केही समय अगाडिमात्रै म आफैं साक्षी बन्न पुगेको दुइटा दृष्टान्तहरूबाटै विषय प्रवेश गरौँ।

दृष्टान्त १- क्याम्पसमा विद्यार्थीहरूमाझ ऐच्छिक विषय छान्ने छलफल चलिरहँदा ‘जेन्डर’ बाहेक अरू कुनै नयाँ विषय पढ्ने कुरा आयो। यो कुनै अनौठो होइन। तर जेण्डर किन नपढ्ने त भन्ने तर्क मननयोग्य थियो, ‘यो त धेरै सुनिराखेको विषय, फेरि त्यै किन पढ्नु?’

दृष्टान्त २-  क्याम्पसको एउटा विभागमा महिला प्राध्यापकको खोजी प्राथमिकतासाथ भइरहेको रहेछ। महिला नै किन प्राथमिकतामा भनेको त जेण्डर पढाउन रे!

लगभग एकै कालखण्डमा यी दुई परिस्थिति अनुभूत गरिरहँदा, मुस्काउनु कि मुर्मुरिनु? मैले मेसै पाइनँ। सचेततापूर्वक होइन, यस्तो परिस्थितिमा आफ्नो प्रतिक्रिया  कस्तो हुनुपर्ने निर्क्याैल गर्न नसकेर तत्काल त म भावशून्य रहेँ तर त्यसपछि भने एउटा प्रश्नले मलाई निरन्तर घोचिरह्यो।

एकातिर हामीले ‘जेन्डर’ बुझ्न उत्सुकता नै नहुने गरी धेरै सुनाइसकेका रहेछौँ भने अर्कातिर ‘जेन्डर’ भनेको महिला मात्रैको विषय होइन भन्ने पनि बुझाउन सकेका रहेनछौँ। ज्ञानको निर्माण र विनिर्माण गर्नुपर्ने विश्वविद्यालयीय संरचनाभित्र यस्ता बुझाइको साक्षात्कार गर्नुपर्छ भने विभेद, पहिचान अनि सम्मानजनक सहअस्तित्वप्रतिको व्यवहारिक धरातल कहाँ होला?

‘जेन्डर’ महिलामात्रको सरोकारको विषय होइन कि पढ्न र पढाउन समेत महिलाहरू नै खोज्नु परोस्। बरु यो त सिंगो समाजको समग्र पक्षले बुझ्ने र बुझाउने विषय हो। वास्तवमा समानता, पहिचान र विभेदविरुद्धका सरोकारहरू ठिङ्ग एक्लै उभिँदैनन् बरु यिनका जरा समाज अनि राज्यको न्यायिक चेतसम्म फैलिएका हुन्छन्। समाजका बहुपक्षीय आयामहरू हुन्छन्, यिनका टेकोको रूपमा जसले एकअर्कासँग जेलिएका गाँठाहरू बनाएका हुन्छन्। तिनीहरूलाई सुल्झाउन र उल्झाउन सरोकारवालाहरूको अहम् भूमिका रहन्छ। यी गाँठाहरूको सैद्धान्तीकरणको एउटा आयामलाई अमेरिकी प्राध्यापक किम्ब्ले क्रेन्सोको ‘इन्टरसेक्सनालिटी फ्रेमवर्क’ले सजिलोसँग देखाएको छ।

लैंगिक, जातीय, क्षेत्रीय या अरु कुनै विभेद किन नहुन्, यी प्रतिको धारणा, चेत र अभ्यास तत्कालिक र स्वचालित मात्र हुँदैनन्। बरु धेरै ‘स्व’हरूको लामो समयको मिश्रणबाट परिचालित हुन्छन्। भन्नुको मतलब हाम्रा सामाजिक चेत र अभ्यासहरू न त बुहानको प्रयोगशालामा निर्माण हुन्छन्, न त जोन हप्किन्स युनिर्भसिटीको रिसर्च पेपरमा प्रतिविम्बित हुन्छन्। बरु दैनन्दिनको सुनाइ, भोगाइ, सोचाइ र बुझाइबाट निर्दिष्ट हुँदै जान्छन्। त्यसैले सामाजिक तथ्यहरू अध्ययन, अनुसन्धान र सामान्यीकरण गर्न समय र समझको यथेष्ट लगानी आवश्यक पर्छ।

अहिले हाम्रो सामाजिक चेतको सामूहिक प्रयोगशाला बनेको छ सामाजिक सञ्जाल। हालसालैका बलात्कारका श्रृङ्खलाजन्य र संवेदनशील मुद्दामा अभियुक्तहरूप्रति समानूभूति राख्ने महिलाहरूको भनाइ र तस्बिरहरू राख्दै धेरैले लेखेको देखियो- ‘पितृसत्तालाई गाली गरेरै नथाक्ने नारीवादीहरू, हेर महिलाले नै पुरुषको पक्षमा बोलेको।’

लैंगिक, जातीय, क्षेत्रीय या अरू कुनै विभेद किन नहुन्, यीप्रतिको धारणा, चेत र अभ्यास तत्कालिक र स्वचालित मात्र हुँदैनन्। बरु धेरै ‘स्व’हरूको लामो समयको मिश्रणबाट परिचालित हुन्छन्। भन्नुको मतलब हाम्रा सामाजिक चेत र अभ्यासहरू न त बुहानको प्रयोगशालामा निर्माण हुन्छन्, न त जोन हप्किन्स युनिर्भसिटीको रिसर्च पेपरमा प्रतिविम्बित हुन्छन्। बरु दैनन्दिनको सुनाइ, भोगाइ, सोचाइ र बुझाइबाट निर्दिष्ट हुँदै जान्छन्। त्यसैले सामाजिक तथ्यहरू अध्ययन, अनुसन्धान र सामान्यीकरण गर्न समय र समझको यथेष्ट लगानी आवश्यक पर्छ।

अभियुक्तहरूको सम्मान र स्वतन्त्रताको ख्याल राख्नुपर्ने तर नाबालिगहरूले अनेक यातना र दोषहरूको सामना गरेर सामाजिक सीमा र मर्यादाको भारी बोकिदिनुपर्नेजस्ता राय सुझाउनेहरू पनि प्रसस्तै देखिए।

त्यसैगरी, दर्शनको तहमा पनि सौहार्द्रपूर्ण खुला छलफल र पैरवीभन्दा निषेध र अवमूल्यनको संस्कृति मौलाउँदो देखिन्छ। सिमोन दि बुवा, एन्जेला डेभिसको नाम लिनेहरू योगमाया र गार्गीजस्ता योद्धा र विदुषीहरूसँग ‘जेन्डर मुभमेन्ट’ जोड्न उतिसारो धीरता नराखेर ‘वधु शिक्षामा’ मात्र रुमलिरहने अनि योगमाया र गार्गीको बढीमा कथा सुनेकाहरू सिमोन दि बुवा, एन्जेला डेभिसको नाम लियो कि समष्टिमा ‘डलरे’ भन्दिहाल्ने।

यी आशयका सामाजिक दृष्टिकोण र अन्तर्क्रियाहरूको वर्चस्व यति जबर्जस्त छ कि यिनीहरूलाई बेवास्ता मात्र गरिरहेर अब सम्मान र सहअस्तित्वको गन्तव्यमा पुग्न निकै कठिन छ। किनकि यस्ता धारणाहरू नै सार्वजनिक चेतको बीउ बन्छन्। यस्ता अभिव्यक्ति दिनेहरूलाई समग्रतामा घृणा गर्ने अभ्यास बढ्यो भने पनि सम्मानजनक सहअस्तिवको यात्रामा सघाउ पुग्दैन।

अब सचेततापूर्वक प्रश्न गर्नैपर्ने भएको छ, लैंगिक अधिकारको अभियान र आन्दोलनले स्थानीय परिप्रेक्षमा बाटो पो बिराएको हो कि? अथवा समेट्नैपर्ने कुनै पक्ष पो छुटाएको छ कि? के सम्मानजनक सहअस्तित्वको लडाइँ मेरा लागि जागिर मात्र हो कि चैतन्यको जागृति? किनकि नारीवादी हुनु भनेको पुरुषविरोधी हुनु होइन र पित्तृसत्ताका खराब अभ्यासहरूमा औंलो उठाउनु पुरुषलाई गाली गर्नु होइन। जसरी जेण्डर भन्नाले महिलामात्र होइन, त्यसैगरी पित्तृसत्ताको पहरेदार पुरुषमात्र होइन, बरु पित्तृसत्ताको चेतले दीक्षित हामी सबै हौँ भन्ने तथ्य व्यापक रूपले बुझाउनैपर्ने आवश्यकता देखिएको छ।

केही समयमात्र अघिको कुरा हो, पंक्तिकार कामको सिलसिलामा काठमाडौँ उपत्यकाकै एउटा गाउँमा पुग्दा ५०/६० वर्ष हाराहारीका दुई पुरुषहरूले लगभग आधा घण्टाको कुराकानीमा ‘सर … सर’ भनेर सम्बोधन गरिरहनुभयो। ‘हो सर … कुरा यस्तो हो सर … त्यत्तै हेर्न जाउँ न सर ….’ यस्तै यस्तै। हो, यहाँनेर आम समाजले बुझेजस्तो महिलावादी भएर मैले यी पुरुषले महिलाको अपमान गरे, भाषामा लैंगिक संवेदनशीलताको ख्याल गरेनन् भनेर निहुँ खोज्नु आफूले टेकेको माटो र हिँडेको बाटो नचिन्नु सिवाय केही हुदैन। किनकि उक्त सन्दर्भमा ‘सर’ शब्दको प्रयोग हेर्दा यस्तो आभास हुन्थ्यो कि उहाँहरूका लागि उक्त शब्द फगत आदरार्थी शब्द हो जसको लैँगिकताबारे या त उहाँहरू अनभिज्ञ हुनुहुन्थ्यो या त अति अभ्यस्त। यसो भन्दैमा असमान व्यवहारको रमितामात्र हेरेर बसिरहने त? कदापि होइन। बरु अज्ञानता कति फराकिलो छ अनि अभ्यस्थताको जरा कति गहिरो छ भन्ने अध्ययन गर्ने र निराकरणको उपाय निकाल्ने।

यो लेखिरहँदा भर्खरै छक्क पर्दै पढेर सकेको प्रा. राधादेवी शर्मा चालिसेको किताब सम्झिरहेछु। आफू त्यो हदसम्मको घरेलु हिंसा सहँदै लैंगिक समानताका पैरवीमा हिँड्दा उहाँको मनोदशा कस्तो हुन्थ्यो होला? परिवार, समाज र राज्यको न्यायिक चेतमाथि कुन तहको वितृष्णा हुन्थ्यो होला? सँगै समूहमा रहेका अरू अभियन्ताहरूलाई आफूसँगै काँधमा काँध मिलाएर हिँडिरहेकी अभियन्ता नै हिंसायुक्त सम्बन्धबाट मुक्त हुन नसकेको दर्दनाक यथार्थले कति घोच्थ्यो होला अनि समाजको त्यो यथार्थको कारण र निवारणको लागि कस्तो बहस र छलफल हुन्थ्यो होला?

ठिक त्यसैगरी महिलाहरूले विभेद, घरेलु हिंसा र यौन दुर्व्यवहारको कुरा उठाउनेबित्तिकै पुरुषका केही हुलले गोलीगाँठोसम्म लुगा लगाउने कथित संस्कार त्यागेर उत्ताउलो हुने र पोथी बास्ने जस्तो निकृष्ट कुरा गरेर निहुँ खोज्नु भनेको बदलिएको समयको पदचाप बुझ्ने चेत नराख्नु सिवाय केही हुँदैन।

यी र यस्तै अभ्यासहरूको बृहत, गहन र विशिष्टिकृत सामाजिक अध्ययन यसकारण पनि जरुरी भैसकेको छ कि हामी सार्वजनिक सरोकारका मुद्दाहरूमा गहिरिएर अध्ययन गर्ने होइन, छरिएर बुद्धिविलास गरेरै ज्ञानको मापन गर्न हतारिएका छौँ। सूचना र ज्ञानको फरक परख्ने फुर्सद पाउन छाडेका छौँ। हालसालैको एउटा उदाहरण, एउटै पदमा समेत महिला वा पुरुषको उपस्थितिलाई हाम्रो संरचनाले कसरी विभेदपूर्ण व्यवहार गर्छ भन्ने गहन सन्दर्भको उभसभामुखको अभिव्यक्तिलाई भत्ता र सुविधा पुगेन रे,  ‘जुन जोगी आए नि कानै चिरेका’ भनेर सामान्यीकरण गर्दिन थाल्यौँ। तथ्यमा गहिरिनुको सट्टा तथ्यबाट समय र सन्दर्भलाई अलग्याइदियौँ अनि हात्ती पुरै नछामी हात्ती नरसिंह बाजा जस्तो कि, खम्बाजस्तो कि नाङ्गलोजस्तो भनेर छरिन थाल्दा संरचनागत विभेदको गहन सन्दर्भ ‘टाँइ टाँइ फिस्’ भयो। जबकि यसपालिको ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको नारा भने सामाजिक संरचनाभन्दा पर कृतिम बाैद्धिकतासम्म पुगिसकेको छ।

दृष्टान्तबाट सुरु भएको आलेख दृष्टान्तबाटै बिट मारौँ। तत्काल केही काम विशेषले छम्पी जाँदा, भैंसेपाटीतिरको एउटा सानो किराना पसलकी दिदीलाई कुरैकुरामा भनेँ- नारी दिवस नि आयो है दिदी। उहाँले मलाई हेर्दै के आयो? भन्नुभयो। बाटाका गाडीका आवाजले सुन्नु भएन कि भन्ने लागेर मैले अलि ठूलो स्वरमा भनेँ- नारी दिवस क्या वर्षैपिच्दै केके कार्यक्रम गरेर मनाउँछन् नि। उहाँको उत्तर थियो- खै मलाई त थाहा छैन। मैले प्रतिप्रश्न गरेँ- अहिलेसम्म सुन्नुभएकै छैन त? सहज उत्तर थियो- अहँ मैले त कहिल्यै सुनिनँ। यसले मलाई एकैपटक असहज र अवाक बनायो। कम्तीमा यो सहरको भीडभाडमा नारी दिवसको नामै नसुनेका नारी छन् भन्ने चेत ममा फिटिक्कै थिएन!  आफ्नो विष्मयलाई देखेर आफैं यो लख काटेँ अनि बुधबार समाचार हेर्नूस् है त दिदी भनेर त्यहाँबाट हिँडे।

त्यहाँबाट त हिँडे तर त्यो विष्मयकारी अनुभूतिलाई त्यही छोड्न सकिनँ, आफूसँगै बोकेर हिँडिरहेँ। केही घण्टापछि काँडाघारीमा भेटिएका कालिमाटीबाट तरकारी ल्याएर राख्दै गरेका महिलालाई सोधेँ। सोध्नुभन्दा अघि आफूलाई अद्यावधिक गरेँ र प्रश्न सच्याएँ- दिदी नारी दिवस सुन्नुभाको छ? उत्तर- खै सुन्या छैन हाम्ले त! फेरि सोधेँ- हजुर समाचारहरू सुन्नुहुन्छ? सहज भावमा भन्नुभयो- सुनिन्छ नि। अब असहज हुने पालो मेरो थियो। गम खाएँ … समाचार सुन्नेले त सुनेको हुनुपर्ने। फेरि आफैं तर्कना गरेँ, यो पालिको समाचार ब्रगेल्ती आइसकेको छैन। पोहोरको समाचार बिर्सिसक्नु भयो होला- आफ्नो दैनिक जीवनमा कतै नछुने, थपक्क एक दिन आएर जाने कुराको सम्झना गरेर पनि के साध्य? यो संर्घषले भरिपूर्ण जीवनमा।

यस आलेखमा समावेश सीमित तथ्यकै आधारमा नारी दिवसको उपादेयता नकार्नु तथ्यको अतिशय सामान्यीकरण बाहेक केही हुँदैन। तर नारी दिवस मनाउँदै कानुनी र नीतिगत उपलब्धतासहित अन्तर्राष्ट्रिय फोरममा गर्विलो उपस्थिति जनाए पनि स्थानीय फाँट र बस्तीमा ती उपलब्धीहरूले किन बलियो गरी टेक्न सकेको छैन? प्रश्न गर्ने बाटो भने खुलेको छ। पोहोर साल नै सगरमाथा क्षेत्रको ‘काला पत्थर’ चढेको नारी दिवस अब कम्तीमा ‘कालिमाटी’तिर पनि फर्किनुपर्ने हो कि!

twitter: @ConnectSujana

फाल्गुन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्