सांग्रिला बुक्सद्वारा नारी दिवसको अवसरमा बुद्ध एयरका यात्रुलाई ३५ सय पुस्तक वितरण

काठमाडौँ – सांग्रिला बुक्स र बुद्ध एयरको सहकार्यमा बुधबार ३५ सय पुस्तक वितरण गरिएको छ।

बुधबार ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा १७ महिला लेखकका ३५ सय किताब बुद्ध एयरका यात्रुलाई उपहार दिइएको हो।

अघिल्लो वर्षदेखि सुरु गरेको ‘नेपाली महिला: पढ्छन् पनि, उड्छन् पनि’ अभियानलाई निरन्तरता दिएको बुद्ध एयरले महिला दिवसको शुभकामना दिँदै पुस्तक वितरण गरेको बताइएको छ।

१७ जना महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैरआख्यानका पुस्तक निःशुल्क वितरण गरिएको हो।

अघिल्लो वर्ष काठमाडौँबाट यात्रा गर्ने आफ्ना २५ सय यात्रुलाई महिला लेखकका पुस्तक उपहार दिएको बुद्ध एयरले यो वर्ष काठमाडौँसँगै विराटनगर, जनकपुर, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यात्रा गर्ने यात्रुलाई पनि पुस्तक उपहार दिएको छ।

पठन संस्कृतिको विकास गर्न र महिला लेखकलाई थप हौसला दिन यो अभियान प्रभावकारी भएको सांग्रिला बुक्सको विश्वास छ।

फाल्गुन २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्