११३ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस विशेष

के महिला मुक्तिका लागि विवाह संस्था भत्किनैपर्ने हो?

नारी दिवसको एक दिन अगाडि मात्र ‘अपराजिता पारिजात’ आयोजित ‘विवाह संस्था र महिला’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ आक्रोशित सुनिए, ‘विवाह नामको संस्था भत्किनुपर्छ।’ तर समाजशास्त्रका प्राध्यापक डाक्टर युवराज लुईंटेलले विवाह संस्थाले समाजलाई एकीकृत गर्न सघाएको बताउँदै भने, ‘जसले विवाह गर्‍याे उसले पछुतायो, जसले गरेन उसले झनै पछुतायो।’ लुईंटेलकाअनुसार विवाह संस्था सभ्यतादेखि चलिआएको चलनलाई सिंगो मानव समाजले पछ्याएको हुनाले अहिले नै मास्न सकिँदैन।

विवाह प्रणालीलाई सहज बनाउन सुधार गर्नुपर्ने धेरै कारणहरू भएपनि भत्काउने पक्षमा लुईंटेल देखिएनन्। उनी भन्छन्, ‘समाजमा विवाह नामको संस्थामा ठक्कर नखाइ अगाडि बढ्न सकिन्न। उत्पादनशील र समतामूलक समाज बनाउन विवाहको आवश्यक छ।’ प्राध्यापक लुईंटेलको कुरामा अर्की वक्ता समाजशास्त्रकी प्राध्यापक नारायणी देवकोटा पूर्ण सहमत नभए पनि उनका केही विचारहरू लुईंटेलका विचारसँग मिल्यो।

महिला पुरुष बराबरी भने पनि दुई जनाको सम्बन्धमा विभेद छ, त्यो सत्य हो। विवाह दमनको हतियार हो, जसले छोरीको हुलिया देखाउँछ। ज्वाइँको हुलिया देखाउँछ। त्यतिमात्रै होइन, विवाह संस्थाले वर्गीय मानसिकता स्थापित गर्छ

समाजशास्त्री नारायणी देवकोटा पितृसत्तात्मक समाजमा छोरीको विवाह गर्दा बाउले एक छाक छोड्ने चलनको सन्दर्भ जोडिन्,  ‘एक छाक छोड्ने त श्राद्धमा हो तर छोरीलाई कन्यादान दिनुअघि पनि एकछाक छोड्छन्। यो विभेदपूर्ण सम्बन्ध हुनुको पछाडि परिवार, निजी सम्पत्ति र राज्य सत्ताको कारण हो।’

महिला भएपछि अनिवार्य विवाह गर्नुपर्ने। श्रीमानको घर अनिवार्य जानु पर्ने। समयमा विवाह गरिएन भने भनेजस्तो केटा नपाउने। अथवा विवाह नै नगरे जन्मघरमा दाजुभाइले नहेर्ने। बाउको अंश नपाउने। माइतमै बस्यो भने बुढीकन्या भइ, विवाह गर्न सकेनन् अथवा कसैले मन पराएनन् जस्ता कुरा काटिने अहिले समाजमा छ।

‘तेरो बाउको बिहे देखाइदिन्छु’ कसैसँग रिस उठ्यो वा धम्की दिनुपर्‍याे भने समाजमा यस्तो भन्ने गरिन्छ। देवकोटा बाउले धेरै विवाह गरे पनि नदेखिने तर आमाले धेरै विवाह गरे देखिने समाजले बहुपति र बहुपत्निमाथि बहस हुनुपर्ने बताउँछिन्। ‘समाजमा आजसम्म तेरो आमाको विवाह देखाइदिन्छु भनिँदैन किनभने पुरुषले जति पनि विवाह गर्न मिल्ने प्रचलनले यस्तो भाष्य स्थापित भएको हो’, उनले भनिन्।

‘महिला पुरुष बराबरी भने पनि दुई जनाको सम्बन्धमा विभेद छ, त्यो सत्य हो। विवाह दमनको हतियार हो, जसले छोरीको हुलिया देखाउँछ। ज्वाइँको हुलिया देखाउँछ। त्यतिमात्रै होइन, विवाह संस्थाले वर्गीय मानसिकता स्थापित गर्छ। जस्तै, अमेरिकामा बस्ने ज्वाइँ र नेपालभित्रकै गाउँघरमा बस्ने ज्वाइँलाई गरिने सम्बोधनमा फरक छ। यसले वर्गको कुरा गर्छ’,  देवकोटा भन्छिन्,  ‘यौनिकतालाई हामी कि ग्लोरीफाइ गर्छाैँ कि घृणाले हेर्छौँ। तर हामीलाई नै आश्वासन दिने साथीको आवश्यक पर्छ कि पर्दैन त। यसमा बहस हुन जरुरी छ।’

तर डा. लुईंटेल विवाह संस्थाभन्दा पनि विवाह भित्रको आयाममा समस्या रहेको बताउँछन्। ८० प्रतिशत हिंसा विवाह पछि पुरुषले महिला माथि गर्ने गरेको सुनाउँदै उनले भने, ‘विवाह भनेको एकल परिवार हो तर बहुपति विवाह गर्ने सन्दर्भ पनि रहेको छ। जस्तै बहुपत्नी विवाह छ्यापछ्यापी छ तर बहुपति विवाह पनि यही समाजमा छ। त्यसलाई बिर्सन हुँदैन।’

हुम्लाजस्ता केही हिमाली जिल्लामा हुने बहुपति विवाहको सन्दर्भ जोड्दै बहुपति विवाह गर्ने महिलाको शक्तिको बारेमा उनले भने,  ‘यौनिकताको केन्द्रमा पनि महिला, सूचनाको केन्द्रमा पनि महिला, सम्पत्तिको केन्द्रमा पनि महिला भएपछि पावर पनि त्यहीनिर हुन्छ। समयको ब्यालेन्स मिलाउनुका साथै चार-पाँच दाजुभाइले कमाएको सम्पत्ति पनि ती महिलाको जिम्मामा हुन्छ। यसरी हेर्दा एकल विवाह त विस्थापित नै हुन सक्छ।’

विवाहको उल्टो अभ्यास पारपाचुके हो भने समाज कता जान्छ त? अर्थात् विवाहलाई उल्टो अभ्यासतिर लैजाने हो भने समाज समाजजस्तो रहँदैन भन्ने तर्क गर्छन् लुईंटेल।

‘विवाह पछि नै समाज बन्ने हो र समाज भनेको घुलमिल हो। सम्बन्ध हो, घनिभूत हो’, उनी भन्छन्,  ‘यदि डिभोर्स नै महिला मुक्ति हो भने त समाज अनुशासनहीन हुँदै जानेछ, यसमा पनि छलफल हुन जरूरी छ।’

विवाह भएपछि मात्रै परिवार बन्छ भन्ने कुरा कुन चाहिँ विश्वविद्यालयमा छ ? कुनचाहिँ पाठ्यक्रममा छ? मानव समाज परिवारविहीन कहिले भयो ? महिलापुरुष अलग छन् कुन समाजशास्त्रले भन्यो ?कुन विश्वविद्यालयले भन्यो?

तर आहुति डा. लुईंटेलको कुरामा सहमति हुँदैनन्। उनी दुवै वक्ताको सन्दर्भलाई छुँदै फरक विचार सुनाउँछन्, ‘नेपालमा महिलासम्बन्धी बहस धेरै कमजोर भएको र अहिले पनि त्यो अवस्था रहेको सन्दर्भ कोट्याउँदै उनले भने,  ‘संख्यामा गन्ती गर्‍याे भने एउटा नारी भन्ने पत्रिका निस्किदो रहेछ नेपालमा। त्यसले महिलाले लगाउने प्रशस्त सुनको गहनाको प्रचार गर्दोरहेछ। त्यसले प्रशस्त फेसनका कपडा र मेकअपका साधनको प्रचार गर्दोरहेछ। कुन चाहिँ महिला राम्रो रहेछ छान भन्दो रहेछ। त्यो एउटा माल रहेछ, बिकाउको चिज रहेछ।’

आहुतिका अनुसार सबभन्दा सुन्दर गीत लेखेँ भन्ने गीतकारहरूले पनि महिलाको तारिफ गरेर गीत लेखेका छन्। सबैभन्दा बढी प्रेम महिलालाई गरेको छु भन्ने हाेनहार प्रेमीले महिला मुक्तिका लागि महिलाको पक्षमा वैचारिक बहस हुने खालको पत्रिका प्रकाशन गरेका रहेन छन्।

उनले अन्तरक्रिया कार्यक्रममा मञ्चतिर देखाउँदै विश्वविद्यालय नै आएको देखाए र प्राध्यापकद्वयतिर इङ्गित गर्दै भने,  ‘हामीलाई के पनि थाहा छ भने- नेपालको विश्वाविद्यालयले कहिल्यै विद्रोहीहरू जन्माएन। विद्रोही जन्माउन हामीलाई जहिल्यै अनौपचारिक विश्वविद्यालयको खाँचो पर्‍याे। पाठ्यक्रमको कुनै पनि पुस्तकमा त्यो लेखिएको छैन। हामी मुक्ति खोजिरहेका छौँ। पाठ्यक्रममा मैले पढ्दा ‘भिनाजुको स्वीटर’ पढेको थिएँ,  अहिले ‘नजन्माएको छोरो’ पढाइएको छ। ‘सिटीहरू र बुढो ज्यामी’ पढाइँदैन।’

‘विवाहको विपरीत सम्बन्ध-विच्छेद हो भनेर किन भयभीत बनाइयो?’, आहुति प्रश्न गर्छन्।

उनकाअनुसार महिला र पुरुष सँगै बस्नुलाई विवाह भनेको होइन, जुन एक लाख वर्षदेखि महिला र पुरुष सँगै बस्दै आएका थिए र छन्। युवल नोह हरारीको पछिल्लो तीन पुस्तकको सन्दर्भ जोड्दै ७५ हजार वर्षदेखि विवाह संस्था कोट्याउँदै उनी भन्छन्,  ‘विवाह भएपछि मात्रै परिवार बन्छ भन्ने कुरा कुन चाहिँ विश्वविद्यालयमा छ ? कुनचाहिँ पाठ्यक्रममा छ? मानव समाज परिवारविहीन कहिले भयो ? महिलापुरुष अलग छन् कुन समाजशास्त्रले भन्यो ?कुन विश्वविद्यालयले भन्यो?’

हिन्दु धर्ममा भन्दा जनजाति समुदायमा महिलाप्रति अलि लचिलो देखिए पनि विवाह भन्ने संस्थाले जनजाति समुदायमा पनि अत्यधिक जिम्मेवारी थुपारेको छ र महिलालाई अधिकार तथा जस दिएको छैन।

‘विवाह भनेको परिवार होइन, विवाह भनेको बच्चा जन्माउनु पनि होइन। विवाह भनेको निश्चित धार्मिक, निश्चित आर्थिक, निश्चत राजनीतिक र निश्चित सामाजिक नियम तथा बन्धनले बाँधेर राख्नु हो’, फरक मत राख्दै आहुति भन्छन्, ‘विवाह संस्था जन्मिएको ८ हजार वर्ष भयो। कुनै समुदायमा त पाँच हजार वर्ष पुगेको छ। र डा. लुईंटेलले भनेको हुम्लातिर त अवशेषको रूपमा भर्खर सुरू भयो भनेर अदालतले पनि मान्दैन।’ विवाहका कारण महिला कसरी बाँधिएको हुन्छ त? उनी प्रश्नसहित स्पष्ट पार्छन्।

हिन्दु शास्त्रमा तीन कुराको निम्ति विवाह गरिन्छ भन्ने छ:

१. धर्म कमाउनका लागि विवाह गरिन्छ (जसले विवाह गर्दैन पापी हुन्छ)

२. पुत्रलाभको लागि विवाह गरिन्छ (जहाँ महिला पाउनका लागि मात्र विवाह गरिँदैन)

३. यौन कर्मका लागि विवाह गरिन्छ (जो दासी सरह हुन्छ)

इस्लाम धर्मको विवाह प्रणालीमा परिवार निर्माणको लागि, सन्तान उत्पादन र यौन सम्बन्धका लागि विवाह गरिन्छ। इसाई धर्मको विवाह प्रणालीमा यौन सम्बन्धका लागि, (व्यभिचारबाट जोगिन विवाह गरिन्छ), परिवारको स्थापनाका लागि, सन्तान उत्पादनका लागि र ईश्वरसँग सम्बन्ध राख्नका लागि विवाह गरिन्छ। तमाम खालको जनजातिको विवाह प्रणालीमा भने पहिला नम्बरमा यौन आउँछ। त्यसपछि सन्तान उत्पादन आउँछ र तेस्रोमा आर्थिक जीवनमा सहयोग पुग्ने भन्ने छ।

यी सबै विवाहको अर्थ के छ त भन्नेमा आहुति यसरी स्पष्ट पार्छन्:

इस्लाम धर्मबाहेक सम्बन्ध-विच्छेद गर्ने अधिकार महिलालाई छैन। एउटा इस्लाममा पूर्णत: पुरुषलाई अधिकार छ। मौला बस्नु पर्छ। इस्लाममा तलाकको अर्थ हुन्छ- बाँधिएको पशुलाई किलाबाट खोलिदिनु अथवा मुक्त गरिदिनु हो। अर्को जनजाति समुदायमा सम्बन्ध विच्छेदको अधिकार छ तर त्यहाँ पनि जारी तिर्नुपर्छ। पछि लैजाने पुरुषले जारी तिर्नुपर्छ।

तर समाजशास्त्री कैलाश राई आहुतिका केही कुरामा सहमति जनाउँदै जनजाति विवाह प्रणालीका बारेमा भिन्न मत राख्छिन्,  ‘हिन्दु धर्ममा भन्दा जनजाति समुदायमा महिलाप्रति अलि लचिलो देखिए पनि विवाह भन्ने संस्थाले जनजाति समुदायमा पनि अत्यधिक जिम्मेवारी थुपारेको छ र महिलालाई अधिकार तथा जस दिएको छैन।’

जनजाति महिलाले अर्थतन्त्र धान्छन् भन्ने होला तर त्यो पनि राज्य सत्ता, शक्ति, पुरुषको शासन र निश्चित राजनीति र सामाजिक सीमान्तकृतमा रहेको नागरिकहरूलाई गरिने शासनसँग पनि जोडिन्छ’, राई भन्छिन्, ‘विवाह भन्ने संस्था महिलाहरूको काँधमा जिम्मेवारी थुपार्ने काम हो

समाजशास्त्री राईका अनुसार महिलालाई केन्द्रमा राखेर विवाह संस्थालाई बुझ्न अनुराध गर्छिन्। उनी भन्छिन्, ‘संसारभरिबाटै विवाह भन्ने संस्था आधारभूत तहबाटै विभेदित स्तरबाट सुरु भएको हो।’

महिलाको यौनिकतालाई ‘जेन्डर’मा राखेर हेर्नु र महिलाको ज्ञानलाई आफ्नो अनुकूलता पारेर नियन्त्रण गर्नु। महिलाले कसरी बोल्ने, कहाँ जाने, के गर्ने, भन्ने सबै विषयमाथि पुरुषको अधिकार स्थापित छ। महिलाको गर्भमा रहेको बच्चा पनि केको लागि र कसको लागि जन्माउने भन्ने प्रश्न पुरुषबाटै आउँछ। ‘विवाह संस्था सुरु हुँदै आएपछि मेरो, म, मलाई भन्ने धारणा बनाइनु केको लागि हो ? उनी भन्छिन्, ‘महिला आफैंमा वस्तुको रूपमा मेरो निजी सम्पत्ति हो भन्ने छ।’

जनजाति महिलाले अर्थतन्त्र धान्छन् भन्ने होला तर त्यो पनि राज्य सत्ता, शक्ति, पुरुषको शासन र निश्चित राजनीति र सामाजिक सीमान्तकृतमा रहेको नागरिकहरूलाई गरिने शासनसँग पनि जोडिन्छ’, राई भन्छिन्, ‘विवाह भन्ने संस्था महिलाहरूको काँधमा जिम्मेवारी थुपार्ने काम हो।’

विशुद्ध बलात्कारबाट सिर्जना गरिएको हो, विवाह संस्था। महिलाहरूलाई बाँध्न विवाह संस्था सुरु भएको हो। नियम बनाइएको हो। हिन्दु शास्त्रमा त बालविवाह गर्न पाइने तर विधुवाले अर्को विवाह गर्न नपाइने बनाइएको छ

आहुति यस सन्दर्भलाई यसरी जोड्छन्, ‘यो सबै प्रचलित विवाह प्रणाली हेर्दा पितृसत्तात्मक समाज बनिसकेपछिको विवाह प्रणाली कायम भएको हो। सबै धार्मिक नीति के हो भने मानिसहरूको सम्बन्ध आर्थिक प्रणालीबाट सुरु हुन्छ भन्ने छ। हाम्रा सामाजिक सम्बन्धहरू आर्थिक सम्बन्धहरूको जगमा उभिएको छ। आर्थिक सम्बन्धलाई विवाह प्रणालीले छोपेको छ। ईश्वरसँग जोडेको छ। ती सबै विवाह प्रणालीको मुख्य उद्देश्य महिलाहरूलाई बन्धनमा राख्नु र पुरुषलाई स्वतन्त्रता दिनु हो।’

तर विवाहबिनाको समाजको परिकल्पना गाह्रो हुने बताए डाक्टर लुईंटेलले। विवाह प्रणालीले मानिसलाई अनुशासन हुन सिकाउने तर्क राखेपछि आहुति विवाह प्रणाली सुरु नै किन भयो भन्ने प्रश्न राख्छन्, ‘विवाह विशुद्ध मानव निर्मित संस्था हो, जहाँ निजी सम्पत्तिमाथि पुरुषले कब्जा जमाउनु छ। आफ्नो सम्पत्तिलाई आफूजस्तै पुरुषलाई दिनु छ त्यसका लागि निजी श्रीमती चाहियो। आफूसँग मात्रै बस्ने श्रीमती चाहियो। त्यसका लागि अर्को कविलाबाट लुटेर ल्याएर विवाह गरियो। सयौँ वर्षदेखि अर्को कविलाबाट लुटेर, कुटेर दासी बनाउँदै निजी श्रीमती बनाइयो। सयौँ वर्षदेखि यो अभ्यास चल्यो। त्यसैमा अभ्यस्त गराइयो महिलालाई। हुँदा-हुँदा बौद्धिक चिजहरू लादियो। महिलाहरूको विवाह अपरिहार्य बनाइयो। लतको रूपमा विकास गरिँदै लगियो।’

‘विशुद्ध बलात्कारबाट सिर्जना गरिएको हो, विवाह संस्था। महिलाहरूलाई बाँध्न विवाह संस्था सुरु भएको हो। नियम बनाइएको हो। हिन्दु शास्त्रमा त बालविवाह गर्न पाइने तर विधवाले अर्को विवाह गर्न नपाइने बनाइएको छ। सति जानु पर्‍याे। आजका युवालाई यस्तो सिकाउनु हुँदैन’, आहुतिले भने,  ‘विवाह भनेको संस्था समाजशास्त्रीहरूले नै यसरी जन्मिएको हो भन्दिनुपर्‍याे। त्यस विषयमा स्पष्ट बनाइदिनुपर्‍याे। विशुद्ध निजी पत्नी राखीराख्न नियम बनाएको हो।’

विवाहले के गर्‍याे?

आहुति भन्छन्, ‘महिलालाई पुरुषको अधिनमा बसिराख्न बाध्य पार्‍याे। हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ। उदार भएर त्यति लेखेका हुन्। ती महिलाको नाम के हो थाहा छैन’,  मानव जीवनको प्रगतिमा फड्को हान्न महिलाको हात जरुरी छ भन्ने लेख सम्झिँदै आहुतिले भने,  ‘संसारको आधा जनसंख्याको हितमा नहुने विवाह संस्थाले प्रगति गर्छ। बरु, महिलालाई अगाडि बढ्न दिँदैन विवाह नामको संस्थाले। सहयोगी बनाएर राख्न भने सक्छ।’

विवाह संस्थाले महिलाहरूको जीवन आठ हजार वर्षदेखि ध्वस्त बनाएको बताउँछन् आहुति। भन्छन्, ‘समाजका सबै विकृतिलाई विवाह भन्ने संस्थाले जोगाउने कोसिस गरेको छ।’

विवाह नामको सांस्कृतिक बन्धनबाट समाज जबसम्म मुक्त हुँदैनन् तबसम्म महिला मुक्ति हुँदैन

तर डा. लुईंटेलका अनुसार विवाहमा समस्या होइन,  ‘जेन्डर’ वर्गीकरणमा समस्या हो। यसलाई न्युनीकरण गर्न सके विवाह संस्थामा समस्या हुँदैन।
‘समस्या विवाहमा होइन। विवाहले हाम्रा अवसरहरूलाई बञ्चितीकरण गर्न खोजेको चाहिँ हो’, डा. लुईंटेल भन्छन्, ‘हरेक कोणबाट रूपान्तकारिक भूमिका खेल्नु पर्‍याे। हामीले परिवर्तन गर्न सिकाउने हो। बाहिर आउने सहज वातावारण बनाउने हो।’

देवकोटा भने महिलाहरू नै बढी संवेदनशील हुनुपर्ने बताउँछिन्। आफ्नो सवालमा आफैंले निर्णय लिन सक्नुपर्ने बताउँदै उनले भनिन्, ‘समाजले जातको आधारमा र वर्गको आधारमा पनि सम्बन्ध स्थापित गर्न दबाब दिँदै आएको छ।’ लैङ्गिक अल्पसंख्यक समुदायका पात्रको अधिकारमाथि पनि बहस हुनुपर्ने बताउँछिन् देवकोटा। भन्छिन्, ‘महिलाले महिलासँग राख्ने सम्बन्ध पुरुषले पुरुषसँग सम्बन्धलाई लिएर खुल्न सकिन्न। यस विषयमा पनि छलफल हुन जरुरी छ।’

छोरीलाई दिइने अधिकार र छोरालाई दिइने अधिकारमा हुने भिन्नताबाटै विभेद सुरु हुने बताउँछिन् देवकोटा। ‘विवाह भनेको यौनिक सन्तुष्टिका लागि हुन र परिवारको सम्बन्धलाई स्थापित गर्नका लागि पनि जरुरी रहेको होला’, उनले भनिन्, ‘विभेद हटाउन खोजेको हो कि विवाह भत्काउन खोजेको हो भन्नेमा स्पष्ट हुनुपर्छ।’

तर विश्लेषक आहुति विवाह संस्थालाई नभत्काएसम्म महिलाले मुक्ति नपाउने बताउँछन्। ‘विवाह नामको सांस्कृतिक बन्धनबाट समाज जबसम्म मुक्त हुँदैनन् तबसम्म महिला मुक्ति हुँदैन’, उनले भने, ‘लाखौँलाख महिलाहरूले सम्बन्ध-विच्छेद नगरेससम्म विवाह संस्था भत्किँदैन, र विवाह संस्था भत्कियो भने अर्थात् निजी परिवार भत्कियो भने मात्र महिला मुक्ति हुनेछ।’

फाल्गुन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्