक रूपमा लिएको छ।

यद्यपि विभिन्न देशहरूले कतारमा लामो समयदेखि नाकाबन्दी लगाएका बेला कतार भ्रमण गर्दा राष्ट्रपति भण्डारीको आलोचना भएको थियो। भण्डारी दोस्रो पटक राष्ट्रपति बनेपछि उनको त्यो पहिलो विदेश भ्रमण थियो। कूटनीतिज्ञहरूले उनको भ्रमणलाई अपरिपक्वताको संज्ञा दिएका थिए। राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयकाले भने द्विपक्षीय सम्बन्ध सुधारका लागि कतारको भ्रमण गरिएको भन्दै त्यसको बचाउ गरेका थिए। राष्ट्रपति भण्डारीले २०७५ सालमा चार दिने कतार भ्रमण गरेकी थिइन्।

भण्डारीले संसदबाट दोहोर्‍याएर पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक प्रमाणीकरण नगर्नुलाई केहीले सकारात्मक रूपमा पनि लिएका छन्। जनता नागरिकता विधेयकको पक्ष विपक्षमा विभाजित भएका कारण संसदबाट दोहोर्‍याएर पारित भई प्रमाणीकरणको लागि पठाएको नागरिकता विधेयक रोक्नुलाई सकारात्मक रूपमा पनि हेरिएको हो। यद्यपि भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगर्दा विवादमा भने तानिएकी थिइन्।

प्रमाणीकरण गरिसक्नुपर्ने संवैधानिक समय सीमाभित्र विधेयकबारे कुनै निर्णय नगरी राष्ट्रपतिले नयाँ कानुन बन्ने बाटो तत्कालका लागि रोकिदिएकी थिइन्। त्यसलाई लिएर सत्ताधारी कांग्रेसका नेता-कार्यकर्तादेखि कतिपय नागरिक समाजका व्यक्तिहरूले पनि उनको आलोचना गरे। त्यसबेला राष्ट्रपति भण्डारीको राजीनामाको समेत माग गरिएको थियो।

भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउने प्रयास गरेको आरोप लागेको थियो। तर कतिपयले भण्डारीले एमालेमा लोकतान्त्रिक अभ्यास स्थापित गर्न खोज्नुलाई सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने तर्क गरेका छन्। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले उक्त दलका नेताहरूलाई राष्ट्रपति कार्यालयमा सामूहिक रूपमा भेटेकी थिइन्। त्यस विषयमा पनि उनले आलोचनाको सामना गर्नुपरेको थियो।

त्यतिबेला राष्ट्रपतिले पार्टीभित्रको विवाद मिलाउन खोजेको भन्दै आरोप लागेको थियो। भण्डारीले २०७७ असारमा तत्कालीन नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई राष्ट्रपति कार्यालयमै भेटेकी थिइन्।

त्यस बेला नेकपाभित्र तीव्र विवाद थियो भने उक्त दल फुटको संघारमा पुगेको थियो। २०७५ साल जेठ ३ गते एक भएको नेकपा २९ महिनापछि २०७७ साल पुसको पहिलो हप्ता फुटेको हो। यद्यपि भण्डारीका सकारात्मक भन्दा विवादित घटनाहरू धेरै छन्। भण्डारीको सवारीले नागरिकलाई सास्तीदेखि सुरक्षाकर्मीको ज्यादतीसम्म भोग्नुपरेको छ।

काठमाडौँ उपत्यकालगायत उनी गएका विभिन्न स्थानहरूमा सवारीले सास्ती भोग्नुपरेको भन्दै नागरिकले आक्रोश पोखे। उनी दुवै कार्यकाल यो आलोचनाबाट मुक्त हुन सकिनन्। सुरक्षाकर्मीलाई जुत्ता बोकाएको घटनाले पनि उनी विवादित छिन्।

राष्ट्रपतिको पहिलो कार्यकालको बेला सप्तरीको छिन्नमस्ता मन्दिरमा जाँदा आफ्नो सुरक्षाका लागि खटिएका सैनिकहरूलाई जुत्ता बोकाएकी थिइन्। त्यस्तै, पहिलो कार्यकालमै सरकारका तर्फबाट राष्ट्रियसभामा मनोनीत गरिने तीन सदस्यसम्बन्धी अध्यादेशलाई स्वीकृत नगरी राखेको विषयमा पनि उनको आलोचना भएको थियो।

पछि नयाँ जनमतका आधारमा बनेको नयाँ सरकारको सिफारिसमा उनले ती सदस्यहरूको नियुक्तिसम्बन्धी सिफारिसलाई प्रमाणीकरण गरिदिएकी थिइन्। २०७५ सालको दशैँमा राष्ट्रपति टीकाका कारण पनि आलोचित बन्न पुगिन्। उनले टीका लगाइदिएका केही तस्बिरहरू दशैँको टीकालगत्तै भाइरल भएका थिए। त्यस बेला केही बहालवाला र पूर्वविशिष्ट अधिकारीहरूले भण्डारीको हातबाट टीका लगाउँदा उनको अगाडि घुँडा टेकेका तस्बिरहरू सार्वजनिक हुँदा विवाद भएको थियो। यसले गणतन्त्रात्मक मुलुकमा पनि राजाको धङधङी नगएको भन्दै नागरिक रुष्ट भएका थिए।

पार्टीभित्रको विवाद बढेपछि तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको घोषणा गर्न गरेको सिफारिसलाई केही घण्टाभित्रै सदर गरिदिएपछि पनि भण्डारीको तीव्र आलोचना भएको थियो। ओलीले पहिलो पटक विसं २०७७ पौष ५ गते संसद् विघटन गरेका थिए। त्यस्तै, दोस्रो पटक उनले विसं २०७८ जेठ ८ गते मध्यरातमा संसद् विघटन गरे।

राष्ट्रपति विद्यादेवी भण्डारी। फाइल तस्बिर।

दोस्रो पटक संसद् विघटनको सिफारिस ओलीले रातको १२ बजेपछि गरेका थिए भने राष्ट्रपतिले त्यसको एक घण्टाभित्रै त्यसलाई सदर गरेकी थिइन्।राष्ट्रपतिको उक्त कार्यप्रति विपक्षी दलसहित नागरिक समाजका व्यक्तिले कडा आलोचना गरेका थिए। उनीहरूले राष्ट्रपतिले निष्पक्ष भूमिका खेल्न नसकेको बताएका थिए।

त्यस बेला पूर्वप्रधानन्यायाधीशहरूले समेत उनको आलोचना गरेका थिए भने केहीले त उनीमाथि महाभियोग लगाउनुपर्ने माग समेत गरेका थिए। भण्डारीले राष्ट्रपति कार्यलयभित्रै हेलिप्याड बनाउन खोज्नु, हेलिकप्ट र गाडी खरिद गर्ने निर्णय र लिफ्ट उद्घघाटन जस्तो सामान्य कार्यक्रममा समेत सरिक हुनुले पनि उनको विवाद भएको थियो।

२०१८ साल असार ५ गते भोजपुरमा जन्मिएकी राष्ट्रपति भण्डारी हाल ६१ वर्ष भइन्। मुलुकको सर्वोच्च पदबाट अवकाश लिएपछि पनि भण्डारी सक्रिय रहने उमेर बाँकी नै भएका कारण उनको आगामी यात्रा पनि चासोको विषय बनेको हो। शीतल निवासबाट बाहिरीएपछि उनी सक्रिय राजनीतिमा आउन खोजेको पनि चर्चा छ।

नेकपा एमाले र त्यसमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकी विश्वास पात्र भएका कारण भण्डारी पुन: पार्टीकै कुनै जिम्मेवारीमा फर्कन सक्ने आँकलन गरिएको छ। भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिसम्म नेकपा एमालेकी उपाध्यक्ष, अखिल नेपाल महिला संघकी अध्यक्ष र व्यवस्थापिका-संसद सदस्यको जिम्मेवारीमा थिइन्।

भोलिको दिनमा उनी सक्रिय राजनीतिमा नआइदिऊन् भन्ने नेपालीको चाहना छ, यद्यपि उनले राष्ट्रपतिबाट छुटकारा पाइसकेपछि बाँकी जिन्दगी कसरी बाँच्ने भन्ने उनको रुचिको विषय हो। स्कुले जीवनदेखि आकर्षित भएर राजनीतिक यात्रा सुरु गरेकी भण्डारी मुलुकको सर्वोच्च पदको अवकाशपछि निष्क्रिय जीवन जीउनेमा भने धेरैले आशंका व्यक्त गरेका छन्।

भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित भएकी भण्डारीले २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथलिगको कार्यकर्ताको रूपमा सङ्गठित भएर राजनीतिक जीवनको आरम्भ गरेकी हुन्।

उनको वि.सं. २०३९ सालमा कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग विवाह भयो। तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुःखद निधन भएसँगै दाम्पत्य जीवन एघार वर्षको छोटो समयमै समाप्त भयो। उनले वि.सं. २०६६ सालमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ। विभिन्न अनुभव सम्हाल्दै उनी राज्यको महत्त्वपूर्ण ओहोदामा पुगेकी हुन्।

उनीसँगै राजनीति यात्रा थालेका नेतृहरू अझै पनि पार्टी र राष्ट्रिय राजनीतिमा संघर्ष गरिरहेका बेला दुई कार्यकाल राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुलाई ठूलो सफलता मान्न सकिन्छ। भण्डारीले भोलिका दिनमा उक्त पदीय मर्यादा र हैसियत कायम भने गर्नुपर्ने देखिन्छ।

विकसित मुलुकको अभ्यास हेर्ने हो भने शासकहरू पदबाट बाहिरिएपछि आम नागरिकको हैसियतमा जीवनयापन गर्छन्। संविधानविद् विपिन अधिकारी पूर्वराष्ट्रपतिलाई राज्यले सम्मान गर्नुपर्ने बताउँछन्। पदीय दुरुपयोग नहोस् भन्न पनि राज्यले सेवा सुविधा दिनुपर्ने तर्क गर्छन्।

त्यसो त मुलुकको राष्ट्रपतिको कार्यकाल सकिएपछि पूर्वराष्ट्रपतिले के गर्ने भन्ने विषयमा कानुन बनेको छैन। उक्त पदले निष्पक्ष नागरिक भएर बस्नुपर्ने माग भने अवश्य गर्छ। भण्डारीले त्यसलाई उल्टाएर फेरि पार्टी राजनीतिमा आउनु शोभनीय देखिँदैन। राष्ट्रपतिको सम्पूर्ण भूमिका नै पार्टी राजनीति गरेको प्रमाणित हुनेछ।

फाल्गुन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्