परिवारको साथमा अघि बढेकी प्रशंसा जो हाँक्छिन् क्युएफएक्स (भिडियो)

काठमाडौं- सिनेमा हेर्न कसलाई मन पर्दैन र, त्यसमा पनि प्रविधियुक्त हलमा बसेर। त्यसैले पनि हिजोआज हरेक मान्छेको रोजाइमा ‘क्युएफएक्स’ सिनेमा हल पर्ने गरेको छ।

नयाँ प्रविधि भित्र्याउन सँधै एक कदम अगाडि रहेको सिनेमा हलका रुपमा पनि क्युएफएक्स उतिकै परिचित मानिन्छ। नेपालमा नम्बर १ मानिएको क्युएफएक्स सिनेमा हल हाँकिरहेकी छिन् प्रशंसा पाण्डेले।

पाण्डे क्युएफएक्स सिनेमा हलको महाप्रबन्धक हुन्। क्युएफएक्स सिनेमा हल ‘टिम क्वेस्ट प्रा.लि’ बाट संचालित संस्था हो। टिम क्वेस्ट प्रा.लि आफैमा महिलामैत्री वातावरण भएको संस्था पनि हो।

यस संस्थामा हाल २२ जना कर्मचारी कार्यरत छन् जसमध्ये १२ जना महिला प्रतिनिधित्व रहेका छन्। उनीहरु सबैलाई पाण्डेले नै नेतृत्व गरिरहेकी छिन्।

पाण्डे हाल ३७ बर्षकी भइन् । उनी सानो उमेरमा नै सफल व्यवसायीको रुपमा परिचित भइसकेकी छिन्। उनी काठमाडौँमा नै जन्मिएर हुर्किएकी हुन्। उनले महेन्द्र भवनबाट कक्षा १० सम्मको शिक्षा लिइन्। त्यसपछि उनले ‘प्लस टु र व्याचलर’ किस्ट कलेजबाट गरेकी हुन्। त्यसपछि स्नातकोत्तर शिक्षा पनि काठमाडौँबाटै सकाएकी हुन्। उनले २०११ मा स्नाकोत्तरसम्मको शिक्षा हासिल गरिसकेकी थिइन्।

उनको पढाइ मार्केटिङसँग जोडिएको नै विषय भएकाले स्नाकोत्तर तह पढ्दै गर्दा उनले ‘इन्टर्नसिप’ का रुपमा सूर्य नेपाल नामक संस्थामा काम गर्न सरु गरिन्। उनको व्यवसायिक सुरुवात यहीँबाट सुरु भएको हो।

सुरुवाती चरणमा दिएको काममा नै राम्रो सफलता हासिल गरेपछि उनलाई त्यही संस्थामा कामको लागि प्रस्ताव आयो। स्नातकोत्तर तहको परीक्षा दिएको २ दिनबाट नै उनी काम गर्न थालिन्। उनले त्यसपछि साढे ५ बर्ष भने बैंकिङ क्षेत्रमा बिताइन्। त्यतिबेला उनको आमाको स्वास्थ अवस्था नाजुक थियो। आमालाई क्यान्सर रोगले सताएको थियो।

पाण्डेले आमाको स्वास्थ अवस्थाकै कारण बैंकिङ क्षेत्रमा गर्दै आएको कामलाई पूर्णविराम लगाउने निधो गरिन्। तर सो क्षेत्रमा रहँदा उनले धेरै काम सिक्ने अवसर पाएको उनी सुनाउँछिन्। संस्थालाई कसरी चलाउनुपर्ने रहेछ भन्ने कुरा उनले त्यहाँबाट सिकिन्।

उनको आमाको २०१७ सालको अन्त्यतिर मृत्यु भयो। उनी परिवारको कान्छो सदस्य भएपनि आमाको निधनपछि उनका केही जिम्मेवारीहरु थपिए। बैंकिङ क्षेत्रको काममा समय दिन नसक्ने भएपछि उनले अन्य क्षेत्रमा काम गर्ने निधो गरिन्। त्यसपछि उनले केही समय शैक्षिक क्षेत्रसँग जोडिएर काम गरिन्।

उनले काम गर्ने संस्था बेलायती संस्था थियो। स्वदेशी संस्थाहरुसँग यसअघि नै जोडिएर काम गर्ने अवसर पाइसकेकी उनलाई अन्तराष्ट्रिय संस्थासँग जोडिएर काम गर्नको लागि नयाँ अवसर मिल्यो। यसरी नै उनको व्यवसायिक यात्रा अघि बढिरहेको थियो।

टिम क्वेस्ट प्रा.लि द्वारा सञ्चालित ‘क्युएफएक्स’ सिनेमा हलमा उनलाई महाप्रवन्धकको प्रस्ताव आयो। २०१० मा टिम क्वेस्ट प्रा.लि ले क्यूएफएक्स सिनेमा हल सञ्चालनमा ल्याएको हो जसको महाप्रवन्धकको जिम्मेवारी हाल पाण्डेले सम्हालिरहेकी छिन्।

उनी ‘क्युएफएक्स’ सँग जोडिएको लामो समय भने भएको छैन तर उनी एक सफल व्यवसायीको रुपमा परिचित भइसकेकी छिन्। पढाइमा सँधै पहिलो नम्बरमा आउने विद्यार्थी भने पाण्डे पक्कै होइनन्। यद्यपि सफल व्यवसायी बन्न प्रथम श्रेणीमा नै पास हुनुपर्छ भन्ने कुरालाई पनि उनले गलत सावित गरिदिएकी छिन्।

उनले व्यवसाय सञ्चालन गरिरहँदा भोग्नुपरेका तिता नमिठा अनुभव छन् तर महिला भएकै कारण घर परिवारबाट भोग्नु परेको पीडा भने कमै छन् ।

उनी भन्छिन्, ‘मेरो आमा पनि व्यवसायिक क्षेत्रमा काम गर्नु हुनुहुन्थ्यो । अहिले घरमा पनि सासुआमा मेहेनती महिलाको रुपमा परिचित हुनुहुन्छ। उहाँ पनि काम गर्नुहुन्छ, उहाँहरुलाई थाहा छ बाहिरको काम गर्दाको दु:ख त्यसैले सँधै साथ दिनुहुन्छ।’

महिलाले बाहिर काम गर्दाको पीडा आफ्ना घरमा अग्रज महिलालाई थाह भएका कारण आफू काममा जाँदा पनि खानेकुराको प्याकेट पनि सासुआमाले नै तयार गरिदिने गरेको उनको अनुभव छ।

सासुआमाका अतिरिक्त आफ्नो श्रीमानले पनि कामका लागि सक्दो सहयोग गर्ने गरेको उनले सुनाइन् । ‘श्रीमानले यति सहयोग नगर्नु हो भने कहाँ यतिको काम गर्न सकिन्छ र, ‘ उनले भनिन्, ‘हरेक महिलालाई बाहिरको काममा सफलता पाउन घर परिवारको सहयोग नभई हुँदैन ।’

सानोदेखि नै घरमा आमाले काम गर्ने भएकै कारण पनि उनलाई सफल व्यवसायी बन्ने प्रेरणा मिलेको उनी सुनाउँछिन्। आफ्नो प्रेरणाको स्रोत परिवार र आफ्नो श्रीमान् नै रहेको उनी बताउँछिन्।

पाण्डे अन्य महिलाका लागि प्रेरणाको स्रोत हुन् । उनको भोगाइ र अनुभव काम गर्न चाहने महिलाका लागि स्रोतको रुपमा प्रयोग गर्न सकिने सम्भावनाहरू प्रशस्त छन् । पाण्डे सिनेमा क्षेत्रलाई खुबै मन पराउने र माया गर्ने व्यक्ति पनि हुन् जसकै कारण उनी ‘क्युएफएक्स’ सिनेमा हलसँग जोडिएको उनी बताउँछिन्।

‘यो क्षेत्रमा काम गरिरहँदा कसरी अझै राम्रो गर्न सक्छु भन्ने कुरा सँधै ध्यानमा राखेर अघि बढिरहेको हुन्छु,’ उनी भन्छिन्, ‘ क्युएफएक्स आफै पनि प्राविधिक रुपमा अघि नै छ यसलाई अझै उत्कृष्ट कसरी बनाउन सकिन्छ भन्ने कुरामा खोज अनुसन्धान गरिरहन्छु।’

नेपाली सिनेमा क्षेत्रको पछिल्लो अवस्थाहरुलाई हेर्ने हो भने सुधार हुँदै गएको उनको बुझाइ छ। ‘पछिल्लो समयको मात्रै कुरा गर्ने हो भने पनि ‘महापुरुष’हरु जस्ता नेपाली चलचित्र हलमा लागेको बेला विदेशी चलचित्रहरु पछि परेको अवस्था पनि छ,’ उनी भन्छिन्, ‘नेपाली चलचित्रहरु बनाउने तरिका, कथाले भन्ने भाव जस्ता कसराहरुलाई मात्रै ध्यानमा राखेर चलचित्र बनाउने हो भने नेपाली चलचित्रहरु पनि कमजोर छैनन्।’

सिनेमा हल चलाइरहँदा प्रविधिसँगै आएका चूनौतीहरुले भने कहिलेकाहिँ समस्या पार्ने गरेको उनी सुनाउँछिन्। उनी भन्छिन, ‘सिनेमा हलको व्यवसाय भनेको कहिल्यै पनि समान हुँदैन। दर्शकहरुले कस्तो फिल्म मन पराइदिनु हुन्छ भन्नै सकिँदैन। त्यो सँगै पछिल्लो समय थपिएका ‘ओटिपी’ माध्यमहरुका कारण पनि केही समस्या भोग्नु परेको छ। मुख्य त सिनेमा हलको बजार स्थिर नहुनु नै हाम्रो मुख्य चूनौती हो।’

फाल्गुन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्