एउटी महिलाको संघर्ष

उर्मिला सेम्बुलाई चिया बेच्न बाध्य पार्ने एमएको सर्टिफिकेट

डेरा अगाडिको त्रिभुवन विश्वविद्यालय, माथिबाट घामको पहिलो झुल्को पर्दा नभएको झ्यालबाट कोठामा नछिर्दै उर्मिला सेम्बुको चुलोमा तीन थर्मस चिया पाकिसक्छ।

हरेक बिहान ४ बजे उठ्ने, २० मिनेट हिँडेर पाँगा दोबाटोको डेरीबाट दूध ल्याउने र चिया पकाएर तीन वटा थर्मसमा भर्दा साढे ६ बजिसकेको हुन्छ।

‘यस्तो गर्दा चिया सेलाउँदैन के! बेलुकासम्म बेच्नुपर्छ’, सफा गरेर राखेको प्लास्टिकले थर्मसको मुख बन्द गरिन् र ढक्कन लगाउँदै सेम्बुले भनिन्। ल्वाङ, सुकुमेलको पोकोबाट एक-एक वटा झिकेर मुखमा राखिन् अनि गाँठो पारेर झोलामा हालिन्। हाँस्दै भनिन्. ‘दिनभरि मुखमा हालिरहन मन पर्छ।’

बाटोपारि बिजुलीको तारमा तीन जोडी परेवा बसेर उनको झ्यालमा हेरिरहेका थिए। झ्यालबाहिरको सानो खाली ठाउँ देखाउँदै भनिन्, यहाँ चारो राखी दिएको छु, म गएपछि आएर खान्छन्।

कीर्तिपुरको डेरामा बिहान साढे ६ बजेतिर चिया पकाउँदै उर्मिला सेम्बु।

झ्यालको चुक्कुल लगाइन्, झोला बोकिन्। झोलामा कागजका कप थिए र केही गेडा कागती पनि। ‘कस्तो गाह्रो हुन्छ हातमा तीन वटा थर्म बोकेर हिँड्न’, एक हातमा दुइवटा र एक हातमा एउटा थर्मस उठाउँदै उनले भनिन्। ‘पहिला ऊ पर बस्थेँ’, ट्याङलाफाटतिर देखाउँदै उनले भनिन्, ‘गाडी चढ्न टाढा भएपछि यहाँ आएर बस्न थालेको हुँ।’

हातमा तीन वटा थर्मस बोकेर कीर्तिपुरको कोठाबाट निस्कँदै उर्मिला सेम्बु।

उनको डेराबाट कीर्तिपुर छिर्ने गेट देखिन्छ। उनी हरेक बिहान त्यही गेट छेउमा यात्रु पर्खिएर बसिरहेका बस चढेर अरु जस्तै आफ्नो कामको यात्रामा लाग्छिन्।

बल्खु झर्छिन् र चक्रपथको बस चढेर तिलगंगाको आँखा अस्पताल पुग्छिन्। आँखा अस्पताल आसपासका क्षेत्र उनका कामका क्षेत्र हुन्। यो यही ठाउँ हो जहाँबाट उनले आठ महिनाअघि चिया बेच्ने व्यापार सुरु गरेकी थिइन्।

२०७९ साउन १० गते उर्मिला सेम्बु कीर्तिपुरबाट शिवजीको दर्शन गर्न पशुपति लागिन्। ‘म त शिवजी को भक्त्त’, हाँस्दै उनले भनिन्, ‘सानैदेखि स्वस्थानीको व्रत बस्थेँ, त्यसैले शिवले मेरो सबै कुरा पुर्‍याएजस्तो लाग्थ्यो। पशुपतिको दर्शन गरिन् फर्कदा पाकेटमा ५०० रुपैयाँ बचेको थियो। घरवेटीले भाडामा मागेको माग्यै थिए। घरमा कति माग्नु हैरान भइसकेको थिएँ। लाज पनि लाग्न थालेको थियो।’ के गर्ने अत्तोपत्तो थिएन।

कीर्तिपुर गेटमा बस चढ्दै उर्मिला सेम्बु।

पशुपतिमा दर्शन गर्न आउने मान्छेको भिडभाड, गाडी पार्किङ गर्ने ठाउँमा मान्छेको चहलपहल र तिलगंगा आसपासमा मान्छेको आउजाउ सेम्बुको मनमा आइडिया आयो। चिया बेच्ने। भोलिपल्ट साउन ११ बाट उनले पशुपति आसपासमा उनकै शब्दमा चिया चलाउन थालिन्।

‘मलाई लाग्यो चिया चलाइहेर्छु एकपटक’, उत्साहित हुँदै उनले भनिन्, ‘हतार–हतार थर्मस किनेर चिया सिया बनाएर लगेर बाँड्छु त खान्छन् हो फेरि। पैसा त अलि अलि गोजीमा आउन पो थाल्यो फेरि।’

केही दिनपछि चिया बेच्दै पशुपतिको बस पार्किङ गर्ने ठाउँमा पुगेको उनी अचम्ममा परिन्। उनले भनिन्, ‘त्यहाँ त टन्नै मान्छे चिया बेच‍िरहेको देखेँ। त्यसपछि मलाई लाज लाग्नै छोड्यो।’

तिलगंगामा उर्मिला सेम्बु।

‘उहाँहरुले बेचेको देखेर मैले बेच्न सुरु गरेको होइन सत्य’, उनले भनिन्, ‘म बेच्दै जाँदा उहाँहरुलाई भेटे त्यसपछि हाँस्दै खेल्दै सँगै चिया बेच्न थाल्यौँ।’

त्यसपछि केही समय उनले त्यहाँ चिया बेच्न थालिन्। एउटा थर्मस दुइटाबाट तीन वटा भए। दिनमा ७० कप चिया बेच्‍ने उनले २१० कप बेच्न थालिन्। उनी यसैमा रमाउन थालिन्।

तर, उनले सोचेको जिन्दगी त यस्तो थिएन जुन सपनाको सानो पोको बाँधेर उनी १४ वर्षअघि ताप्लेजुङबाट काठमाडौँ आएकी थिइन्।

एसएलसी सकियो। एकदिन ठुल्दाइले बोलाएर भन्नुभयो, ‘ए बहिनी हामी पनि पढ्दै छौँ तिमी यत्ति नै मात्र पढ्ने हो कि अझै पढ्ने?’ परिवारमै छोरीलाई पढाएर के काम भन्ने पनि कुरा चलिरहेको थियो।

‘उनीहरु छोरी पढाएर के काम भन्थे भने म घरमा बसेरचाहिँ के काम भन्थेँ’ हाँस्दै उनले भनिन्। दुई दिन बाँकी थियो, आइएको फर्म भर्नका लागि उनी घरमा रुन थालिन्। ‘मेरो त आइए पढ्ने ठूलो धोको, एएए… म त रुन थालेछु, रुँदा रुँदा म त भ्वाक्कै ढलेछु’ मुस्काउँदै उनले भनिन्।

यो बेलुकी पखको कुरा हो। ‘यो त रुँदा रुँदै मर्छ होला हो! भनेर भोलिपल्ट बिहानै मेरो साँइला दाजु पैसा, मार्कसिट, फोटा बोकेर सदरमुकाम फुङलिङ झर्नुभयो’, हाँस्दै उनले भनिन्।

त्यसपछि उनले आइए पढ्न पाइन्। उनी ताप्लेजुङको फावाखोलाको गाउँबाट सदरमुकाम फुङलिङ पढ्नका लागि झरिन्। उनको गाउँ पाथीभरा मन्दिरभन्दा केही तल माथिल्लो फेदीबाट दायाँ ओरालो झर्नुपर्छ।

आइए सकियो, अब बिए पढ्नलाई पनि मन बन्यो। फेरि घरमा उही प्रश्न ‘कति पढ्ने बहिनी?’ मन त पढाइ गर्नेमै थियो। के गर्ने त घरमा बसेर भनेर फेरि उनले बीए पढ्न सुरु गरिन्।

गाउँतिरै पढाउने बिचार पनि नआएको होइन। तर, कसले लगाइदिने? ‘जागिर पाउनको लागि के–के पेल्नुपर्ने हुन्छ भनेको सुनेको थिएँ तर मैले, मेरो परिवारले कोही चिनेको थिएन’, उनले भनिन्।

अब डिग्री पढ्नुपर्छ भन्ने उनलाई लाग्यो। सँगै पढेको साथी दिव्या पाैडेल डिग्री पढ्न काठमाडौँ हिँडिसकेका थिए। लौ… सबै साथीहरु पढ्न हिँडेछन् मचाहिँ के गर्ने? म पनि लाग्छु काठमाडौँ पढ्न भन्ने उनलाई लाग्यो।

१५ र १२ बर्षकाे उमेरमा दुई जना दाइ बिते। साँइला दाइ ठूलो दाइ भए। उनकै बिहेमा मलाई दिएको आधा तोलाको सुनको मुन्द्री थियो। ‘मेरो पालो मैले त्यो त बेचिदिएँ,’ हाँस्दै उनले भनिन्। आधा तोलाको सुनको १२ हजार ५ सय मात्र आयो।

घरमा ‘लौ मत पढ्न जान्छु’ भनेँ एकछिन मौन भएर उनले भनिन् ‘अब के को पढ्ने? घरमा खर्च छैन त! यो खालि उफ्रिन्छे मात्रै घरमा सबैको एक स्वर भयो।’

‘बिहेका लागि घरमा आएका आयै थिए,’ मुस्कुराउँदै उनले भनिन्, ‘म त हिँडे काठमाडौँ पढ्नका लागि।’

२०६७ तिरको कुरा हो घरमा बिहेको कुरा चल्दै थियो। ‘कुरा गर्न एक जना आफन्तले एक जना शिक्षकलाई लिएर घर आउँदै हुनुहुन्थ्यो त्यसैदिन म त काठमाडौँ टाप ठोकेँ’, अट्टाहास गर्दै उनले भनिन्, ‘उहाँहरु घर नपुगेर फर्कनुभएछ पछि थाहा पाएँ।’

झ्यालबाट त्रिभुवन विश्वविद्यालय देखाउँदै उनले भनिन्, ‘यो टीयुमा मेरो गहना पस्यो।’

कीर्तिपुरको कोठामा उर्मिला सेम्बु।

‘पहिलो बर्ष मैले दु:खले पढेँ। खर्चको अभाव हुन्थ्यो,’ मलिन स्वरमा उनले भनिन, ‘अति नै गाह्रो भयो। कति दिन भोकै सुतियो।’

‘मलाई याद छ तीन दिनसम्म भोकै सुतेको,’ हाँस्दै उनले भनिन्। उनी कहिलेकाहीँ साथीहरुकोमा जान्थिन् ‘भात पकाओ न ओ!’ भनेर भात खान्थिन्। कहिलेकाहीँ साथीहरुसँग ५००- १००० सापटी माग्थिन्।

त्यतिबेला उनलाई ब्रिटिस आर्मीबाट अवकाश पाएका मामाले सहयोग गरेका थिए। उनले हरेक महिना केही पैसा पठाउँथे जुन उनको सरसापट तिर्दा नै सकिन्थ्यो।

खेती–किसानी गरेर घरव्यवहार चलाउने बा- आमासँग माग्ने अवस्था थिएन। जनु कुरा विश्वविद्यालयका प्राध्यापकहरुलाई पनि थाहा थियो। यो नानीले धेरै दु:ख पाएको रहेछ भनिरहनुहुन्थ्यो र भन्नुहुन्थ्यो- तिम्रा लागि केही सहयोग गर्छौं।

दोस्रो बर्षमा पुग्दा नर्वेबाट एउटा अध्ययनको लागि आएको अवसरमा मैले प्रपोजल हालेँ। मलाई पर्‍यो र मैले त्यो काम गरेबापत दुई लाख पाउने भएँ। जसमा मैले पूर्वका ९ वटा जिल्लामा गएर जग्गासम्बन्धी अध्ययन गर्नुपर्ने! आफूले प्रकाशन गरेको किताव देखाउँदै उनले भनिन्। ‘यो काम गरेपछि मलाई खानको पनि दु: ख भएन र डिग्री पनि मज्जाले सकेँ’, उनले भनिन्।

त्यसपछि उनले मामालाई भनिन्, ‘मामा मलाई अब पैसा पठाउनु पर्दैन।’

उनले अर्को अध्ययनको मौका पाइन् जसबाट उनले ३ लाख रुपैयाँ पाइन्। ती दुई अध्ययनलाई उनले २०७१ मा ‘किपटको अपहरण र पहिचानको आन्दोलन’ किताव र २०७२ मा ‘दुई धार’ नाममा अनुसन्धानमूलक उपन्यास प्रकाशन गरिन्। ‘मलाई यी दुई किताव छाप्न एक लाखभन्दा बढी लाग्यो,’ उनले भनिन्, ‘केही बेचेर केही पैसाको जोहो भयो।’

२०७१ सालमा उनले त्रिविबाट नेपाली विषयमा एमए पास गरिन्।

उर्मिला सेम्बुले प्रकाशन गरेका दुई पुस्तक।

तर यत्तिले कहाँ हुन्थ्यो र उनले भनिन्, ‘डिग्री पढ्दैताका मलाई यही टीयुमा प्राध्यापक बन्ने रहर जाग्यो।’ उनलाई पढाउने सरहरुले करारबाट सेवा सुरु गर्न सल्लाह दिएका थिए तर उनले नामै निकाल्ने अठोट गरिन्। सबै चिनेजानेका मात्र यहाँ करारमा नियुक्त्ति हुन्छ मलाई कसले यहाँ राख्ने उनले भनिन् अनि दुई बर्षअघि खुलेको सेवा आयोगमा उनले आवेदन दिइन्।

तर, त्यसको अहिलेसम्म अत्तोपत्तो छैन। यो चैतमा ठ्याक्कै दुई वर्ष पुग्छ फर्म भरेको, केही आक्रोशमिश्रित स्वरमा उनले भनिन्, ‘महिला, जनजाति के–के गरेर मैले ४५ सय रुपैयाँ तिरेको छु तर कहिले टुङ्गिने ठेगान छैन।’

करिव एक बर्षपछि वैशाखमा परीक्षा तोकिएको थियो। केन्द्र पनि तोकिएको थियो तर परीक्षाको अघिल्लो दिन सेवा आयोगमा ताला लाग्यो। करारमा हुने प्राध्यापकहरुले आफूहरु स्थायी हुनुपर्ने माग गर्दै टियूभित्र रहेको सेवा आयोगको कार्यालयमा ताला लगाइदिए। परीक्षा रोकियो। उर्मिला र उनीजस्तै परीक्षा कुरेर बसेकाको अन्योल लम्बियो।

परीक्षा कहिले हुने हो ठेगान भएन। उर्मिलालाई यसको जवाफ चाहिएको थियो। उनी जवाफ खोज्न थालिन्। हातमा सुनुवाइको माग गर्दै लेखिएको पत्र बाेकेर हिँडिरहन्थिन्। असारको एक दिन प्रज्ञाप्रतिष्ठानको कार्यक्रममा प्रचण्ड र त्यतिबेलाका शिक्षामन्त्री देवेन्द्र पौडेल भेटिए, उनले पत्र उनीहरुको हातमा थमाइन् र आफ्नो समस्या राखिन्। उनीहरुले समस्या सुल्झाउने आश्वासन दिए र त्यहाँबाट हिँडे। उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न पुगिन्। ‘उहाँलाई भेट्‍न गाह्रो हुँदोरहेछ,’ उनले भनिन्, ‘देउवाका पिए भानु देउवाको हातमा त्यो चिठी छोडेर निस्किएँ।’

चिया कपमा हाल्दै उर्मिला सेम्बु।

असारको अन्तिमतिर उनी मन्त्री पौडेललाई भेट्न मन्त्रालय नै पुगिन्।

‘सुरुमा त मलाई भेट्न दिएका थिएनन्, पछि मन्त्रीज्यू आफैँ बाहिर आएर मेरो कुरा फेरि सुनिदिनुभयो’, उनले भनिन्।

शिक्षामन्त्रीलाई भेटेर उनले भनिन्, ‘मन्त्रीज्यू कि यो परीक्षा चाँडो गराउनुपर्‍यो कि मलाई तपाई‌ंजस्तै मन्त्री बनाउनुपर्‍यो म समस्याको समाधान गर्छु।’ हाँस्दै उनले भनिन्, ‘मैले यो भन्नुहुन्थ्यो कि हुन्थेन थाहा छैन तर मैले भनेँ। यो मेरो आक्रोश थियो।’

त्यसपछि उनका केही दिन परीक्षा हुने आशामा कीर्तिपुरको कोठामै बिते। तर,  हुने छाँटकाँट थिएन। भगवानमा आस्था राख्ने उनी साउन १० गते पशुपतितिर लागिन् जहाँबाट उनलाई चिया बेच्ने आइडिया मिल्यो।

बागमतीपारिको पशुपतिनाथ मन्दिर देखाउँदै उनले भनिन्, ‘ऊ त्यहाँबाट नै मैले चिया बेच्न सुरु गरेको हो।’

तिलगंगा आँखा अस्पतालको पूर्वपट्टि बागमती खोला छेउको पार्किङमा एक रुखको छहारीमा उर्मिला तीन वटा थर्मसमा चिया बेचिरहेको भेटिन्छिन्। एउटा थर्मसमा ७५ कप चिया अट्छ। दुइवटा थर्मसमा दूध चिया र एउटामा कालो चिया। एक कप दूध चियाको २५ रुपैयाँ र कालो चियाको १५ रुपैयाँ।

बिहान आठ बजे उनी तिलगंगा पुगिसक्छिन्। ‘धेरै बिहान आउन सकिँदैन, आए पनि महानगर प्रहरी घुमिरहेको हुन्छ,’ हाँस्दै उनले भनिन्। बेलुका डेरामा पुग्दा नौ बजिसकेको हुन्छ।

कागजको सानो कपमा कालो चिया हालेर ट्याक्सी ड्राइभरलाई दिँदै भनिन्, ‘यो देशमा पढेर मात्र हुँदो रहेनछ।’ छेउमा बस कुरेर बसेका अधबैसे दाईले पनि टाउको हल्लाउँदै भारी स्वरमा हो मिलाए।

उर्मिला मुसुक्क हाँसिन्, थर्मसको ढक्कन लगाउँदै थिइन्। पूर्व जाने बस आएर केही अगाडि रोकियो। उनी त्यतै लागिन्। हामी पनि उनकै पछिपछि।

सबै कुराको बाटो बन्द भएपछि उनले यो व्यवसाय थालेको आठ महिना भयो। चिया बेच्ने गरेको घरमा सबैलाई थाहा छ। सबै छोडेर घरमा आइज भन्छन् तर उनलाई उपप्राध्यापक बन्नु छ। घरमा आमा-बुवा हुनुहुन्छ। एक जना दाइ जापान छन् एक दाइ र भाइ गाउँमा। एउटा भाइ विदेश छन्। एक दिदी छिन् जसको बिहे भैसकेको छ।

‘माइलो दाइ दसैँताका आएर मेरो चिया बेचेको हेरेर जानुभयो। नगर भन्नुभएको थियो तर यो उमेरमा म कसरी अरुको सहारामा बस्न सक्छु,’ उनले भनिन्, ‘ठूल्दाइ र भाउजू तिहारताका जापानबाट आउनुभएको थियो उहाँहरुले पनि नगर भन्नुहन्थ्यो। मैले भनेको छु एउटा राम्रो जागिर पाएपछि यो काम छाड्छु।’

तस्बिर: सुलभ श्रेष्ठ

फाल्गुन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्